भकारी बुनेर जीवन धान्दै ६० वर्षीय विक



१० जेठ २०७६, काठमाडौं

रम्भा गाउँपालिका–१ हुँगीका ६० वर्षीय कमल विकलाई भकारी नबुनेसम्म साँभm र बिहान हातमुख जोर्ने अर्को उपाय छैन ।

उमेर ढल्ँिकदै गयो तर जोस–जाँगर युवा अवस्थाकै जस्तै नगरीकन साँझ–बिहान उहाँको घरको चुल्होमा आगो बल्दैन । बूढेसकाल लागेको शरीर तर पनि बाँच्नकै लागि उहाँले बाँसबाट भकारी बुनेर जीविकोपार्जन गर्न बाध्य हुनुुहुन्छ ।

विकले दुईदेखि तीन दिनको समय लगाएर एक वटा भकारी सिध्याउने गर्नुहुन्छ । एक वटा भकारीको मूल्य साइजअनुसार दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्छ । यही भकारी बिक्रीबाट उहाँको घरमा चुल्होमा आगो बल्छ । गाउँघरमा धान राख्न प्रयोग हुने भकारी कृषकले खोजी खरीद गर्ने हँुदा बिक्री गर्न खासै समस्या नभएको उहाँ बताउनुहुन्छ । “सधैँ गाउँघर छिमेकमा सबै भकारी खपत हुँदैन, कहिलेकाहीँ छिमेकी जिल्लामा पनि पुगेर बिक्री गर्ने गरिरहेको छु”, विकले भन्नुभयो ।

उहाँले पाल्पाका विभिन्न गाउँपालिका तथा नगरपालिका, स्याङ्जा, तनहुँलगायतका जिल्लामा भकारी बोकेर बिक्रीका लागि घरघरमा पुग्नुहुन्छ । एक वटा भकारीबाट राम्रो कमाई हुने भएपछि विकले अरू सामग्रीलाई भन्दा भकारी निर्माणलाई जोड दिनुभएको छ ।

“एउटा भकारीबाट रु पाँच हजारसम्म कमाउन सकिन्छ, अरू साना सामग्रीको तुलनामा यसबाट प्रशस्त कमाउन सकिने हुँदा भकारी बनाउन भ्याइनभ्याई हुन्छ”, उहाँले भन्नुभयो । विकले १३ वर्षको उमेरदेखि नै डोको, भकारी, डालालगायत सामग्री बनाउँदै आउनुभएको हो ।

घरमै बसीबसी बाउबाजेबाट यो सीप सिक्नुभएका विकले उमेर ढल्कँदै जाँदा पनि निरन्तरता दिइरहनु भएको छ । उहाँले गाउँघरमा बाँस खरीद गरेर ग्राहकको मागअनुसार विभिन्न खालका सामग्री बनाउनुहुन्छ । यो उमेरसम्म आइपुग्दा पनि आफैँ बाँसको चोया काढेर विभिन्न सामग्री बनाउनुहुन्छ । यस व्यवसायबाट जीवन धान्न सजिलो भएकाले आफूले सक्दासम्म यसलाई निरन्तरता दिने उहाँको अठोट छ ।

प्रतिक्रिया दिनुहोस्