पाटनमा रातो मत्स्येन्द्रनाथको रथको तयारी शुरु



२७ चैत २०७५,काठमाडौं

सहकालका देवता मानिने रातो मछिन्द्रनाथको जात्राका लागि रथ बनाउने तयारी शुरु गरिएको छ । रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेको छ भने आवश्यक सामग्रीको निर्माण भइरहेको छ ।

मछिन्द्रनाथको जात्रा सम्पन्न गर्न धेरै समुदायको सहभागिता हुन्छ । काठ काट्ने, काठबाट आवश्यक सामग्री बनाउने र रथ बनाउने काम फरक/फरक जातीको हुने गुठी संस्थानका प्रमुख सैलेन्द्र पौडेलले बताउनुभयो । काठ काट्ने जिम्मेवारी पाएका बोसी समुदायले काटेर ल्याइसकेको उहाँले जानकारी दिनुभयो ।

ञँवालले केही दिन पछिदेखि नै पाङ्ग्रा, धमालगायतका भाग कस्ने, बाँध्ने काम गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “उहाँहरु आफै पनि समयमा काम गर्न सजग हुनुहुन्छ र हामीले पनि झकझकारहन्छौँ ।” यो वर्ष रथ निर्माणका लागि थोरै मात्रै काठ ल्याइएको कार्यालयले जनाएको छ । गतवर्ष एक वर्षलाई आवश्यकभन्दा धेरै काठ ल्याइएको थियो । आवश्यक काठ प्रयोग गरेर बाँकी मिलमा नै छाडिएको उहाँले बताउनुभयो ।

उपत्यकाको सबैभन्दा लामो जात्राका रुपमा रातो मछिन्द्रनाथको जात्रा रहेको छ । मछिन्द्रनाथ छ महीना बुङ्गमति र छ महीना पाटनमा राखिन्छ । वर्षेनी पाटनमा हुँदा विभिन्न जात्रा र पर्व हुनेगर्छन् भने १२ वर्षमा एक पटक बुङ्गमतिमा समेत भव्य रुपमा जात्रा मनाइन्छ । जात्रा मनाउन वर्षभर नै विभिन्न काम भइरहने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्