मन्त्री अधिकारीप्रति श्रद्धाञ्जलि व्यक्त प्रमुख जिसीद्वारा



१६ फागुन २०७५, पोखरा

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सङ्घीय सरकारका मन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सात जनाको बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा भएको निधनले आफू मर्माहत भएको बताउनुभएको छ ।

जिसीले आज शोक विज्ञप्ति जारी गर्दै दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीसँगै पर्यटन उद्यमी, राष्ट्रसेवक कर्मचारी र हेलिकप्टर चालकको निधनले मुलुकलाई ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ । पोखरा–३३ (साबिक भरतपोखरी गाविस) मा जन्मेर विद्यार्थी आन्दोलनबाटै क्रियाशील राजनीतिकर्मीका रुपमा स्थापित अधिकारी विकासप्रेमी, भरोसायोग्य, दूरदर्शी र उज्ज्वल नक्षत्र रहनुभएको जिसीले स्मरण गर्नुभएको छ ।

उहाँले अधिकारीको निधनले मुलुकले देश र जनताप्रति अहोरात्र खटिरहने, शालीन, अध्ययनशील, प्रतिभावान्, मृदुभाषी, मिलनसार, साहसी र समृद्ध नेपालको खाका कोर्न सक्ने लोकप्रिय नेता गुमाएको व्यक्त गर्नुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्यसमेत रहनुभएका अधिकारीलाई गुमाउँदा कम्युनिष्ट आन्दोलन र राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको उल्लेख गर्दै विज्ञप्तिमा विद्यार्थी जीवनदेखि देश र जनताप्रति समर्पित अधिकारीले गरेको सङ्घर्षले कम्युनिष्ट आन्दोलनमा होमिएका सबैलाई प्रेरणा दिनाका साथै उहाँको योगदानलाई पोखराले सधैँ स्मरण गरिरहने उल्लेख गरिएको छ ।

यस दुःखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामनासहित श्रद्धाञ्जलि व्यक्त गर्दै जिसीले शोकाकुल परिवार र आफन्तजनमा समवेदना पनि प्रकट गर्नुभएकोछ ।

प्रतिक्रिया दिनुहोस्