गाउँपालिकाका वृद्धवृद्धालाई निःशुल्क यातायात सेवा



०७ पुस २०७५, खोटाङ

खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका वृद्धवृद्धाले निःशुल्क यातायात सेवा लिन पाउने भएका छन् । सो योजनालाई कार्यानोयन गर्न गाउँपालिकाभित्र बसोबास गर्ने ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई सडक यात्राका क्रममा निःशुल्क सेवा दिने उद्देश्यले गाउँपालिकाले यातायात सेवा परिचयपत्र वितरण गरेको छ ।

दिक्तेल र दिप्रुङ गाउँपालिकाको पञ्चमीबजारसम्म यात्रुबाहक सवारीसाधन आवतजावत गर्न थालेपछि गाउँपालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यात्राको व्यवस्था मिलाइएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताउनुभयो ।

ज्येष्ठ नागरिकको सहज यात्राका लागि उक्त गाउँपालिका र खोटाङ यातायात प्रा.ली.बीच गत मङ्सिर २२ गते परिचयपत्रको आधारमा यात्रा गराउने सम्झौता भएको थियो । यातायात प्रा.लि. र गाउँपालिकाबीच भएको सम्झौतामा ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात टिकटको व्यवस्था गर्ने, निःशुल्क यातायात सुविधा लिन ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचयपत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर गाउँपालिका आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रा.लि.लाई मासिकरुपमा भुक्तान दिने, गाउँपालिका र यातायात प्रा.लि.बीच भएको सम्झौता वार्षिकरुपमा नवीकरण गर्ने लगायत उल्लेख छ ।

निःशुल्क यातायात सेवा गाउँपालिकाभित्रका वृद्धवृद्धाका लागि मात्र भएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभयो । वृद्धवृद्धाको साथमा भएको परिचयपत्रको आधारमा सवारी साधनमा टिकट काट्ने र सोही टिकटको ओसी गाउँपालिकामा पेश गरेपछि भाडा भुक्तानी गर्ने यातायात व्यवसायीसँग सहमती भएको छ ।

प्रतिक्रिया दिनुहोस्