पाँचथरमा दुई परिवारका नौजनाको खुकुरी प्रहार गरी हत्या



०७ जेठ २०७६, काठमाडौं

पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारका नौजनाको हत्या भएको छ । दुई परिवारका नौ जनालाई खुकरी प्रहार गरी हत्या गरिएको बताइएको छ । दुई परिवार आफन्त भएको बताइएको छ । धनराज लिम्बुको घरमा पाँचवटा र बमकुमार लिम्बुको घरमा चारवटा शव फेला परेको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटना भएको स्थान सदरमुकामबाट ६५ किमी टाढा छ । “धारिलो हतियार प्रहार गरेको भन्ने सूचना पाइएको छ,” उनले भने, “खुकुरी प्रहार गर्न लाग्दा एकजनाले भागेर ज्यान बचाएका छन् । हत्या कसले र किन गर्‍यो भन्ने केही खुलेको छैन ।”

हत्या भएका दुबै परिवार ससुरा र ज्वाईँको भएको उनले बताए ।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको गुरुङले जानकारी दिएको राससले जनाएको छ। वडाध्यक्ष हस्तराज फियाकले घटनाको पुष्टि गरेको राससमा रवीन्द्र काफ्लेले लेखेको समाचारमा उल्लेख छ ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् । मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ भने इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ । प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए ।

इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको
छ ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपीको नेतृत्वमा, सीआईबीको एसपीको नेतृत्वमा, प्रदेश प्रहरीको विशेष टोली र क्षेत्रीय अनुसन्धानको कुकुरसहितको टोली घटनास्थलका लागि प्रस्थान गरेको छ । घटनास्थल सदरमुकामबाट टाढा भएकाले पुग्न केही ढिला हुन सक्ने प्रदेश नम्बर १ प्रहरी प्रवक्ता डीएसपी सिद्धराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्