बूनपामा जननिर्वाचितको चियापान : फितलो तयारी कि कार्यकर्ताको असन्तुष्टि ?



२० कार्तिक २०७५, काठमाडौं

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकतापछि संयुक्त रुपमा बूढानीलकण्ठमा आयोजना गरिएको पहिलो चियापान कार्यक्रम फितलो देखिएको छ ।

प्रदेश सभा सदस्य कुसुम कुमार कार्की, बूढानिलकण्ठ नगरपालिकाका प्रमुख र उपप्रमुख सहित काठमाडौं क्षेत्र नं ४ प्रदेश सभा २ मा रहेका बूढानिलकण्ठ नगरपालिकाका वडाहरुको आयोजना र बूनपा वडा नं १० को व्यवस्थापनमा भएको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा करिब ७०० को हाराहारीमा भएको उपस्थितिले जननिर्वाचितको पहलमा नै कार्यकर्ता र जनताको साथ नदिएको बुझिन्छ ।

सूचनाको आदान–प्रदान पर्याप्त मात्रामा भएपनि व्यक्ति हावी हुने प्रवृत्तिले कार्यक्रममा अपेक्षित उपस्थिति नभएको नेकपाकै वडा स्तरीय कार्यकर्ताको गुनासो थियो । अर्का कार्यकर्ता स्थानीय जनप्रतिनिधिले पर्याप्त ध्यान नदिँदा कार्यक्रममा सहभागीता कमजोर भएको बताउँदै थिए ।

कार्यक्रम मै सहभागी केही वडा अध्यक्षहरु कार्यक्रममा स्थानीयको उपस्थिति बारे सोध्दा “आफूले भने अनुसार आमन्त्रितहरुलाई स्वागत गरेको बताउँदै उपस्थितिको जिम्मा आफ्नो नभएको भन्दै पन्छिन खोजेका थिए ।

कार्यक्रमको सबल पक्ष :
जसले नेतृत्व गरेको भएपनि स्थानीय स्तरमा ठूला सार्वजनिक कार्यक्रम नभएको पछिल्लो समयमा दुवै पार्टीका कार्यकर्ताले एउटै मंचमा चियापान तथा शुभकामना आदान–प्रदान राख्नाले कार्यकर्ता विचमा अन्तरघुलन भएको थियो । जनपक्षीय कलाकारहरुको दमदार प्रस्तुती निकै सवल देखिन्थ्यो । उपस्थिति निकै कमजोर भएपनि यो कार्यक्रमबाट सिकेर भावी कार्यक्रमको तयारीमा लाग्न व्यवहारिक सिकाई भएको देखिन्छ । आयोजकले सोचे अनुसारको उपस्थिति नभएकोले सहभागीहरुले सहज रुपमा खाजा चिया लिन पाएका थिए । सामान्यतया चियापानमा हुने ठूलो लाईनबाट आजको चियापान मुक्त रहेको थियो ।

कमजोर पक्ष :
बूनपा वडा नं. १० ले विगतमा एक्लै गरेका कार्यक्रमहरु निकै ओजनदार हुन्थे । आजको कार्यक्रममा स्थानीय निर्वाचनमा १० नम्बरमा पार्टीले पाएको मतको करिव २० प्रतिशत मतदाता समेत उपस्थित थिएनन् । शैक्षिक संस्थाका प्रतिनिधिहरुको राम्रो उपस्थिति थियो भने विपक्षी काँग्रेसको समेत बाक्लो उपस्थिति देखिन्थ्यो ।

यति हुँदाहुँदै पनि सहभागीहरुको पातलो उपस्थितिले पार्टी र जननिर्वाचित प्रति आम जनताको धारणाको प्रतिविम्व निकै खतरनाक देखिन्छ । कार्यक्रममा उपस्थित मध्ये पनि ९० प्रतिशत भन्दा बढी कार्यकर्ता सन्तुष्ट देखिएका थिएनन् । त्यसको मुख्य कारण आयोजकले पर्याप्त छलफल नगरेको, पार्टी कमिटीहरु परिचालन नगरेको, जिम्मेवारी दिएकाहरुलाई पनि औपचारिकता पुरा गर्न मात्र दिएको, जसको कारण विशेषगरी पार्टी कार्यकर्ताहरु र कमिटीहरुले कार्यक्रमको अपनत्व नलिएको प्रष्ट देखिन्थ्यो ।

अझ रमाईलो त के थियो भने पार्टी कमिटीका जिम्मेवार कार्यकर्ताहरु कार्यक्रमलाई जनताबाट निर्वाचितहरुको कार्यक्रम भन्थे, निर्वाचितहरु प्रदेश सांसदको कार्यक्रम भन्थे । वरपरको अवस्था हेर्दा सांसदका वरिपरि लाग्नेहरु निकै प्रफुल्ल देखिन्थे । उनीहरु ठूलो स्वरमा सोचेभन्दा धेरै उपस्थिति भएकोमा गर्व गरिरहेका पनि देखिन्थे ।

पार्टीबाट निर्वाचित भएकाहरुले आयोजना गरेको कार्यक्रम भएपनि आफैलाई मतदिनेहरुलाई समेत संयोजन र परिचालन गर्न नसक्दा खर्चिलो र व्यवस्थित कार्यक्रममा समेत फितलो उपस्थिति देखिन्थ्यो । स्थानीय स्तरमा आयोजना गरिने प्राय:जसो सार्वजनिक कार्यक्रमहरुलाई निकै महत्व दिने स्थानीय संचार माध्यामहरुलाई समेत वेवास्ता गर्नु अर्को कमजोरी देखिन्थ्यो ।

कार्यक्रमको अर्को रमाईलो पाटो :
यमपंचको दोश्रो दिन आज कुकुर तिहार । देशभरी आज कुकुरलाई माला लगाएर पुजिएको जताततै देखिन्थ्यो । परम्परागत वा संस्कृतिमा आधारित कार्यक्रममा संस्कृति प्रतिको वेवास्ता रमाईलो देखिन्थ्यो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा ढाकाको खादा प्रयोग गर्न गरेको अनुरोधले देशभरी आयोजना हुने प्राय: कार्यक्रममा नेकपाका कार्यकर्ताहरु ढाकाको खादा प्रयोग गर्थे तर आजको कार्यक्रममा अचम्मको कुरा नेकपाका कुनै कार्यकर्ताले पनि ढाकाको खादा प्रयोग गरेका थिएनन् । बिहान घरमा कुकुरलाई पुज्न जुन फूलको प्रयोग भएको थियो त्यसै प्रकारका मालाहरु अतिथिले लगाईरहेका थिए ।

माला लगाउन नपाएकाहरु आज माला नपाएकोमा खुशी मान्दै थिए भने केहिले लगाउने वित्तिकै हातमा माला बेरेको प्रष्ट देखिन्थ्यो । कुकुर ईमान्दार जनावर हो त्यति मात्र होईन उसमा सुघ्ने वा पत्ता लगाउने क्षमता अत्याधिक हुन्छ । कुकुरको पूजा प्रतीकको रुपमा गरिएको भन्नेहरु पनि छन् । तर सधैभरी ढाकाको खादामा रमाउने नेकपाका कार्यकर्ताहरुले कुकुर तिहारको दिन त्यसको प्रयोग नगरी माला प्रयोग गर्नु चाहिँ संस्कृति मान्दै गर्दा संस्कृति नै नबुझेको भन्दा फरक नपर्ला कि ?

प्रतिक्रिया दिनुहोस्