उपत्यकामा दुर्घटना न्यूनीकरण गर्न : ‘ट्राफिक सप्ताह’ शुरु



२९ चैत २०७५, काठमाडौं

उपत्यकामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह’ शुरु गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र त्यसअन्तर्गत रहेका विभिन्न सामुदायिक सेवा केन्द्रको आयोजनामा आजदेखि सप्ताहव्यापी ट्राफिक सप्ताहव्यापी सचेतना अभियान शुरु गरिएको हो ।

कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले उपत्यकाको बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि शुरु गरिएको अभियान राम्रो रहेको बताउनुभयो । “साँघुरो बाटो र धेरै सवारी साधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ, यसलाई नियन्त्रण गर्न अभियानले सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो ।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धव खरेलले सडक जनताको आधारशीला भएकाले ध्यान दिएर सडकको प्रयोग गर्न आग्रह गर्नुभयो । “सकडकलाई मायाँ गरौँ, सकारात्मक सोच राखौँ, सडक दुर्घटना घटाऔँ”, उहाँले भन्नुभयो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रु, चालक र सडक प्रयोगकर्ता अनुशासित भए सडक दुर्घटनामा कमी आउने बताउनुभयो । “सडक दुर्घटना कम गर्न व्यक्ति नै जागरुक हुनुपर्छ”, उहाँले भन्नुभयो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले नेपालको समग्र यातायात क्षेत्रको सुधारका लागि महासङ्घले काम गरिरहेको बताउँदै यसमा साथ दिन सबैलाई आग्रह गर्नुभयो । “नेपालको एकमात्र राष्ट्रिय बसपार्कलाई व्यवस्थित गर्नु जरुरी छ”, उहाँले भन्नुभयो ।

ग्राण्डी अस्पतालका अध्यक्ष दीपक कुँवर, हेराल्ड अन्तर्राष्ट्रिय कलेजका प्राचार्य नारायण उपाध्यायलगायतले ट्राफिक जनचेतनासम्बन्धी जानकारी घरघर र टोलटोलमा दिनुपर्नेमा जोड दिनुभयो । चालू आर्थिक वर्षमा महाराजगञ्ज वृत्तअन्तर्गत ७९२ दुर्घटना हुँदा २६ को मृत्यु हुनुका साथै ५६० घाइते भएकाले उक्त अभियान सञ्चालन गरिएको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिनुभयो ।

अभियानमा वृत्तअन्तर्गतका १० कलेज, दुई विद्यालय, २१ क्लब र विभिन्न अस्पतालको सहभागिता रहेको छ । उक्त अभियानअन्तर्गत ११ चोकमा प्रत्येक दिन सवारी जाँच, सडक अतिक्रमण हटाउने, फुटपाथ व्यवस्थापन गर्ने, चालक, सहचालक र यात्रुलाई प्रशिक्षण दिने कार्यक्रम रहेको प्रसाईंले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्