सेक्युरिटी गार्ड सम्बन्धी निःशुल्क तालीम



१६ जेठ २०७६, काठमाडौं

पातारासी गाउँपालिका–६ तिर्खुका शिवराज बोहरा र चमेली बुढा रोजगारी पाउने भएपछि खुशी भएका छन् ।

सामाजिक विकास मन्त्रालयको सहयोग र व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाको प्रायोजन एंव शुभलाभ सेक्युरिटी सर्भिसेज प्रालिको आयोजनामा एकमहीने निःशुल्क सेक्युरिटी गार्ड तालीम लिएर रोजगारी पाउने भएपछि उनीहरु खुशी भएका हुन् ।

प्लस टुसम्म पास गरेका बोहोरालाई कोरा शिक्षाले मात्र केही नहुने भएकाले सीपमूलक शिक्षा आवश्यक भएकाले तालीममा सहभागी भएको शिवराज बोहोराको भनाइ छ ।

यो तालीम लिएपछि स्वदेशमा मात्रै नभई विदेशमा पनि केही गर्न सकिन्छ कि भन्ने आँट आएको चमेली बुढालले बताउनुभयो । अर्का युवा कालीबहादुर ऐडीले यो तालीम सिके स्वदेश वा विदेशमा गएर राम्रो रोजगारी पाउनेमा विश्वस्त भएको जानकारी दिनुभएको छ ।

व्यावसायिक तथा सीप विकास तालीम केन्द्र जुम्लाका कार्यालय प्रमुख नारायण चौलागाईंले बेरोजगारी समस्यालाई समाधान गर्नका लागि सीपमूलक शिक्षा प्रदान गर्न लागिएको बताउनुभयो ।

यसैबीच पत्रकारलाई फोटो तथा भिडियोग्राफी गर्नमा सहज होस् भन्ने उद्देश्यले जुम्लाका पत्रकारहरुलाई १६० घण्टे क्यामरा तथा भिडियोग्राफी सम्बन्धी तालीमको आयोजना गरिएको हो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीले क्यामेरा तथा भिडियोग्राफी तालीमले पत्रकारिता पेशालाई व्यवसायीकरण गर्नमा यो तालीम सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले पत्रकारितालाई अझ बढी व्यावसायिक र मर्यादित बनाउनका लागि यो तालीम उपयोगी हुने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागार्इंले व्यवसायिक पत्रकारिताको विकासमा यो तालीमले सहयोग पुर्याउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्