जुद्ध शमशेरले समेत चिनेको योगमायालाई सरकारले चिनेन



११ माघ २०७५, काठमाडौं

पूर्बी नेपालमा अवस्थित विकट भोजपुर जिल्लाको दिङ्ला इलाका स्थित तत्कालिन नेपालेडाँडा गाविस अर्थात हालको षडानन्द नगरपालिका-१, नेपालेडाँडाको सिम्ले भन्ने गाउँमा विक्रम संवत १९२४ सालमा जन्मिएकी थिईन – मायादेवी न्यौपाने अर्थात माता योगमाया। बाँचुन्जेल सामाजिक विकृतिहरू चिर्नमै लागिन्।समाजको त्यही कठोर व्यवस्थाप्रति विद्रोहको ज्वाला उराल्ने क्रममा संवत् १९९८ असार २२ गते शनिबार आफ्ना ६७ जना अनन्य भक्तहरू सहित जलसमाधि लिएकी थिइन्। हुनत: त्यतिबेलाको त्यो सत्य घटना आज एकादेशको दन्त्य कथा झैँ लाग्छ।

नेपाली साहित्यमा क्रान्तिकारी नारीहरूकी प्रतीक हुन् योगमाया। बूढी औँठाको ल्याप्चेका भरमा आफ्नो हस्ताक्षर दिने योगमाया अति क्षमतावान महिला थिईन। उनि त्यस्ती आशु कवयित्री हुन् जसले जे देख्यो त्यही फररर भन्न सक्थिन, जे भेट्यो त्यही विषयमा कविताबाटै बोल्न सक्थिन र जे सुन्यो त्यही विषयलाई कविताबाटै बिट मार्न सक्थिन ।

जुन बेला नारीले रजस्वला हुनु भन्दा अगाडी नै वैवाहिक जीवनमा बाँधिनु पर्थ्यो, योगमाया त्यतिबेला जन्मेकी थिइन्। त्यहि मान्यता अनुसार अबोध बालिका योगमायाको बिहे भोजपुरकै घोत्लेखानी भन्ने ठाउँको रामहरि कोइरालासँग पाँचै वर्षको उमेरमा बुबा श्रीलाल र आमा चन्द्रकलाले कन्यादान गरिदिएका थिए। तर यिनको बैबाहिक जिवनमा नसोचेको बज्रपात पर्यो, किनकि बिहे भएको दुई वर्षमा यिनका पतिको स्वर्गबास भयो । सात वर्षीय अबोध बालिका योगमायाका लागि आफ्नो पतिको मरण न त कुनै पीडादायक क्षण बन्न पुग्यो, न त कुनै नसोचेको बज्रपात नै । अबोध बालिका भएको कारण उनी सती जानबाट भने बचिन्। त्यसैले उनी फेरि आफ्नै बालापनमा सामेल हुदै माइती कै आगनमा रमाउन थालिन ।

आज भन्दै भोलि भन्दै दिनानु दिन छिप्पिंदै जान थाल्यो। समयसँगै योगमायामाथि अनेक सामाजिक कुसंस्कारका वज्रहरु प्रहार हुन थाल्यो, ठोक्किन थाले। कतिसम्म भने तत्कालीन रुढिवादी समाजबाट प्राप्त अपमान, घृणा र तिरस्कारका पीडाले उनको शरीर चोटग्रस्त हुन पुग्यो। अलच्छिनी र पोइ टोकुवीको लाञ्छनाले रङ्गिदा नरङ्गिदै उनले सत्र वर्ष टेकिन्।

जवानी लागेसँगै योगमायाले पनि अरुले झैँ आफ्नो तरुनी मनको जोसलाई विवेकको होसले छेक्न, थाम्न र सम्हाल्न सकिनन्। वास्तवमा किशोरावस्थामा रन्थनिँदै जाँदा उनको शरीरले पनि प्रकृतिको वरदानलाई त्याग्न सकेन। त्यसैको फलस्वारूप गाउँको एउटा युवकप्रतिको आकर्षण उनको दिनचर्यामा रातदिन हरपल झल्किन थाल्यो। अनि गाउँकै प्रजापति डोटेल (जैसी)सित भागेर विवाह गरिन। भागेर उनीहरु आसाम पुगे। आसाममा बसेर जिविको चलाउदै गर्दा यी दम्पतीबाट एउटी छोरी नैनकलाको पनि जन्म भयो।

माइती नअई आसाममै बसिरहेका उनीहरुले केही वर्षछि आफ्ना गाउँमा पुराण लाग्ने हल्ला सुने । त्यसपछि डोटेल दम्पती छोरी च्यापेर पुराणस्थल आफ्नो गाउँ पुगे। आफ्नो श्रीमान र छोरी सहित योगमाया माइतीघर आएको देखेर गाउँका सबै खुसी भए । त्यतिबेलाको समयमा बाहुनकी छोरी जैसीसँग भागेर बिहे गरेको भन्दै माइतीले उनलाई अनेक तरिकाले सम्झाए । गाउँमा पुराण सुरु भयो। सबै पुराण सुन्न मण्डपको वरिपरि बसिरहेका थिए। माइती खलाकसँगै छोरी च्यापेर योगमाया पनि अरु झैँ पुराण सुन्न बसिरहन्थिन। त्यतिबेला पुराणको प्रसङ्गमा यस्तो आयो- “परस्त्री वा परपुरुष गमन गर्नाले भविष्यमा रौरवीय नर्कको यातना भोग्नु पर्छ।” यत्तिकैमा पुराणको अर्को प्रसङ्ग आयो “यदि अज्ञानवश कसैले यस्तो अपराध गरेको रहेछ र ज्ञान प्राप्त भएपछि त्यो अपराध त्याग्यो भने त्यसको प्रायश्चित्त हुन्छ।”

आसमबाट पुराण सुन्नकै लागि माइतीघर गएकी योगमायाले मन दिएर नै पुराणका सबै पाठ सुनिन्। पुराणको कथाले योगमायाको मन छियाछिया भयो। त्यस लगत्तै उनले आफ्ना पतिसँग यसबारे छलफल गरिन्। अनि यिनीहरूले एकअर्कामा सहमतिमै छुटि्टएर बस्ने निर्णय गरे। योगमायाकी छोरी नैनकलाले चाहिँ आमा योगमायासँगै बस्ने निर्णय गरिन् ।

दोस्रो श्रीमानसँगको छुटाई पछि पनि योगमायाले आफ्नो हृदयान्तरको विस्फोट पोखिरहन्थिन् । भनिन्छ दुख र पीडाले मानिसलाई कवि या साहित्यकार बनाउछ। त्यहि फलस्वरूप उनले कविताका अक्षरहरु प्रस्फुटन गर्न थालिन्। योगमाया पीडालाई कविताको रुपमा ओकल्थिन भने आमाका शब्द एक एक गमेर नैनकलाले आफ्नो मनमस्तिष्कको कम्प्युटरमा राख्ने गर्थिन्। आमा छोरी दुवै निरक्षर भए पनि प्रतेक दिन मनले गुनेर योगमाया जति कविता भन्थिन् नैनकला त्यति नै कण्ठाग्र पार्ने गर्थिन्।

मन भित्रको पिडामा भौतारिदै आफ्नो अन्जान भूलको प्रायाचित गर्न भन्दै माइतिघर छाडेर बरालिएकी योगमाया एक दिन स्वर्गद्वारी पुगिन्। उनी स्वर्गद्वारी पुग्नु अगाडी नै स्वर्गद्वारीका चैतन्य महाप्रभु अभयानन्द द्वितीयले त्यहाँ ठुलो प्रसिद्धि पाइसकेका रहेछन्। स्वर्गद्वारी पुगेपछि योगमाया पनि महाप्रभुका कृत्यबाट सुरुमा नै आल्हादित बनिन्। त्यही परिणतिले उनी पनि महाप्रभुका साथ सत्सङ्गमा समर्पित भइन्। योगमायाको आचरणले महाप्रभु पनि प्रसन्न बने। त्यसैले उनी चैतन्य महाप्रभुबाट दीक्षित पनि भइन्।

स्वर्गद्वारीबाट फर्किएपछि उनि माइतीघर गईनन्। त्यसपछि योगमायाले अनेक साधना गरेर वर्षौंवर्ष गुफामा नै बसेर साधना गर्न थालिन् । जाडो दिनमा उनी अरुण नदीमा आधा महिनासम्म कम्मरसम्म डुबाएर साधनारत पनि भइन्। गर्मी महिनामा चारैतिर धुनी जगाएर आगोको रापसँगै उनले आफ्नो साधना प्रधानकर्म पनि गरिन्। मझुवाबेंसी देखि पारीपट्टी रहेको गौडेनी भन्ने ठाउँमा जंगलभित्र रहेको बाघ बस्ने गुफाको अगाडी बसेर तपस्या गरिन। भनिन्छ त्यतिबेला उनि तपस्या बस्दा गुफा भित्र बाघ गर्जिरहन्थो रे। यस्ता कठिन निरन्तर साधानाले गर्दा उनलाई न जाडो हुन्थ्यो न गर्मी नै हुन्थ्यो। न डर हुन्थ्यो न भोक प्यास नै। वास्तवमा उनले त्यतिबेला एउटा विशेष ईश्वरीय शक्ति नै प्राप्त गरिसकेकी थिइन्। उनी कुनैकुनै बिरामीलाई आवश्यकता अनुसार नाडी समाएर र झारफुक गरेरै ठीक पारिदिन्थिन्। विषालु सर्पले ठुङेर मरणासन्न मान्छेलाई पनि उनले झारफुक गरेकै भरमा निको पारिदिन्थिन्। त्यतिबेला योगमायाको चर्चा सबैतिर छरिन थालिसकेको थियो।

मन भित्रको छट्पटी निको पार्न र आफ्नो गल्तीबाट मुक्ति पाउन भन्दै श्रीमानबाट टाडीएकी योगमाया एकातिर धार्मिक नसामा डुबेकी थिइन्। त्यो सँगसँगै अर्कातिर राणाशासनले जनमनमा आतङ्कित पारेको सामाजिक स्थितिबाट पनि उनी फुत्कन सकिनन्। सतीप्रथा हटाइयोस्, जातभातको रीतिरिवाज हटाइयोस्, जनताले समान रुपबाट न्यायनिसाफ पाऊन् र शोषणरहित समाजको सृजना होस् आदि माग राख्दै योगमायाले सामाजिक परिर्वनका लागि सांस्कृतिक आन्दोलनको शङ्ख फुकिन्। उनी न्याय माग गर्दै महिनौ पैदल हिँडेर भोजपुरबाट काठमाडौंसम्म पनि आइन्।

काठमाडौं आएपछि उनले तत्कालिन प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरसँग भेटेर आफ्ना मागहरु खडा गरिन। योगमायाका मागहरू पुर्याउन श्री ३ जुद्धशमशेरले उनलाई वचन पनि दिए। तर क्रमशः श्री ३ आनाकानीमै रुमल्लिन थाले।वास्तवमा योगमायाको सामाजिक समयसर्न्दर्भका जायज मागका कारण श्री ३ को मन नै धमिलिँदै थियो। त्यसैले श्री ३ ले न्याय दिने देखावटी वचन दिई अनेक प्रपञ्च रचेर उनलाई दण्ड दिने अभ्रि्रायले विभिन्न कदम चाले।

श्री ३ जुद्ध शमशेरले योगमायाको विद्वता जाँच गर्नको निम्ति दरबारिया विद्वानहरूसँग एकैठाउँ राखेर शास्त्रार्थमा प्रस्तुत गराए। तर श्री ३ हारे र योगमायाको जित भयो। त्यतिखेर उनले जुद्ध शमशेरको बेलाका दरबारिया विद्वानहरूसँगको शास्त्रार्थमा विजय हासिल गरेकी थिइन्। त्यस बेलाको उनको प्रचण्ड बौद्धिक शक्ति देखेर जुद्धशमशेर तीन छक्कै परेका थिए। उनीमा स्वर्गद्वारीका चैतन्य महाप्रभुको शिक्षा, दीक्षा र ज्ञान भित्री मन, मस्तिष्क र विवेकको ढुकुटीमा शक्तिको स्वरूप भएर बसेको थियो। त्यसैले उनलाई हराउने पण्डितहरू त्यतिबेला बिरलै पाइन्थे।

श्री ३ जुद्ध शमशेरसँगको भेट छलफल पछि पनि आफ्नो माग सम्बोधन नभेपछि आक्रोशित बनेकी योगमाया काठमाडौंबाट भोजपुर दिङ्लाको मझुवाबेंसीस्थित आफ्ना आश्रममा फर्किन। आश्रममा फर्केपछि उनि एकाएक झन् विद्रोही भइन्। त्यहीविद्रोहको पराकाष्ठामा उनी कविता बोल्दै जान्थिन् र उनकी छोरी नैनकला आमाका ती शब्दकण्ठाग्र पार्दै जान्थिन्। योगमायाले त्यतिबेला आक्रोस युक्त विद्रोहीखालको कविताहरु भन्ने गर्थिन।

श्री ३ सँगको भेटपछि थकित मन बोकेकी योगमाया दिङ्ला पुगेपछि चैतन्य महाप्रभुको कर्तृत्व र व्यक्तित्वको प्रचारमा लाग्न थालिन् । स्वर्गद्वारीमा चैतन्य महाप्रभु अभयानन्दले गरेझैँ दिङ्लामा एक विशाल यज्ञ गर्न उनी जुटिन्। उनी कठिन योगसाधनामा लागिन् र धाराप्रवाह प्रवचन र कविता वाचन गर्न थालिन्। सबैको साथ सहयोग माग्दै १९९७ सालमा भोजपुरको दिङ्लामा ठूलो यज्ञको आयोजना गरिन र त्यहाँ श्रद्धालु समाजको खूबै भीड लागेको थियो। तत्कालिन समयमा त्यो यज्ञ सदाको भन्दा भिन्न थियो। उनले त्यहाँ उपस्थित आफ्ना सबै भक्तहरुलाई भनिन् “हेर ! अब भक्तहरूले बाँच्ने युग छैन। अतःयसै यज्ञको समाप्तिका दिन पूर्णाहुतिका रूपमा हामी सबैले यज्ञकुण्डमा प्रवेश गरेर अग्निसमाधि लिनुपर्छ।” योगमायाको घोषणाअनुसार त्यसै बेला उनका दुईसय चालीस जना भक्तहरूले यज्ञकुण्डमा हामफाली प्राण त्याग्ने निर्णय गरे। त्यसको सबै बन्दोबस्ता पनि मिलाइएको थियो।

भोजपुरको दिङ्लामा यज्ञ निरन्तर चलिरहेको थियो। ब्रामणहरु निरन्तर पाठ पढ्दै चारु होम गरिरहेका थिए। योगमायाका अग्निसमाधि सम्बन्धी घोषणा र यज्ञकुण्डमा ज्यानअर्पण गर्न जुर्मुराएका उनका अनुयायीका विषयले पुरै भोजपुर हल्लियो। त्यहाँबाट त्यो खबर तत्कालै धनकुटामा रहेका राणाका कारिन्दा माधवशमशेरका कानमा पनि पुग्यो। परिणामस्वरूप राणाका निर्देशनअनुसार धनकुटाबाट गएको सेनाले त्यो यज्ञकुण्ड आफ्नो नियन्त्रणमा लियो। साथै राणाका निर्देशनमा योगमायाका हातगोडामा नेल ठोकियो। अनि योगमाया लगायत उनका भक्त र अनुयायीहरूलाई सरासर जेल चलान गरियो। महिलाजति तीन महिना जेलखानामा बसे भने पुरुषहरूचाहिँ साढे दुई वर्षम्म कैदी भए। त्यस काण्डले यज्ञका मुख्य पण्डित प्रेमनारायण पनि अठार महिना जेल खानामै कोचिए। योगमायालाई बढी सघाएको भन्दै योगमायाका विस्वशिला भक्त पहलमान बस्नेतलाई सबैभन्दा बढी कैद सजया गराएका थिए।

यज्ञको अन्तिम आहुती नहुदै कैद बस्नुपरेको कारण योगमायाको सबै योजनाहरु विफल भयो। राणाका सिपाहीको बन्देजका कारण योगमाया र उनका दुई सय चालिस जना भक्तहरुले यज्ञकुण्डमा हाम फाल्न पाएनन् । त्यसपछि आफ्ना भक्तहरूलाई पछि लगाएर उनी नेपालेडाँडाको मझुवाबेंसी स्थित इर्खुवा र अरुण नदीको दोभानमा पुगिन्। संवत् १९६६ तिर छोरी र आफ्ना भक्तहरु सहित योगमाया अरुण किनारा बाहिर मझुवाबेसीमा एक कुटी बाँधेर बस्न थालिन् ।

मझुवाबेसीमा एक कुटी बाँधेर बस्ने मध्धेमा उनकी एउटी भाइबुहारी गङ्गा न्यौपाने चाहिँ उनकी पक्का भक्त बनेकी थिइन् । ति गङ्गा पनि प्रेमनारायण (योगमायाका भक्त) कै दिदी थिइन्। यी गङ्गा पनि योगमायासँगै बस्थिन्। सबै भक्तहरु बेलुका अबेरसम्म भजन किर्तन गर्दै बस्थे। उनको आश्रममा सदाबहार ९०/१०० जना जति भक्तजनहरु रहिरहन्थे। प्रत्येक दिन योगमाया अरु भन्दा सबेरै उठेर सबै भक्तजनहरुलाई उठाउथिन बिहानको नित्यकर्म तिर लाग्थिन। एक दिन बेलुका भजन किर्तन सकिएपछि योगमायाले सबै भक्तजनहरुलाई भेला परेर भनिन् “यो समाज सबैतिर फोहोरै फोहोरले घेरिसक्यो, मान्छेहरु अधर्मी बन्दै गइसके अब यहा बाच्नुको कुनै अर्थ छैन। हामीलाई अग्निप्रवेशमा सरकारले बाधा गर्यो। तर अब अग्निको अभावमा जलसमाधि लिनु पनि उत्तिकै लाभदायी हुनेछ। अतः इच्छा हुनेले मेरो अनुकरण गर्नु।” यति भनेर सबैलाई सुत्न पठाईन र भोलि बिहानको प्रतीक्षा गर्नु भनिन।

विहान सबेरै उठेर भक्तजनहरुलाई उठाउने योगमाया त्यो दिन अबेरसम्म उठिनन् । सबै भक्तजनहरुले सोचे मातालाई सन्चो भएन होला। तेसैले उठ्न ढिला गर्नुभयो। अबेरसम्म पनि नउठे पछि गङ्गा मातालाई उठाउन भन्दै योगमाया सुत्ने स्थानतिर गईन। तर त्यहा योगमाया थीइनन् खालि बिस्तरा मात्र थियो। बाहिर निस्किएर गंगाले बिस्तरामा माता नभएको जानकारी सबै भक्तहरुलाई गराइन। सबै भक्तहरुले रोई कराई गर्दै योगमायालाई खोज्न थाले। सबै भक्तहरुले सोचे माताले एक्लै हामीलाई नभनी जल समाधि लिनुभयो। त्यैपनि कुनै प्रमाण नभेतिएकाले खोजिरहे। खोज्दै जाँदा अरुण किनारमै दोबान भन्दा अलिक तलतिर योगमायाको चप्पल प्राप्त गरे। चप्पल प्राप्त गरेसँगै माताले जलसमाधि लिएकै हो भन्ने निधो गर्दै सबै भक्तहरुले माता हामीपनि तपाइसँगै जान्छौं। किन सुटुक्क एक्लै जानुभएको भन्दै उर्लंदो अरुणको भेलमा क्रमशः जलसमाधिमा सहभागी हुँदै हाम फाल्न थाले । उनका अनुयायीहरू त्यस बेला जलसमाधि लिने नारीपुरुषको सङ्ख्या योगमाया सहित ६८ पुगिसकेको थियो। त्यसपछि त्यहाँ कतिले हाम फाले र कतिघर फर्के ? कसैले त्यसको तथ्याङ्क राख्न सकेन।

जानकारी अनुसार एक जना भण्डारी थर गरेका भक्तले मातासँगै स्वर्ग जाने भन्दै आफ्नो श्रीमतीलाई अरुणमा फालिदिए अनि आफ्नो ६/७ बर्षका दुई छोराहरु मध्धे एउटा छोरालाई समातेर फालिदिए। त्यो देखेर अर्को छोरा बुबा मा मर्दिन , मा बाचेरै केहि गर्न चाहान्छु मलाई नफाक्नु भन्दै भाग्न थाले तर ति भण्डारीले आफ्नो भागेको छोरालाई लखेटेर समातेर नदीमा फालेरै छाडे अनि अन्तिममा आफुपनि हामफाले। यो घटना विक्रम संवत् १९९८ असार २२ गते शनिबार हरिशयानी एकादशीको दिनको हो।

त्यतिबेला अरुको भन्दा योगमायाको धार्मिक कार्यशैली नै आकर्षक थियो। उनी धुनी बालेर, रुद्राक्षको माला लगाएर, बिगुतको तीन धर्के टीका लगाएर र कपाल खुल्ला छाड्दै झाँक्रो फिजाएर आफ्नो आसनमा बस्थिन्। उनका छेउमा पाँच छ फुट उचाइको त्रिशूल ठडयाइएको हुन्थ्यो। त्यहीँ बसेर उनी आँखा चिम्लेर धाराप्रवाह धार्मिक र सामाजिक प्रवचन दिन्थिन्। अनेक वाणीहरु सुनाउथिन। उनको साहस देखेर उनका सेवकहरू भक्तमा रूपान्तरित भएका थिए । हरे राम प्रभुका नाउँले परिचित स्वामी पं.प्रेमनारायणले चारैतिर डुलेर योगमायालाई औतारी शक्तिमाताको नाउँले सबैतिर प्रचार गरे। स्वामी प्रेमनारायणले योगमायाका नालीबेली पूर्वी पहाडका रनबन पुर्याए भने काठमाडौं उपत्यकामा पनि उनले योगमायाको यथेष्ट प्रचार गरे। त्यतिमात्र होइन; योगमायाका भक्त चेलाहरू पं.कविप्रसाद गौतम र लोचननिधि तिवारीले पनि योगमायालाई शक्तिमाताका रूपमा स्थापित गराए।

योगमायाले जीवनमा आफूप्रति खप्टिएका प्रत्येक वचनको स्मरण गरिरहिन्। उनले नारीप्रतिको भेदभावका विषयमा विरचितपुराणका कथाहरूको पनि खुलेर नै आलोचना गरिरहिन्। नारीलाई पशुवत् व्यवहार गरेर रचिएका धार्मिक कथाहरू योगमायाका भावनाका शत्रु थिए। लोग्नेमान्छेले जति स्वास्नी राखे पनि हुने आइमाईले चाहिँ अर्को पुरुषसँग बिहे गर्दैमा ऊ समाजबाट बहिष्कृत हुनुपर्ने जस्ता असमान र भेदभावपूर्ण व्यावहारले उनको मन रन्थनिएको थियो। त्यतिमात्र होइन; बाहुनपुरुषले पानी नचल्ने जात ल्याए पनि जात नजाने र बाहुन स्त्रीले चाहिँ आफूखुसी बाहुनैसँगै बिहे गर्दा पनि जुनीभरि बिटुली हुनुपर्ने अवस्थाको उनले घोर भर्त्सनागरिन्। साथै बाहुन नारी तल्लो जातमा पुग्ने बित्तिकै उसले आफ्नो संस्कारबाट हात धुनुपर्ने स्थितिको पनि उनले विरोधै गरिन्।

यतिबेला सतीप्रथा हटेको छ , छुवाछुत निर्मुल भएको छ, महिलाहरु माथि भएको विभेद अन्त्य भएको छ। त्यतिमात्र नभएर समाजका सबैखाले कुसस्कृतिको अन्त्य भएको छ। राणाहरु सामु शिर ठाडो पारेर हेर्न समेत नसक्ने समयामा एउटा विकट र अनपढ समाजको तिरस्कृत महिलाले राणा प्रधानमन्त्री सामु छाती फुकाएर अन्याय र अत्याचारको विरोध गर्नु र आफ्ना मागहरु राख्नु चानचुने कुरा थिएन। योगमायाको त्यतिबेलाको त्याग समर्पण र सहासिक कामको उच्च सम्मान गर्दै नेपाल सरकारले यतिबेला हुलाक टिकट प्रकाशित गरिसकेको छ। योगमायाको नाममा विभिन्न सस्थाहरु सक्रिय बनेका छन्। योगमायाको उच्च सम्मान हुलाक टिकट प्रकाशित गरेर मात्र हुदैन अब उनलाई राष्ट्रिय विभूति घोषणा गर्नु पर्छ भन्दै योगमाया फाउन्डेसन नेपालले सरकारसगँ अपिल समेत गरिरहेको छ। यतिबेला योगमयाकै जिल्ला भोजपुरकै महिला राष्ट्रपति छिन्, त्यसैले अब योगमायाको उचित सम्मान अवस्यै हुनेछ। योगमायाकै जिल्लाको युवा एक नम्बर प्रदेशको मुख्यमन्त्री बनेका छन् त्यसैले योगमायाको सहासिक कार्यको उच्च कदर हुनेछ। त्यो बेला श्री ३ जुद्ध शमशेरले समेत चिनेको योगमायालाई नेपाल सरकारले अझै चिन्न सकेको छैन। अब पनि नाचिने कहिले चिन्छ ? आशा छ पक्कै पनि योगमायाले गरेको कामको सम्मान गर्दै नेपाल सरकारले योगमायालाई राष्ट्रिय विभूति घोषणा गर्नेछ, घोषणा गर्नु पर्नेछ।

प्रतिक्रिया दिनुहोस्