तीन पुस्तेका ‘दाइ पत्रकार’ श्याम चित्रकार



२८ भदौ २०७५, काठमाडौँ \कुञ्जरमणि भट्टराई

विक्रम संवत १९९८ फागुन २९ गते काठमाण्डौको पुतलीसडकमा जन्मिएका हुन्, फोटो पत्रकार श्याम चित्रकार । १६ वर्षको उमेरबाट फुटबल तथा एथलेटिक्स खेलाडीको रुपमा खेलकुद क्षेत्रमा प्रवेश गरेका चित्रकार फोटोग्राफर हुँदै फोटो पत्रकारका रुपमा अझै पनि सक्रिय छन् । नेपाल टेलिभिजनको प्रथम छायाँकार चित्रकारलाई धेरैले संबोधन गर्ने नाम हो,’श्याम दाइ’। भन्छन्,‘विशेष गरी खेल क्षेत्रमा सक्रिय रहेँ । फोटो पत्रकारको रुपमा झण्डै तीन पुस्तासँग काम गरिसकेको छु । तीन पुस्तेले नै मलाई ‘श्याम दाइ’ भनेर संबोधन गरे । अहिले चाहिँ कोही कोही श्याम सर  भन्न थालेका छन् ।’

बाल्यकालिन सम्झना

आफू ६ वर्षको हुँदा काठमाण्डौमा परेको हिउँमा खेलको सम्झना उनको मानसपटलमा ताजै छ । भन्छन्, ‘त्यसपछि काठमाण्डौमा त्यति धेरै हिँउ परेको छैन् ।  खेल्दा खेल्दै दाइले तानेर लैजानुभएको याद आउँछ ।’ उनका बुवाल हात्ति पार्टीमा चिया पसल सञ्चालन गरेका थिए । उनी १२–१३ वर्षको उमेरदेखि नै बुवालाई सहयोग गर्न पसलमा बस्ने गर्दथे । उनका दाजु भने पढाईमा ध्यान दिन्थे तर श्याम पढ्नमा खासै चासो राख्दैनथे । त्यसैले उनका बुवाले बिहान पाँच बजे नै आफूसँग पसल लैजान्थे । उनी पसलमा बस्दाबस्दै जेरी, सेल, हलुवा, रसवरी लगायतका परिकार बनाउन सिपालु भइसकेको थिएँ।

श्यामको बानी अचम्म किसिमको थियो । जब बुवा खाना खान घर जान्थे उनी भने एक दुई रुपैँया टप्काइहाल्थे । बुवा पसलमा आएपछि रत्नपार्कबाट भक्तपुर चल्ने बसका चालकलाई त्यहि पैसा दिन्थे र केही समय गाडी चलाउँथे र त्यहि बसमा भक्तपुर हाँनिन्थे । श्यामका बुवालाई उनको चोर्ने बानी थाहा थियो । श्यामले कहिले जुत्ता त कहिले पटुकामा पैसा लुकाउने भएकाले पैसा भेट्न मुस्किलै पर्थ्यो । पैसा चोरेको बिषयमा उनले धेरै पिटाई खाए । भन्छन्, ‘घरमा मैले जस्तो पिटाई कसैले खाँदैनथे ।’

बाल्यकालमा उनी गाडी चलाउन,साइकल खेल्न र फिल्म हेर्न निकै रुचाउँथे । नजिकैको विश्वज्योती हलमा संगीतको धुन बजेपछि उनको मन अडिदैनथ्यो र फिल्म हेर्न पुगिहाल्थे । भन्छन्, ‘त्यतिखेर चलेका फिल्महरु र काठमाण्डौमा भएका हलहरु छुटाइएन् । त्यतिखेर वैजुवावर, वुटपालिस, ४२० लगायतका फिल्म खुव मनपर्थ्यो । नयाँ फिल्म हेर्न छुटाइएन त कतिपय दोहोर्याएर पनि हेरियो । मलाई खोज्दै बुवा फिल्म हल पुग्नुहुन्थ्यो र बाटोमा पिट्दै घर ल्याउनुहुन्थ्यो । त्यस्तै मैले साइकल चलाएको देख्दा मान्छे नै आतिन्थे ।’

अध्ययन

उनलाई अध्ययनतर्फ खासै रुची नभएकाले विद्यालय गएपनि १–२ महिनामै भागिहाल्थे । पद्यमोदय र दरवार हाइस्कुल १–२ महिनामै भागेका चित्रकारले विद्या सदनबाट प्रारम्भिक शिक्षा लिए ।

‘एक दिन साथीभाइसँग तास खेल्दै गर्दा अरु साहुका छोरा चटक्क भएर बोर्डिङ स्कुल जान्छन् । तिमी पनि त साहुको छोरा हौ किन सरकारी स्कुल पढ्छौ भने केहि साथीहरुले  । त्यसपछि बोर्डिङ पढ्छु भन्दा घरमा  मानेनन् । त्यसपछि हरेक दिन पैसा चोरेर दैनिक पसलमा दुध ल्याउने ग्वालालाई जम्मा गर्न दिएँ । ग्वालाले जम्मा भएको तीन सय रुपैँया दियो । अनि त्यहि पैसाले पढ्नका लागि फपिङ्गमा रहेको त्रिभुवन आदर्श विद्यालयमा कक्षा ६ मा भर्ना भएँ ।’

त्यतिखेर उनी १६ वर्षका भएपनि उमेरले अरुभन्दा ठूलै भए । उनी मासिक परिक्षामा जहिल्यै अनुत्तिर्ण हुन थाले । परिक्षामा अनुत्तिर्ण भएका कारण प्रिन्सिपलले पेटीले हिर्काउँथे । त्यसैले उनलाई पढ्नुपर्छ भन्ने ज्ञान दियो । त्यसपछि उनले पढाईमा निकै मेहनत गर्न थाले र कक्षा सातमा जाँदा चौथो समेत भए । उनी त्यतिबेला आयोजना हुने खेलकुद प्रतियोगतामा सहभागी हुन्थे र फुटबलका राम्रा खेलाडीको रुपमा परिचित बन्न थालेका थिए ।

कक्षा ८ मा पुगेपछि प्रिन्सिपलले विद्यार्थीमाथि अन्याय गरे भन्दै पत्रिकामा समाचार छाप्ने कुरा भयो । विभिन्न व्यक्तिहरुको सहयोग पाएपछि उनी फपिङ्गबाट हिडेर काठमाण्डौ आए । उनी सम्झिन्छन्, ‘प्रिन्सिपलका कारण मैले पढ्न थालेको थिएँ तर उनकै विरोध गर्दै समाचार छाप्न काठमाण्डौ आएँ । पत्रिकामा समाचार पनि छापेँ । उनले पिन्सिपलबाट राजिनामा पनि दिए तर मलाई हिडेर उता जान मन लागेन र काठमाण्डौ नै बसेँ ।’

तत्पश्चात उनी त्रिभुवन प्रौढ शिक्षा निकेतनमा कक्षा नौ मा भर्ना भए । उनलाई एसएलसी पास गर्न निकै मुस्किल पर्यो तथापी लामो समय लगाएर भए पनि पास गरेरै छाडे । त्यसपछि उनले त्रिचन्द कलेजबाट आइकम सम्म अध्ययन गरे ।

खेल जीवन

विद्यालयमा छँदा नै फुटबल र भलिबलको माध्यमबाट आफूलाई चिनाइसकेका चित्रकार २०१६ मा फुटबल हेर्न गएका थिए । विद्या व्यायाम बाट खेलाडी पुगेन भन्दै उनलाई खेल्न आग्रह गरियो । उक्त आग्रहलाई चित्रकारले स्वीकार गरे । साथै उनको टिम दोस्रो भयो ।  त्यस्तै उनी आरसिटी क्लमा एक वर्ष आवद्ध भए । चित्रकारले २०२०–२७ सम्म महावीर क्लबाट खेल्दा थुप्रै किसिमका प्रतियोगितामा टोलीलाई विजयी बनाए । विभिन्न क्लबमा आवद्ध रहँदै फुटबल खेलेका चित्रकारले २०२७ मा खेल जीवनबाट सन्यास लिए ।

खेल जीवनबाट उनले सन्यास लिनुको कारण थियो विवाह । गृहलक्ष्मी चित्रकार  विद्यालय जाँदाआउदा श्यामसँग हेराहेर हुन्थ्यो । उनीहरुको हेराहेर केहि समयपछि प्रेममा बदलियो । श्याम गृहलक्ष्मीलाई स्कुल पनि पुर्याइदिन्थे, माया झनै बढ्दै गयो  ।  उनी भन्छन्, ‘लजालु गृहलक्ष्मीसँग प्रभावित भएँ । ३–४ वर्ष प्रेम सम्बन्धमा रहेपछि सम्बन्धलाई विवाहमा परिणत गर्यौँ ।

फोटो मोह

श्याम चित्रकार समयसमयमा आफ्ना भिनाजु पहिलो सिनेमेटोग्राफर बखत बहादुर चित्रकारको फ्याल्स स्टुडियोे जाने गर्दथे । त्यहाँ भिनाजुको मेहनतबाट उनी प्रभावित भए । त्यसपछि उनलाई बखतबहादुरले फोटोग्राफीको तालिम दिए । खेलकुदमा सक्रिय हुँदै फोटो खिचे बापत उनले  निकै प्रशंसा पनि बटुलेका थिए । त्यस्तै उनी घरमा स्टुडियो राखेर फोटो पनि खिच्ने गर्थे ।

चित्रकारले भिनाजुसँग मिलेर २०२३ सालमा ग्राफिक्स आर्टसको सुरुवात गरे ।  भन्छन्, ‘त्यतिबेला मासिक तीन सय तिर्ने गरि कोठा लिएका थियौँ । त्यहि भाडा पनि भाडा तिर्न गाह्रो भएकाले घरबाट ल्याएर बुझाएँ । केहि समयपछि भिनाजुले छाड्ने कुरा गर्नुभयो र पसल घरमै सारेँ ।’

सानोमा सँधै झगडा पर्ने तर पछि मित बन्न पुगेका सिताराम उनको घरमा आउने गर्थे । सोही क्रममा श्यामका मितलेसँगै मिलेर काम गर्ने प्रस्ताव गरे । त्यसपछि उनीहरुले संयुक्त रुपमा २०२८ मा रत्नपार्कमा पसल सुरुवात गरे । त्यहाँ उनीहरुले माइला दाइ भन्ने राम्रा फोटोग्राफको साथ पाए ।

माइला दाइले फोटोको साइज केहि ठूलो बनाइदिए, उनीहरुको पसलमा मान्छेको भिड लाग्न थाल्यो । तर उनीहरुले फोटोको साइज बिगारेको भन्ने आरोप खेप्नुपर्यो । उनका मितले पसलमा आउन नभ्याउने कुरा गरेपछि उनले मितको लगानी फिर्ता गरिदिए । त्यतिबेलासम्म श्याम चर्चित फोटोग्राफर भइसकेका थिए र धेरै पटक लुम्विनी गइसकेका थिए ।

लुम्विनी अन्तराष्ट्रिय भ्रमणको बेला वर्माको प्रधानमन्त्री पनि आएका थिए । त्यतिबेला चित्रकारले सुपर अइट क्यामेराबाटउक्त भ्रमणको मूभी खिच्न समेत भ्याए । उनलाई मूभि खिच्ने ज्ञान भने उनका भिनाजु बखत बहादुरले दिएका थिए ।

२०३७ सालमा फोटो ग्राफर संघ गठन भयो । २०३८ सालमा उनले फोटो ग्राफर संघको तर्फबाट प्रथम राष्ट्रिय खेलकुदको मुभी पनि खिचेँ । प्रथम  राष्ट्रिय खेलकुदको मुभी खिच्नका लागि वैकंक गएर रिल  ल्याएका थियौँ , उनले भने । ‘त्यस्तै  २०३७ मा एन्फा कप भएको थियो । त्यसको भिडियो खिच्ने कुरा भयो तर क्यामेरा थिएन । धिरेन्द्र सरकारसँग क्यामेरा रहेछ । आफूसँग डेक चलाउने  ज्ञान थिएन् । कृष्णराजले डेक चलाउने ज्ञान दिए र भिडियो  खिचियो, उनले भने ।

विभिन्न स्थानमा फोटो खिच्ने र भिडियो, मुभीको अनुभवसम्म बटुलेका चित्रकारलाई २०४० सालमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले छायाँकारको जागिरका लागि बोलायो । आफू फोटो स्टुडियो चलाइरहेकाले उनले राखेपलाई पूरै समय दिन नसक्ने भए । त्यहाँ उनले आफू १०–५ बजे सम्म बस्न नभ्याउने तर काम परेको बेलामा साथीहरुलाई पठाएर भएपनि काम नरोक्ने शर्त राखेर फोटोग्राफरको रुपमा नियुक्त भए । उनले १३ वर्षपछि अर्थात २०५१ सालमा राखेपबाट स्वेच्छिक अवकाश लिए ।

नेपाल टेलिभिजनको प्रथम छायाँकार

उनी आफ्नो फोटो स्टुडियोमा बसिरहेका थिए । ‘नीर शाह स्टुडियोमा आएर ‘श्याम दाइ’ हामीले  टेलिभिजन परियोजनाको सुरुवातका लागि समिति गठन गर्यौँ । हामीसँग क्यामेरा पनि छैन र पारिश्रमिक पनि दिन सक्दैनौँ ,यहाँले सहयोग गर्नुपर्यो भने । मैले सकेको सहयोग गर्छु भनेँ । अनि २०४१ सालमा नेपाल टेलिभिजनमा काजमा नियुक्त भएँ , उनले सम्झिए ।

पछि उनलाई नेपाल टेलिभिजनमा वरिष्ठ छाँयाकारको पदमा बस्न आग्रह गरिएको थियो । भन्छन्, ‘नेपाल टेलिभिजनको वरिष्ठ छाँयाकारको पदमा बसेर काम गर्न अनुरोध गरिएको थियो । तर राखेपबाट नछोड्न आगह्र गरिएकाले नेपाल टेलिभिजनको स्ट्रेन्जर रिपोर्टरको रुपमा रहेँ ।’

उनले सुनाए, ‘महेन्द्र प्रकृति संरक्षण कोषको सेमिनारका लागि विभिन्न देशबाट पाहुना आएका थिए । उक्त सेमिनारको भिडियो खिच्ने अवसर पाएँ  । सोही पाहुनाहरु चितवनमा एक हप्ताको लागि जाने कार्यक्रम रहेछ । त्यहाँ पनि गएँ । उक्त भिडियो आफैँले सम्पादन गरेँ र  एक घण्टाको डकुमेन्ट्री तयार पार्यौँ । उक्त डकुमेन्ट्री नीर शाहले शंकर होटलमा भएको सञ्चार गोष्ठीमा देखाए । त्यसपछि  धिरेन्द्र सरकारले नीर शाहलाई नेपालमा टिभी  सुरु भएकै हो त भनेर पनि सोधेका थिए ।’

नीर शाहले चित्रकारलाई अष्ट्रेलिया जान पाउने हुनुभयो जाने कि नजाने भनेर सोधे । त्यतिबेला राजा महेन्द्र एक हप्ताका लागि अष्ट्रेलिया जान लागेका रहेछन् । नेपाल टेलिभिजनको तर्फबाट छायाँकार , रिपोर्टर र उनी गरी तीन जना जाने कुरा भएछ ।  श्यामले उक्त अवसर नगुमाउने योजना बनाए । रिपोर्टरको रुपमा कसलाई लैजाने भनेर नीर शाहले सोधेपछि दुर्गानाथ शर्मालाई लैजाँदा राम्रो हुने सल्लाह दिए चित्रकारले ।

‘अष्ट्रेलिया जाँदा राजकीय भ्रमणका लागि क्यामेराको क्वालिटी पुग्दैन भन्ने सुझाव पाएपछि नीर शाह क्यामेरा ल्याउन जापानतर्फ लागे । तर उनले जापानबाट पढाएको क्यामेरा अमेरिका पो पुगेछ । त्यसपछि भाडामा क्यामेरा लिएर भ्रमण खिचियो । त्यो क्यामेरा चलाउन नजान्दा समस्या पनि पर्यो । तर सबै कुरा मिलेर राम्रो पो खिचिएछ । त्यो भिडियो उताबाट पठायौँ र यता नेपाल टेलिभिजनबाट  प्रशारण भएको थियो , उनले थपे ।  उनले २०५८ सालमा नेपाल टेलिभिजनको प्रथम छायाँकारको रुपमा सम्मान पाएका थिए । साथै विभिन्न फोटो, भिडियो टेलिभिजनमा पठाउँथे र त्यसवापत रकम पनि पाउँथे ।

चित्रकारले खेलकुद क्षेत्रमा विभिन्न भूमिकामा रहेर योग्दान दिएका छन् । विशेषगरी तीन पुस्ते खेलाडीबाट श्याम दाइको परिचय बनाएका चित्रकारले २०३८ मा स्पोर्टस इन नेपाल नामक ३० मिनेटको डकुमेन्ट्री निर्माण गरेका थिए । भन्छन्, त्यो खेलकुद क्षेत्रको पहिलो डकुमेन्ट्री हो ।’ २०४२ सालमा फोटो पत्रकार संघको गठन भयो । उनी उक्त संघको उपाध्यक्ष्य बनेका थिए ।

‘संघमा पैसाको अभाव भएपछि २०४२ देखि खेल जगत नामक साप्ताहिक कार्यक्रम प्रशारण गर्यौँ । तर विभिन्न कारणवश २०४४ मा उक्त कार्यकम नै बन्द भयो ।’ हाल भाटभटेनीमा बस्दै आएका चित्रकार नेपाल टेलिभिजन र यसका अन्य च्यानलहरुमा खेलकुद सम्बन्धिका कार्यक्रम उत्पादन गर्दै पठाइरहेका छन् । एनटिभी प्लसको सुरुवात भएदेखि उनको गाफिक्स आर्टसबाट निमार्ण भएको खेल सम्बन्धि साप्ताहिक  कार्यक्रम स्पोर्टस म्यागेजिन प्रशारण हुँदै आइरहेको छ । त्यस्तै एनटिभी न्युजबाट खेल जगत नामक कार्यक्रम प्रशारण हुँदै आइरहेको छ भने उनले एडभान्चर स्पोर्टस नामक कार्यक्रम पनि निर्माण र प्रशारण गरेका थिए ।

फोटो पत्रकारिताले दिएको खुसी

केहि वर्ष देखि व्याक पेनको समस्याबाट पिडीत चित्रकार भन्छन्, ‘अहिले पनि कहिलेकाहीँ आफैँ फिल्डमा गइरहेको हुन्छ । सायद फोटो पत्रकारिताको लगावका कारण होला त्यहाँ गएपछि दुखाइ कम भएको महशुस हुन्छ । मैले धेरै खेलाडीहरुको प्रोफाइल तथा विभिन्न खेलको अर्काइभ राखेको छु । ति कुरा हेर्दा आफूले पनि यस क्षेत्रमा केहि गरेको रहेछु भन्ने लाग्छ ।’

देशलाई चिनाउने खेल र खेलाडीको अवस्थाप्रति सम्बन्धित निकायले ध्यान नपुर्याएको जस्तो लाग्छ, उनलाई । त्यस्तै उनी भूकम्पले भत्काएको सरंचना पुन निमार्णको गतिले तिव्रता नपाएको गुनासो गर्छन् । साथै आफ्नो जीवन नै खेल क्षेत्रमा समपर्ण गर्ने चाहना छ उनको । ७७ वर्षको उमेरमा पनि जोश र जाँगरका साथ खेलकुद क्षेत्रमा फोटो पत्रकारिताको माध्यमबाट सेवा गरिरहेका चित्रकारको योजनाले  मूर्त रुप पाओस्, हाम्रो कामना ।

 

प्रतिक्रिया दिनुहोस्