असिनापानीले ६ करोडको तरकारी नष्ट



०२ बैशाख २०७६,दैलेख

ठाटीकाँध गाउँपालिकामा किसानहरुले उत्पादन गरेको तरकारी बाली पूर्णरुपमा क्षति भएको छ । बन्दा, काउली, लसुन, प्याज, लगायतका तरकारी बालीसँगै वर्षात्का बेलामा फल्ने अवस्थामा रहेको फर्सी, चिचिन्ना लगायतका बाली नष्ट भएपछि यहाँका किसानको आर्थिक उपार्जनको बाटो बन्द भएको छ । ठाँटीकाँध गाउँपालिकामा मात्रै ६ करोड रुपैयाँ बराबरको तरकारी बाली नष्ट भएको गाउँपालिकाकी उपाध्यक्ष सिंह जानकारी दिइन् । किसानहरुले घरमा भित्र्याउने अवस्थामा रहेको गहुँबालीसँगै अन्य हिउँदे बाली नष्ट भएपछि यसको क्षतिपूर्ति र थप व्यवस्थापनका लागि स्थानीय सरकारसँग अख्तियार छैन । यस्तो विपद्मा प्रदेश र केन्द्र सरकारले पहलकदमी लिनुपर्ने ठाटीकाँध गाउँपालिकाका अध्यक्ष शाहीको जोड छ । “हामी स्थानीय सरकारले गर्न सक्ने त गरौंला तर गाँस मानिसको सबैभन्दा ठूलो विषय भएकाले यसको थप व्यवस्थापनका लागि सरकारले पहल गर्नुपर्दछ,” अध्यक्ष शाहीले भने – “ठाटीकाँधमा रहेको खाद्य डिपो तत्कालीन द्वन्द्वका बेलामा विस्थापित भएकाले पुनः सञ्चालनमा ल्याउन सरकारले पहल थाल्नुपर्छ ।”

दैलेखमा असिनापानीले ठूलो क्षति पारेपछि तत्काल राहत जुटाइदि प्रतिनीधिसभा र प्रदेशसभा सांसदले माग गरेका छन् । प्रतिनिधिसभा सदस्य राज बहादुर बुढाले दैलेखमा आएको अहिलेसम्मकै सबैभन्दा ठूलो हुरिबतास र असिनापानीले प्रभावित परिवारलाई राहतको व्यवस्था गर्न सङ्घीय, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन् । प्रतिनिधिसभा सदस्य पार्वती कुमारी विशुन्केले जिल्लामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै तत्काल राहतको व्यवस्था गर्न आग्रह गरेकी छन् । कर्णाली प्रदेशसभामा दैलेखबाट प्रतिनिधित्व गर्ने सांसद सुशील कुमार थापा, मीनासिंह रखाल र हिम बहादुर शाहीले पनि असिनापानी पीडितलाई राहत उपलब्ध गराउन माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्