अनिल भण्डारीको जीवन कथा



०७ कार्तिक २०७५, काठमाडौं

काठमाण्डौ जिल्ला काभ्रेस्थली गाविस अर्थात हालको तारकेश्वर नगरपालिकामा जन्मिएका हुन्, अनिल भण्डारी ।

भण्डारी रमाइलो पाठशालाका अध्यक्ष, रक्षादेवी कृषि सहकारी संस्थाका अध्यक्ष तथा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय सदस्य लगायतका  विभिन्न संघसंस्थामा आबद्ध भई कूशलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्  ।

काभ्रेस्थली प्राथामिक विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गरेका भण्डारीले सरस्वती माध्यमिक विद्यालय भोटेचौरबाट २०५३ मा एलएलसी परीक्षा दिएका हुन् ।

विद्यालय अध्ययनको दौरानमा  नै उनी राजनीतिमा पनि सक्रिय हुन थाले । कक्षा ९ मा अध्ययन गर्दा उनी नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुको सचिव बनेका थिए  ।

ग्रामिण आदर्श बहुमुखी क्याम्पसबाट स्नताक उतीर्ण गरेका भण्डारी प्लसटु अध्ययन गर्दा स्ववियुको मनोनीत सह-सचिव भए । त्यस्तै उनी साथै स्नातक अध्ययन गर्दा अनेरास्ववियु प्रारम्भिक कमिटीको अध्यक्ष तथा स्ववियु सचिव बने ।

अध्ययन सँगसँगै उनले राजनीतिलाई मात्रै नभई व्यवसायलाई पनि अघि बढाए ।  उनले इलेक्ट्रोनिक सामाग्री मर्मत गर्ने तालिम लिएका थिए । प्लसटु अध्ययनको दौरान इलेक्ट्रोनिक्स पसलको पनि सुरुवात गरे । करिब २ बर्ष इलेक्ट्रोनिक्स पसलमा  काम गरेपछि भण्डारीले चक उद्योगको सुरुवात गरे ।

‘मलाई साना तथा घरेलु कार्यालय त्रिपुरेश्वरबाट दुई तीनवटा व्यवसायको अप्सन दिइएको थियो ।  जसमध्ये तीस हजार लागतमा चक व्यवसायको सुरुवात गरेँ , उनले भने ।

परिवारको सदस्यले काममा सहयोग गर्थे । उनी भने साइकल चढेर स्कुल, पसलमा चक पुर्याउने गर्थे । केहि वर्ष पछि उनी चक उद्योग छाडेर शिक्षण गर्न थाले ।

बिएड गरेका भण्डारीलाई शिक्षण गर्न कठीनाई भएन् । उनले जितपुरमा रहेको नर्थ स्टार बोर्डिङ स्कुलमा तीन वर्ष तथा धर्मस्थलीमा रहेको  विश्व एकता इङलिश स्कुलमा डेढ वर्ष नेपाली विषय पढाए ।

विभिन्न क्षेत्रमा केहि समय व्यतित गरेपछि उनी पुन: व्यवसाय तर्फ फर्किए । तत्पश्चात उनले बसुन्धारामा स्टेशनरी पसलको सुरुवात गरे । करिब चार वर्ष स्टेशनरी गरेपछि उनी पुन: इलेक्ट्रोनिक पसलमा फर्किए ।

भण्डारी अनेरास्ववियु काठमाण्डौ जिल्ला क्याम्पस कमिटी सदस्य, २०६७ देखि २०७१ सम्म काभ्रेस्थली एमाले गाउँ कमिटीको सचिव तथा तारकेश्वर नगरपालिका वडा नम्बर २ अन्तर्गत नेकपा एमालेको वडा कमिटी अध्यक्षको  भूमिका निर्वाह गरे ।

२०५९ देखि राजनीतिक तथा सामाजिक कार्यमा सक्रिय रहेका भण्डारी २०६९ मा नेपाल स्वयमसेवी रक्तदाता समाज काभ्रेस्थलीको सचिव बने । भन्छन्, ‘हामीले रगत नपाए काभ्रेस्थली आउनु भन्ने नारा तय गर्यौँ। हाल ब्लड बैंकको लागि रकम संकलन गरिरहेको छौँ । साथै ताराकेश्वर नगरपालिकामा ब्लड बैंक स्थापना गर्नका लागि जग्गा पनि खोजिरहेका छौँ । ‘

२०७० देखी उनी रक्षादेवी कृषि  सहकारी संस्थाको अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । पुरानै सहकारीलाई  हामीले  पुन: सुरुवात गरेका हौँ, उनले भने । सामाजिक कार्यमा सक्रिय भण्डारी भूकम्पको बेला  विभिन्न संघसंस्थासँग समन्वय गरेर राहत वितरण गरिएको बताउछन् ।

विभिन्न क्षेत्रमा सक्रिय रहेका भण्डारी २०७२ फागुन १ गतेबाट रमाइलो पाठशालाको संस्थापक अध्यक्षको जिम्मेवारी बहन गर्दै आएका छन् । तारकेश्वर नगरपालिकको जरंखुमा कक्षा सातसम्म सञ्चालन भइरहेको रमाइलो पाठशालामा हाल ४२६ विद्यार्थी अध्ययनरत छन् ।

‘प्ले ग्रुपदेखि युकेजीसम्म मण्टेश्वरी विधिबाट कक्षा सञ्चालन गरिरहेका छौँ । अतिरिक्त क्रियाकलापमा समेत जोड दिँदै अन्य विद्यालय भन्दा फरक ढंगले विद्यालय सञ्चालन भइरहेको छ । आगामी वर्ष पाच सय विद्यार्थी पुर्याउने योजना बनाएका छौँ, उनले भने ।

करिब २५ बर्ष  तत्कालिन नेकपा एमालेको विभिन्न पदमा रहि सक्रिय रुपमा राजनीति गरेका भण्डारीले २०७४ साउनबाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिए ।

भन्छन्, ‘सामाजिक काम गर्न खोज्दा आफ्नै पार्टीका स्थानीय नेताहरुले असहयोग गरेपछि पार्टीबाट राजीनामा दिएँ । हाल नेपाल संघिय समाजवादी पार्टीको केन्द्रीय सदस्यको रुपमा राजनीतिमा क्रियाशील छु ।’

एसिसिएसि (ACCAC) का सदस्य रहेका भण्डारी स्कुललाई कक्षा १२ सम्म लैजाने योजनामा छन् । त्यस्तै कक्षा ९ देखि नै प्राविधिक विषयलाई जोड दिँदै अघि बढ्ने योजना छ उनको ।

साथै कृषि सहकारी मार्फत कृषकहरुलाई सुलभ ऋण प्रदान गर्ने, अर्गानीक तरकारी उत्पादन गर्ने र विषादी उन्मूलन गर्ने सोच रहेको छ उनको । ४१ वर्षीय भण्डारीले  धर्म संस्कृतीको रक्षा गर्न सिम्लेश्वर महादेव स्थान काभ्रेस्थलीमा १२ कोठाको पक्की भवन निर्माण गर्न सफल भएका छन् भने स्वास्थ्य चौकीको भवन निमार्ण गर्न अग्रणी भूमिका निर्वाह गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्