बागलुङमा चार सय एचआइभी सङ्क्रमित



२५ चैत २०७५, बागलुङ

कुनै समय समाजमा खुल्न नसकेका बागलुङका एचआइभी एड्स सङ्क्रमित पछिल्लो समय खुल्न थालेका छन् । धौलागिरि अञ्चल अस्पतालको एआरटी (एन्टी रेक्टो ट्रिटमेन्ट)सेन्टर को प्रभावकारी समन्वयमा रहेका एचआइभी सङ्क्रमित खुल्न थालेका हुन ।

अस्पतालमा विसं २०६३ मा स्थापना भएको एआटी सेन्टरले एचआइभी एड्स भए नभएको पहिचान गर्ने, सङ्क्रमितको परामर्श, परीक्षण तथा नियमित रुपमा औषधि उपचारमा प्रभावकारी भूमिका खेलेका कारण सङ्क्रमित खुलेर आउन थालेका हुन् ।

एचआइभी सङ्क्रमित पनि अरु मानिस सरह बाँच्न सक्छन् भन्ने उद्देश्यका साथ एआरटी सेन्टरले एचआइभी एड्स प्रभावित गाउँ÷गाउँमा पुगेर नमूना सङ्कलन गरी उपचार तथा परामर्श दिने गरेपछि सङ्क्रमित खुल्न थालेको सेन्टरका प्रमुख परामर्शदाता प्रदीप आचार्यले बताउनुभयो ।

“सेन्टरलले सङ्क्रमित आमाबाट जन्मेका बालबालिकालाई अस्थायी रुपमा पोषणगृहमा समेत राखिँदै आएको छ”, आचार्यले भन्नुभयो, “सङ्क्रमित भएकी भन्ने लागेमा निर्धक भएर हाम्रो कार्यालय आउनसक्नु हुनेछ ।”

सेन्टरले सङ्क्रमितलाई उचित परामर्श, नियमित औषधि उपचार, बाटोखर्च लगायतका धेरै सेवा तथा सुविधा उपलव्ध गराउँदै आएको छ । बागलुङ जिल्लाको यस सेन्टरमा अहिले खुलेर आएका सङ्क्रमित ३७५ मध्ये १०८ ले निरन्तर औषधि सेवन गर्ने गरेका छन् । विसं २०७४ मा ३५० जना एचआइभी सङ्क्रमित रहेकोमा योवर्ष बढेर ३७५ पुगेको आचार्यले बताउनुभयो । उहाँका अनुसार सेन्टरमा आएर खुलेका अन्य जिल्लाका १०७ सङ्क्रमित सिफारिस भएका छन् ।

जिल्लामा हालसम्म ६१ सङ्क्रमितको मृत्य भइसकेको छ । सेन्टरमा आएर उचित परामर्श पाएका सङ्क्रमित सामान्य व्यक्ति जस्तै जीवनयापन गर्नसक्ने बताइएको छ । हाल उक्त सेन्टरलाई धौलागिीर पोजेटिभ समूह तथा हेल्थ केयर फाउण्डेशनले आर्थिक सहयोग गर्दै आइरहेको छ । सेन्टरमा खुलेका सङ्क्रमितरुलाई गोप्यरुपमा परामर्श, औषधि तथा अन्यसेवा प्रदान गर्न थालेपछि सङ्क्रमित खुल्न थालेका हुन् ।

प्रतिक्रिया दिनुहोस्