प्रकाश विकल्पको ‘देश किन बनेन’ पुस्तक विमोचन



०७ पुस २०७५, काठमाडौं

समाजका विविध विषय समेटिएको प्रकाश विकल्पको पहिलो पुस्तक ‘देश किन बनेन’ आज काठमाडौंमा सार्वजनिक गरिएको छ ।

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा विमोचित पुस्तकको बारेमा बोल्दै पुस्तक पढ्दा आवेग र उत्तेजना भएन भने पुस्तक लेखनको अर्थ छैन भन्दै पुस्तकले गतिशिलताको कुरा गरेको बताए । पुस्तकले  राजनीतिक, कानुनी र संवैधानिक सिमा भन्दा माथि उठेर त्यसलाई भत्काउने प्रयास गरेको प्रमुख अतिथि प्रचण्डले बताए ।

सनातन वैदिक संस्कृति र हिन्दु धर्मप्रति प्रहार गरिएको पुस्तकमा प्रचण्डले धर्म व्यक्तिको भावना हो त्यसलाई हामी राजनीतिज्ञले सम्मान गर्छाै भन्दै सनातन संस्कृतिप्रति आफ्नो सम्मान रहेको बताए ।

राजावादीहरुको क्रियाशिलता प्रति संकेत गर्दै रुसमा जारको शासन समाप्त भएको ७५ वर्षपछि जार नातिनातिनाहरुको खोजी गरे जस्तै नेपालमा पनि त्यसै गर्न लागिएको बताउँदै मुलुक पछाडी नफर्किने र राजसंस्थाको पुर्नवहाली असम्भव रहेको बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका बौद्धिक नेता तथा सांसद राधेश्याम अधिकारी, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादब लगायतले आफ्नो धारणा राखेका थिए ।

सामाजिक क्षेत्रमा क्रियाशिल प्रकाशले पुस्तकमा समाज विकास, धर्मसंस्कृति, राजनीति, कुटनीति, सुशासन, मानवअधिकार र नागरिकको कर्तव्य विषय समेटेका छन् । एघार अध्यायमा लेखिएको ३५० पेजको पुस्तक सांग्रिला पुस्तक प्रा.लि.ले बजारमा ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्