पाँचथर हत्या अपडेट : भागेर बाच्न सफल १२ बर्षिया बालिकाको यस्तो बयान !



०७ जेठ २०७६, काठमाडौं

गएराति पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ आरुबोटेमा भएको हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिकाले बताएकी छन् । भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए ।

घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे।’

पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गााउँपालिका-३ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएकोथियो। धारिलो हतियार प्रहार गरी सोमबार राति दुई परिवारका नौजनाको हत्या भएको थियो। सदरमुकाम फिदिमबाट टाढा रहेको उक्त स्थानमा भएको घटना मंगलबार बिहानमात्रै जानकारीमा आएकोथियो।

विराटनगरस्थित प्रदेश प्रहरी कार्यालयका अनुसार जिल्ला प्रहरी र आसपासका चौकीहरुबाट टोलीहरु घटनास्थलतर्फ गइरहेका छन्। घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ। घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।

प्रदेश प्रहरी कार्यालयका अनुसार उक्त गाउँबाट नजिकै पर्ने भएकाले झापाबाट पनि प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ।

स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको अज्ञात व्यक्तिले हत्या गरेको पाइएको गाउँलेले बताएका छन्।

स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए। यसैगरी बमबहादुरको परिवारका चारजनाको हत्या भएको छ। धनराजका परिवारको शव घरभित्रै पाइएको थियो भने बमबहादुरका परिवारको शव घरबाहिर फेला परेको थियो।

हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक, उनकी श्रीमती, २६ वर्षीया मनकुमारी फियाक, ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, ८ वर्षीया मुना शेर्मा, १२ वर्षीया आशिका खजुमलगायत छन्।

१२ वर्षीया सीता खजुम भने भागेर बाँचेकी छन्। सामान्य घाइते उनलाई उपचारका लागि स्वास्थ्य संस्था पठाइएको प्रहरीले जनाएको छ। उनले कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले धारिलो हतियारले पालैपालो सबैलाई प्रहार गरेको प्रहरीलाई जानकारी दिएकी छन्।

यो पनि पढ्नुहोस् :

पाँचथरमा दुई परिवारका नौजनाको खुकुरी प्रहार गरी हत्या

प्रतिक्रिया दिनुहोस्