लागुऔषधको लत छुटाउन समर्पित पूजा



२४ भदौ २०७५, काठमाडौं

केही समयका लागि प्रहरीको लागुऔषध सुधारगृह ‘आसरा’मा स्वयंसेवकका रूपमा छिरेकी पूजा कुँवरले जीवनका २२/२३ वर्ष सुधारगृहमै बिताइन् । आज पनि यसैमा समर्पित छन् ।

लागुऔषधको कुलतमा परेका सयौँ दुव्यसनीलाई पूजाले दुव्र्यसनमुक्त बनाइन् । उनी भन्छिन्, ‘संसारमा सबैभन्दा जटिल कार्यमध्ये एउटा काम ड्रग्समा परेकालाई जोगाएर सदाका लागि लागुऔषधमुक्त, नैतिक, स्थिर र उत्पादक बनाउनु हुन सक्छ । तर, म यस कार्यमा यसरी डुबेकी छु कि यो मेरो नसा नै हो ।’

प्रहरी अधिकृत रहेका उनका श्रीमान् वसन्तराज कुँवरलाई सघाउन उनी प्रहरीले खोलेको लागुऔषध सुधारगृह आसरामा छिरेकी थिइन्, स्वयंसेवक भएर । उनले भनिन्, ‘मैले एक दिन आफैँ सुधारगृह खोलेर काम गर्छु भन्ने सोचेकी थिइनँ ।’ उनी अहिले आफ्नै संस्था सञ्चालन गरेर बसेकी छिन् । भनिन्, ‘कसैलाई दुव्र्यसमुक्त गराउँदा, सही बाटो देखाउँदा अन्य कामबाट भन्दा धेरै सन्तुष्टि प्राप्त हुँदो रहेछ।’

आज उनी लागुऔषध दुव्र्यसनीलाई उपचार गर्ने, सुधार्ने प्रख्यात अमेरिकी संस्था नार्कोननको शाखा ‘नार्कोनन नेपाल’ खोलेर बसेकी छिन् । ०५० सालतिर पूजाका श्रीमान् तत्कालीन डिएसपी वसन्त कु“वर (हाल अवकाशप्राप्त एसएसपी)ले यदि पुलिसले अपराध रोक्ने हो भने पुलिस आफैँले पुनःस्थापना केन्द्र खोल्नुपर्छ भन्दै यसलाई अनुमोदन गराएपछि उनले यस क्षेत्रमा प्रवेश गर्ने मौका पाएको बताइन् ।

कुँवर दम्पतीले प्रहरीको सुधारगृहमा लामो समय काम गर्न पाएनन् । प्रहरी महानिरीक्षक धु्रवबहादुर प्रधान हुँदा खोलिएको सो सधुारगृह अच्युतकृष्ण खरेल महानिरीक्षक भएसँगै प्राथमिकताको सूचीमा परेन । सरुवा भएर श्रीमान् हेटौँडा पुगे । हेटौँडामै ०५५ सालतिर ‘आसरा’ नामक दुव्र्यसनी परामर्श केन्द्र खोले । ०६० सालतिर उनले श्रीमान्को सल्लाहमा ‘प्रतिज्ञा फाउन्डेसन’ नामक उपचार केन्द्र हात्तीगौँडामा खोलिन् ।

२०६४ सालमा श्रीमान्ले प्रहरी सेवाबाट अवकाश पाए । लागुऔषध दुव्र्यसनीको क्षेत्रमा काम गरेको नसा भने सिद्धिएको थिएन । ‘जानेको त्यही थियो, त्यही गर्ने निधो गरियो,’ उनले भनिन् । भएन, केही सिक्नु पनि पर्‍यो भनेर पूजाले श्रीलंकामा कोलम्बो प्लानअन्तर्गत थेराप्युटिकल कम्युनिटी एप्रोच ट्रेनिङ पनि गरिन् । भारतमा प्रहरी महानिरीक्षक किरण वेदीले चलाएको नवज्योति सेन्टर अवलोकन गर्न बुढाबुढी नै गए ।

यसै क्रममा उनीहरूको सम्पर्क अमेरिकाको नार्कोनन भन्ने संस्थासँग भयो । जोसँग दुव्र्यसनीहरूलाई बाहिर निकाल्ने प्रभावकारी कार्यक्रम थियो । नार्कोनन पद्धति नेपालमा लागू गर्न उनीहरूलाई निकै कठिन भयो । पूजा अस्ट्रेलिया, बेलायत, अमेरिकामा पुगेर अध्ययन गरिन् । त्यहाँका दुव्र्यसन केन्द्रहरूमा रहेर तालिम गरिन् ।

उताबाट फर्केर पत्रिकामा ‘घरमा कोही लागुऔषध प्रयोगकर्ता छन् भने, त्यस्तो समस्या भए सम्पर्क गर्नुहोस्’ भनेर विज्ञापन दिए । धेरै मानिस सम्पर्कमा आए । तीमध्ये तीनजना महिलाले आफ्ना छोराहरू रिह्याबमै राख्न चाहेको बताए । प्रतिज्ञा फाउन्डेसन जन्मियो । अमेरिकी संस्था नार्कोननका प्रतिनिधिले सम्पर्क गरे । संस्थाले नार्कोनन विधिमार्फत लागुऔषध प्रयोगकर्तालाई उपचार गर्ने पद्धति सिकायो ।

पूजालाई बेलायतमा ६ महिनाको तालिम नै दिन बोलायो । त्यसपछि अस्ट्रेलिया गएर नार्कोननको थप कोर्स गरिन् । आज उनीसँग नार्कोननको लाइसेन्स छ, नार्कोननले ककनीमा दक्षिण एसिया क्षेत्रकै ठूलो तालिम केन्द्र बनाइदिएको छ । जहाँबाट हाल ६५ जना लागुऔषध प्रयोगकर्ताले उपचार लिइरहेका छन् ।

१० वर्षमा तीन हजारभन्दा बढीले उपचार लिएको पनि उनले बताइन् । भर्खरका युवा–युवतीलाई दुव्र्यसनमुक्त गराएर सही दिशा देखाउँदा ठूलो सन्तुष्टि प्राप्त हुने उनले बताइन् ।

‘ती युवा–युवतीको आमाबुबाको दुःख, पीडा र आँसु देखेपछि आफ्नै छुट्टै सुधारगृह खोल्न प्रेरित गर्‍यो,’ उनले भनिन् । देशका सयौँ विद्यालयमा पुगेर नार्कोनन नेपालले विद्यार्थीलाई जनचेतना जगाएको उनले बताइन् । ‘अवस्था भयावह बन्दै छ, तर हामीकहाँ सरोकारवाला निकायको चासो अझै पुगिसकेको छैन,’ उनले चिन्ता गरिन् । आजको नयाँ पत्रिकामा साभार गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्