आमाबुबाको सपना पूरा गर्नको लागि काठमाडौँको गल्ली गल्लीमा गीत गाउँदै हिड्छन २ गन्धर्व दाजुभाई



२५,भदौ २०७५ काठमाडौँ

हाम्रो समाजमा त्यस्ता धेरै व्यत्तिहरु हुन्छन् जो सानै उमेरदेखि नै अत्यन्तै मेहेनती र इमान्दर स्वभावका हुन्छन् । त्यसको उदाहरणका लागि दाङका दुई गन्धर्व दाजुभाईलाई हेर्न सकिन्छ । मात्र १३ र १२ बर्षका दाजुभाई काठमाडौँमा दिनरात सारङ्गी रेट्दै गीत गाउँदै हिड्छन् ।

दाङ जिल्लाका जनक गन्धर्व र विराज गन्धर्व दिनरात काठमाडौँको गल्ली गल्लीमा सारङ्गी रेट्दै गीत गाउँदै हिड्छन् । यहि पेशाबाट उनीहरु आफ्नो दैनिकी पनि चलाउँछन् र दाङमा बस्नु हुने आफ्ना आमाबुबालाई पैसा पनि पठाउँछन् । मात्र १२, १३ बर्षका यी कलिला बालकहरु आफ्नो आमा बुबाको सपना पुरा गर्नको लागि काठमाडौँ आएको बताउँछन् । नेपालमा लोप हुदैँ गएको गन्धर्व जातिबाट आएका यी बालकहरुले राम्रोसँग नेपाली त बोल्न जान्दैनन् तर दैनिक रुपमा आफ्नै शैलीका गीतहरु गाएर मानिसहरुलाई मनोरञ्जन दिने गर्छन् । दाङमा बस्दै आएका यी बालकहरुको आर्थिक स्थिति निकै कमजोर भएपछि यिनले सानै उमेरमा आफ्नो पढाई छोड्न बाध्य भए ।

आफ्नो बाबुले पहिले हिले सारङ्गी बजाएर गीत गाएको सुनेर यिनले पनि त्यहि पेशा सिके । दाङमा बस्ने यि बालकका बाबु आमा दुवै बोल्न सक्दैनन् । यसरी बाबु र आमा दुवै अशक्त भएपछि आमाबुबाको उपचार गर्ने उद्येश्यले यी बालक आजभन्दा करिब ३ महिना अगाडि काठमाडौँ आएका थिए । दिनभर यी बालकले गीत गाएर ५०० देखि ६०० सम्म कमाउने गरेको बताएका छन् । आफूहरुलाई बोर्डिङ स्कुलमा पढ्ने रहर भएको बताउने यी बालकहरु कसैले सहयोग गरेर पढाइदिए खुसीका साथ पढ्ने बताउँछन् । उनीहरु हाल काठमाडौँमा नैकापमा आफ्ना काकासँग बस्दै आएका छन् । उनीहरु मात्र होइन उनीहरुका काका पनि दिनभर सारङ्गी रेटेर गीत गाउने काम गर्नुहुन्छ । हुन त उनीहरुका काकालाई पनि आफ्ना बतिजहरुलाई बोर्डिङ स्कुल पढाउने रहर छ होला । तर विडम्बना उनीहरुको काकाको पनि आर्थिक स्थिति अत्यन्तै कमजोर छ ।

यी साना बालकहरुलाई दैनिक रुपमा सारङ्ग िबजाउँदै गति गाउँदै हिड्न निकै कठिन हुन्छ । सबै मानिसहरु एउटै स्वभावका नहुने भएकाले उनीहरुले गीत ताउँदा कतिले उनीहरुलाई माया गर्छन् भने कतिले झर्को मानेर गाली पनि गर्छन्  । तर पनि यी बालकहरुले आफ्नो आमाबुबालाई पैसा कमाएर पाल्छु भन्ने हिम्मतका साथ मानिसहरुको गाली खपेरै भएपनि दैनिक रुपमा गीत गाइरहन्छन् । आफूहरुलाई भविष्यमा सफल गायक र कलाकार बन्ने रहेको बताउने यी बालकहरु निरन्तर मेहेनत गरेर आफ्नो पनि सपना पूरा गर्ने बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्