लोक गीतमा मौलिकता हराउन थाल्यो : गायक सूर्यमणि आचार्य



११ असोज २०७५, काठमाडौं

नेपालमा पाइएन जागिर,बेरोजगारी भइयो नि आखिर
कहिले होला दाम पैसा कमाउने, अरुजस्तै म पनि रमाउने
रत्नपार्क घुम्न जाउँन यार बेरोजगारी कान्छालाई सँधै शनिबार…………..।

नेपाली समाजको तितो यर्थाथ बोकेको काँठे भाकाको यो गीतले चर्चा त कमायो नै गायक सूर्यमणि आचार्यलाई पनि चर्चाको शिखरमा पुर्याइदियो । २०७० सालमा बजारमा आएको ‘रत्न पार्क घुम्न जाउँन यार’ बोलको गीत गायक सूर्यमणि आचार्य तथा गायिका द्वय पार्वती कार्की र शोभा कुँवरको आवाजमा सजिएको छ ।

पछिल्लो समयमा पनि विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा दर्शक स्रोताहरुलाई  खुसी दिलाउन  सफल यो गीतमा गायक आचार्यको लय तथा भिमसेन खतिवडाको शब्द रहेको छ । सिन्धुपाल्चोकको वाँडेगाउँ धुसेनी अर्थात हालको इन्द्रावती गाउँपालिका वडा नम्बर पाँचमा २०३८ सालमा जन्मिएका सूर्यमणि विश्वनाथ आचार्य तथा महेन्द्रकुमारी आचार्यका पहिलो सन्तान हुन् ।

विद्यालयमा आयोजना हुने प्रत्येक कार्यक्रमहरुमा सहभागि मात्र नभएर पुरष्कृत पनि हुने गर्दथे उनी । विशेष गरी वादविवाद, सांस्कृतिक कार्यक्रममा भाग लिने सूर्यमणिमा अरुलाई छिट्टै नै आफूतर्फ तान्ने खुबी थियो । २०५७ सालमा ऐसेलुखर्क माद्यामिक विद्यालयबाट एसएलसी परिक्षा दिएका आचार्य अध्ययनको सिलसिलामा काठमाण्डौ प्रवेश गरे ।

सानैदेखि कार्यक्रमहरुमा गीत गाउने सूर्यमणिलाई साथीभाइहरुले संगीत  विषय लिएर अध्ययन गर्न सुझाव दिए । तत्पश्चात रत्नराज्य क्यामपसमा संगीत तथा राजनीतिशास्त्र लिएर अध्ययन गरेका गायक सूर्यमणिले स्नातक गरेका छन् । २०५९ साालबाट व्यवसायिक रुपमा गायनको सुरुवात गरेका सूर्यमणि रेडियो नेपालको कार्यक्रम ‘चौतारी’ मा गीत गाउने गर्दथे । भन्छन्, ‘पाण्डव सुनुवार र युक्त गुरुङले निकै साथ दिनुहुन्थ्यो ।’

२०६० सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका सूर्यमणिले ‘डाडैमा हावा सरर’ एल्बम सांगीतिक बजारमा लिएर आए । निकै नै चर्चा बटुल्न सफल गीतमा गायक सूर्यमणिलाई गायिका सावित्री केसीले स्वरमा साथ दिएकी थिइन् । उक्त गीतमा  लय तथा लगानी सूर्यमणिकै रहेको छ । आचार्यले २०६१ सालमा जनसाँस्कृतिक मञ्चमा दुई महिने संगीतत तालिम पनि लिए ।

सानैदेखि अग्रज कलाकारहरुको गीत सुन्ने र विभिन्न कार्यक्रमहरुमा प्रस्तुती दिने सूर्यमणि अग्रज कलाकारहरुको प्रेरणाले सांगीतिक क्षेत्रमा आएको बताउँछन् । ‘अग्रज कलाकारहरुको प्रेरणाले यस क्षेत्रमा आएँ र मेरा ठूलाबुवा साहित्यकार जगन्नाथ आचार्यले पनि उत्प्रेरित गर्नुहुन्थ्यो, उनले भने ।

गायक सूर्यमणिले २०६३ मा ‘दिल्ली कलकत्ता’, २०६४ मा ‘साउदी नगरमा’, २०६७ मा जनवादी गीत ‘जाग उठ सारा जनता’, २०७० मा ‘रत्नपार्क घुम्न जाउँन यार’ लगायतका गीतहरु सांगीतिक बजारमा ल्याएका छन् ।

अग्रीम सांस्कृतिक परिवारले २०६८ ल्याएको प्रगतिशील गीति संगालो ‘सुन हाम्रो व्यथा भाछन जनता न यता न उता’ मा पनि उनले आवाज दिएका छन् । २०६८ मा गठन भएको अग्रिम साँस्कृतिक परिवारमा उनी उपाध्यक्ष समेत रहेका थिए ।

काठमाण्डौमा सुरुवाती दिनमा विभिन्न संघर्ष गर्नुपरे पनि संघर्षको फल मीठो हुन्छ भन्दै अघि बढेका सूर्यमणि पछिल्लो समयका गीतमा विकृती बढेको बताउँछन् । भन्छन्, ‘गीतमा मौलिकता र समाजको वास्तविक घटना उतारिनुपर्ने हो तर पछिल्लो समय असभ्य खालका गीतहरु बजारमा आइरहेका छन् । यस्ता विकृति र विसङगती हटाउन आवश्यक छ ।’

‘विगतमा कालजै गीत गीतहरु बजारमा आउने गर्दथे । तर अहिलेका गीतहरु रहर पूरा गर्न तथा क्षणिकका लागि बजारमा आउन थालेका छन् । अब कालजै गीतहरु गाउन आवश्यक छ र गीतमा पाखा, पखेरा, गुन्द्रुक, ढिडो उतारिनुपर्दछ , उनले भने ।

काठे क्षेत्रका मौलिकतालाई अघि बढाउन लागिपरेका सूर्यमणिले जागरण तथा राष्ट्रभक्तिका गीतमा पनि आवाज समेत भरेका छन् । आफ्नो प्रस्तुती माफर्त  कार्यक्रमको माहोल तताउन सक्ने क्षमता भएका सूर्यमणिको माग साँस्कृतिक कार्यक्रमहरुमा हुने गर्दछ । धेरै जसो साँस्कृतिक कार्यक्रमहरुमा व्यस्त रहने सूर्यमणिले करिब ६० वटा गीतमा आवाज भरेका छन् ।

हालै मात्र सूर्यमणि र राजकुमार हुमागाईको प्रस्तुतीमा ठट्यौली गीत ‘ए है काली’को रेकर्डिङ भएको छ । उक्त गीतको म्युजिक भिडयोको भर्खरै मात्र छायांकन गरिएकोे जानकारी समेत दिए । उनी तिहार लगत्तै केहि गीत रेकर्डिङ गर्ने तयारीमा छन् । स्टेज कार्यक्रमका साथसाथै रोधी क्लबमा पनि आबद्ध रहेका सूर्यमणि भजन पनि गाउने गर्दछन् ।

पछिल्लो समयमा आएका कलाकारहरुले अग्रज कलाकारको सम्मान गर्नुपर्ने आवश्यकता पनि महशुस गरेका छन् ,उनले ।आफ्नो गीत मार्फत अन्याय र अत्याचारबाट पिल्सिएका मानिसहरुले न्याय पाउनुपर्दछ भन्ने विचार राख्दै आएका सूर्यमणि लोक गीत संगीतलाई निरन्तरता दिने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्