पोखरामा नयाँ वर्ष पार्टी एकताका लागि : सभापति देउवा



२९ चैत २०७५, पोखरा

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ ।

नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्यबद्ध हुनुपर्ने विषयमा जोड दिनुभयो ।

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मङ्गलमय होस् भनी कामना व्यक्त गर्नुभयो । आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए काङ्ग्रेसलाई अपूरणीय क्षति हुने बताउनुभयो ।

उहाँले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गर्नुभयो । उक्त कार्यक्रम सङ्घकी पोखरा नगर समिति सभापति माया बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्