नेपाली भाषाको ११०० वर्षको ईतिहास



१८ भदौ २०७५, काठमाडौं

नेपाली भाषाको विकासका सन्दर्भमा देखिएको भाषिक सूचना र ऐतिहासिक घटनाक्रमले निर्धारित गरेका विभिन्न ऐतिहासिक परिस्थितिका आधारमा नेपाली भाषाको इतिहासको रूपरेखाको तथ्यको चिनारी पाठकहरूलाई गराउन ऐतिहासिक अभिलेखीय नेपाली भाषा र व्याकरण बारे लामो अनुसन्धानमा संलग्न रहेका त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. विदुर चालिसेसँग परिवर्तन खवरका प्रबन्ध सम्पादक अजय वाणप्रस्थीले लिएको अन्तर्वार्ता को मुख्य अंश :

अजय वाणप्रस्थी : ऐतिहासिक नेपाली भाषाको अध्ययन बारे प्रारम्भका अध्ययनका अवस्थाहरू कस्ता थिए  ?

डा.विदुर चालिसे : नेपाली भाषा भारोपेली परिवारको भारत–इरानेलीको शतम् वर्गमा पर्दछ । आधुनिक भारतीय आर्यभाषाको अहिलेसम्म पाइएको सबभन्दा पुरानो नमूना चन्दवरदाईको ‘पृथ्वीराज राउस (ई.दशौं शताब्दी)’ लाई जोन बिम्जले मानेको पाइन्छ । नवौं/दशौं शताब्दीमा बौद्धहरूले चाहिं आफ्ना अभिलेखहरू लोक भाषामा लेख्ने र ब्राह्मणहरूले चाहिं आफ्ना अभिलेखहरू संस्कृत भाषामा लेख्ने चलन  बसेको थियो ।

आधुनिक भारतीय आर्यभाषाको समय दशौं शताब्दीपछि विकास भएको तथ्यलाई भारतीय संस्कृतिविद् सुनीतिकुमार चटर्जीले स्वीकार गरेका छन् । उनकाअनुसार मराठी, हिन्दी तथा गुजराती भाषाको जन्म दशौं शताब्दीमा भएको भन्ने तर्कलाई अगाडि सारेको देखिन्छ । आर्यहरू भारत प्रवेश गर्दा उनीहरूले प्रयोग गरेको भारत–इरानेलीअन्तर्गतको संस्कृत भाषाबाट यी भाषाहरूको विकास भएको तथ्यलाई कोलिन पि. मासिकाले समेत उल्लेख गरेका छन् ।

मासिकाकाअनुसार संस्कृतबाट प्राचीन भारतीय आर्यभाषा विस्तारै मध्यकालीन भारतीय आर्यभाषाका रूपमा विकसित हुँदा प्राकृत र अपभ्रंश हुन पुगे भने नेपाली, हिन्दी, बंगाली, आसामी, पञ्जावी तथा मराठी आदि भाषाहरू मध्यकालीन प्राकृत र अपभ्रंशबाट विकसित भएर आधुनिक आर्यभाषाका रूपमा देखापरे भन्ने तर्क गरेको भेटिन्छ ।

उनले भारत–इरानेली वर्गका आर्यभाषाहरू भारतवर्षमा प्रवेश गरेको उल्लेख गरेका छन् भने ती भाषाहरूलाई बिभिन्न कालखण्डमा भारतीय आर्यभाषाका रूपमा  प्राचीन भारतीय आर्यभाषा-ईसापूर्व १५०० देखि ईसापूर्व ५०० सम्म (वैदिक संस्कृत भाषा) विकास भएको, मध्यकालीन भारतीय आर्यभाषा-ईसाापूर्व ५०१ देखि ई.सन् १००० सम्म(प्राकृत, पाली र अपभ्रंश भाषा) भएको र आधुनिक भारतीय आर्यभाषा-ई.सन् १००१ देखि हालसम्म(हिन्दी, वंगाली, नेपाली आदि भाषाहरू) विकास भएको उल्लेख छ ।

दिनेशचन्द्र सरकारकाअनुसार दशौं शताब्दीतिर नेपाली भाषाको विकास भएको कुरा पनि अगाडि आएको अनि भारतीय आर्य भाषामध्ये सबभन्दा पुरानो अभिलेख मराठी भाषाको ई.९७४ मा भेटिएको हो भन्ने तर्क रहेको छ । उनकाअनुसार प्राकृत, पाली, अपभ्रंशबाट फट्को मारेर हिन्दी, गुज्राती, मराठी तथा वंगाली भाषाको विकासको क्रमसँगै नेपाली भाषाको पनि जन्म दशौं शताब्दीतिरै भएको मानिएको छ ।

अजय वाणप्रस्थी : ऐतिहासिक नेपाली भाषाको अध्ययनका सन्दर्भमा नेपाली विज्ञहरूको संलग्नता थिएन र ?

डा.विदुर चालिसे : थियो, तर धेरै पछि मात्रै ऐतिहासिक नेपाली भाषाको गहन अध्ययनको चेत नेपाली मूलका अध्येताहरूमा खुलेको थियो । अभिलेखीय नेपाली भाषामा रहेका आधिकारिक भाषा व्याकरणहरूको तथ्यलाई खोतल्ने कार्य भाषा वैज्ञानिक बालकृष्ण पोखरेलले गरेको पाइन्छ ।

अजय वाणप्रस्थी : अभिलेखीय नेपाली भाषाको प्राप्त तथ्यहरूले कुन भाषा परिवारसँग कस्तो सम्बन्ध देखाएको छ ?

डा.विदुर चालिसे : नेपाली भाषा वैज्ञानिक बालकृष्ण पोखरेलकाअनुसार नेपाली भाषा उदीच्यबाट विकसित भएको उल्लेख गरेका छन् । नेपाली भाषाको प्रामाणिक इतिहासका सन्दर्भमा ब्रतराज आचार्यले चौधौं शताब्दीबाट थालिएको सन्दर्भ कोट्याएका छन् । उनकैअनुसार आधुनिक भारतीय आर्य भाषाको विकास एघारौं शताब्दीबाट थालिएको मानिए तापनि सैद्धान्तिक रूपमा नेपाली भाषाको उद्भव पनि सोही अवधिबाटै मान्न सकिने धारणा प्रकट गर्दै प्राचीन नेपाली भाषाको समयको सीमा निर्धारण भएको तर्क गरेका छन् ।

तर नेपाली भाषा विकास हुनमा सूर्यमणि अधिकारीले भिन्न तर्क राख्दै तत्कालीन सिंजाली भाषाको विकासमा वाल्हिकी भाषाको ठूलो भूमिका रहेको कुरा स्वीकार गरेका छन् । उनकाअनुसार वाल्हिकीबाट खसभाषा विकास हुँदा पैशाची तथा दरदीको समेत विकाससँगसँगै भइसकेको थियो र सो साथसाथै खसअन्तर्गत रहेको पश्चिमी पहाडी भाषाहरू, मध्यपहाडी भाषाहरू(कुमाउनी र गड्वाल) तथा पूर्वी पहाडी (सिंजाली) भाषाको विकास भइरहेको थियो भन्ने उल्लेख गरेका छन् ।

तर्कहरू जेजस्ता भए पनि सिंजाली भाषाको कथ्य स्वरूपको विकासको समय निर्धारणका सन्दर्भ भने एघारौं शताब्दीदेखि नै मानेको पाइन्छ ।

अजय वाणप्रस्थी : संक्रमणकालीन अवस्थामा नेपाली भाषाको रूपमा रहेको सिंजाली भाषामा के कस्ता परिवर्तनहरू थिए  ?

डा.विदुर चालिसे : हरेक समयमा भाषा परिवर्तनका अवस्थामा स्वत: संक्रमणशील रहन्छन् र त भाषा गतिशील पनि हुन्छन् । त्यस्तो संक्रमणकालीन बेलामा, भौगोलिक अवस्था, ध्वनिमा देखापर्ने विविधता, समभाषिक प्रवृतिहरू, उच्चारणका तौरतरिका, शब्दनिर्माणका सन्दर्भमा देखापर्ने चरित्र र अर्थमा देखिने समानता र भिन्नताका साथै बुझाउने र बुझ्ने बीचको भाषिक संचार व्यवस्थाले भाषाको स्थीरतालाई स्थापित् गर्नेहुँदा एघारौं शताब्दीको शुरूवात्सँगसँगै नेपाली भाषाको कथ्य परम्पराको विकास भएको देखिन्छ ।

यसैलाई प्राचीन अभिलेख कालमा खस अधिराज्यको राजधानी जुम्लामा रहेको सिंजा उपत्यकाको नामले सिंजाली भाषाको रूपमा पुकारेको देखिन्छ ।

अजय वाणप्रस्थी :   संक्रमणकालीन अवस्थामा सिंजाली भाषाको काल विभाजनको किटानी के कस्ता थिए  ?

डा.विदुर चालिसे : लेख्य नेपाली(सिंजाली) भाषाको किटानीसाथ कालविभाजन गर्ने पहिलो प्रयास सम्भवत् श्री दयानन्द श्रीवास्तवले गरेको पाइन्छ । उनले भाषिक प्रवृत्तिहरूको चर्चा विना नै ई.१३०० देखि ई.१६७० सम्मको अवधिलाई प्राचीन नेपाली भाषाको समयका रूपमा चर्चा गरेको देखिन्छ ।

त्यस्तै बालकृष्ण पोखरेलले पाँचसय वर्षमा सङ्कलित प्राचीन तथा मध्यकालीन नेपाली भाषामा लेखिएका सामग्रीहरूलाई तीन खण्डमा शब्दार्थसहित परिभाषित गर्दै ई.१३३६ देखि ई.१६०४ सम्मको अवधिलाई प्रथम खण्डका रूपमा मानेका छन् । तथापि यो बर्गीकरण भाषिक परिवर्तन, राज्य विभाजनका तीव्र अवस्था र व्याकरणमा देखापरेको विस्तृत घटनाक्रमलाईलाई आधार मानेर गरिएको बर्गीकरण नभै ऐतिहासिक अभिलेख प्रकाशित गर्ने केही तथ्य र घटनाक्रमलाई आधार मानीे बर्गीकरण गरिएको छ भने उनले नै भाषिक परिवर्तनलाई आधार मानेर पछि राष्ट्रभाषामा नेपाली भाषाको ऐतिहासिक बर्गीकरण गरेका पनि छन् ।

उनले एघारौंं शताब्दीदेखि सोह्रौ शताब्दीसम्मको अवधिलाई प्राचीनकाल मानेका छन् । पोखरेलले भाषिक प्रवृत्तिहरूको विश्लेषण भने गरेको पाइदंैन । यसमा बर्गीकरणको समयगत त्रुटी तथा प्राचीनकालको अन्त्य र मध्यकालको प्रारम्भ दुवै एउटै समयमा उल्लेख गरिएको हुँदा दोहोरो गणना हुन गएको समेत देखिन्छ ।

चूडामणि बन्धुले “नेपाली भाषाको उत्पत्ति”मा पोखरेलको बर्गीकरणलाई आधार माने तापनि दोहोरो गणनालाई सुधार गरेर प्राचीनकालको समयसीमा एघारौं शताब्दीदेखि पन्ध्रौं शताब्दीसम्म उल्लेख गरेका छन् । त्यस्तै बन्धुकै कर्णाली लोक संस्कृति, खण्ड–४ मा भने अर्कै तरिकाको निष्कर्ष निकालिएको पाइन्छ । भाषा कालक्रम विज्ञानको सैद्धान्तिक स्थापनाका आधारमा केन्द्रीय भाषिका र पूर्वीय भाषिकाका आधारभूत एक सयवटा विशेष शब्दहरूको गणनाका आधारमा कालक्रम वैज्ञानिक तथ्य प्रस्तुत गरेको देखिन्छ । बन्धुको उक्त निष्कर्षअनुसार प्राचीन तथा मध्यकालीन अवस्थामा रहेका दुई भाषिका आपसमा विभाजन हुन थालेको समय पन्ध्रौं शताब्दीतिर हो भन्ने निष्कर्ष दिंदै यही समय नै मूलत: प्राचीनकालको अन्तिम समयसीमा मानेका छन् ।

वल्लभमणि दाहालले आफ्नो विद्यावारिधि शोधग्रन्थमा प्राचीनकालको समयसीमा ईसाको एघारौंं शताब्दीदेखि सोह्रौ शताब्दीको मध्यसम्म मानेको पाइन्छ तापनि दाहालकै विचारमा ‘वाङ्मय’ मा प्रकाशित एक लेखमा मध्ययुगको प्रारम्भ वि.सं. १४५०(ई.१३९३)बाट भएको मानेको देखिन्छ । किनकि वि.सं. १४५०(ई.१३९३)को सेरोफेरो एकछत्र खस अधिराज्य विभाजनको चर्को अवस्थामा थियो । तसर्थ दाहालले भाषिक प्रवृत्तिका आधारमा भन्दा ऐतिहासिक राज्य गठन–विगठनको आधारमा वि.सं. १४५० उल्लेख गरेको हुनसक्छ ।

त्यस्तै देवीप्रसाद गौतमले पनि प्राचीनकालको समयावधि  प्रारम्भदेखि बाइसी चौबिसी राज्यको उदयसम्म मानेको पाइन्छ । त्यस्तै सूर्यमणि अधिकारीले भने नेपाली भाषाको समय निर्धारण ऐतिहासिक घटना र भाषिक पुरातŒवको आधारमा नेपाली भाषाको काल बिभाजन गर्दै वि.सं. ११५० देखि १४५० सम्मको समयलाई प्राचीन भाषाको रूपमा ‘सिंजाली’ भाषालाई मानेका छन् । त्यही ‘सिंजाली’ भाषा वर्तमान नेपाली भाषा हो ।

अजय वाणप्रस्थी :   सिंजाली भाषामा कस्ता कस्ता व्याकरणिक रुपहरु देखापरेका थिए  ?

डा.विदुर चालिसे : ईंशाको एघारौं शताव्दीबाट ईसाको चौधौं शताब्दीको अन्त्यसम्मलाई प्राचीनकालको रुपमा तथ्यहरुका आधारमा मान्नुपर्ने हुन्छ । नागराजले स्थापना गरेको दशौं शताब्दीतिरको जुम्लाराज्य र त्यहाँबाट विकसित समाज भाषाका प्रयत्नहरु सिंजाली खसराज्यको विगठन र केही साना राज्यहरुको पुर्नगठनलाई मानिन्छ ।

खसराज्यको विघटनपछि प्राचीन अवस्थाका मानक भाषिक रूपका सट्टामा स्थानीय बोलीचालीका भाषिक रूप लेखनमा प्रयुक्त हुन थालेका कारण भाषिक परिर्वतनमा स्पष्टत: विविध लक्ष्यणहरू देखापरेको निष्कर्ष निस्कन्छ :

सिंजाली भाषाको समय र त्यसभन्दा पूर्व ‘करि’ असमापिका क्रियाका स्थानमा पछिल्लो समयमा ‘गरि’ को प्रयोग गरी ध्वनि-परिवर्तनका दृष्टिले आधारभूत समभाषिक सीमारेखा निर्धारित हुनपुगेको देखिन्छ । आधुनिक नेपाली विभक्ति प्रत्यय ‘लाई’, ‘ले’ र ‘देखि’ को प्रयोेग अभिलेखीय नेपाली भाषाको प्रयोगमा स्पष्ट देखिएकाले सिंजाली भाषाको व्याकणिक रुपहरु विकसित हुँदै आएको देखिन्छ ।

अजय वाणप्रस्थी :   सिंजाली भाषा कुन भाषिक परिवारसँग सम्बन्धित छ  ?

डा.विदुर चालिसे : सुनितीकुमार चटर्जीले यसै परिवारको एक शाखा ‘भारत–ईरानी’(ई.पू.२०००)को आसपासमा मेरोपेटामियासम्म व्यापक भएको थियो र यसै शाखाको उपशाखाअन्तर्गत  आर्यहरूको एक प्रारम्भिक समूह ई.पू.१५०० को आसपास पञ्जाबसम्म आएको थियो भन्ने उल्लेख गरेको पाइन्छ । मासिकाले पनि भारतीय आर्यभाषालाई भाषिक दृष्टिकोणले तीन भागमा विभाजन गर्दै प्राचीन भारतीय आर्य भाषाको विकास ई.पू.१५०० सम्म, मध्यकालीन भारतीय आर्य भाषाको विकास ई.पू.६०० सम्म तथा आधुनिक आर्यभाषाको विकास ई.सन् १००० सम्म भइसकेको तथ्य उल्लेख गरेका छन् ।

चटर्जी तथा मासिका दुवैको अध्ययनमा आर्यहरू जब भारतवर्षमा आए तब त्यसै वखत उनीहरूले बोल्दै आएको संस्कृत भाषा थियो । यही संस्कृत भाषा प्राकृत तथा अपभ्रंश भाषाको रूपमा विस्तारै विकसित रह्यो । तत्पश्चात आधुनिक भारतीय आर्य भाषाको रूपमा विकास भयो भन्ने छ ।

संस्कृत भाषा ई.पू.१५०० सम्म बोलचालको भाषाको रूपमा रहेको थियो । यस अवधिमा संस्कृत भाषाको समान रूपले प्रयोग भइरहेको थिएन । तसर्थ ई.पू. १००० सम्म वैदिक संस्कृतको युग थियो । यसै समयमा ऋग्वेद, यजुर्वेद, सामवेद तथा अथर्ववेदलगायत् विभिन्न ब्राह्मण ग्रन्थ तथा उपनिषद्को रचना भयो ।

तत्पश्चात यसपछि लौकिक संस्कृतको युग आयो । लौकिक संस्कृत युगमा ‘रामायण’ तथा ‘महाभारत’ जस्ता आर्यसंस्कृतिको आधार–ग्रन्थको रचना भयो भने पाणिनीले यसै लौकिक संस्कृतका आधारमा विस्तृत व्याकरण ग्रन्थ ‘अष्टाध्यायी’ को रचना गरेको भेटिन्छ । संस्कृत भाषाको लिखित रूप एउटै जस्तो भए तापनि कथ्यका रूपहरू विभिन्न प्रकारले प्रयोग भएको प्रमाण ब्राह्मण ग्रन्थहरूमा पाइन्छ । सुनितीकुमार चतर्जी तथा कोलिन पि. मासिकालगायत् थुप्रै विद्वान्हरूले संस्कृतको तीन प्रमुख कथ्यभेदलाई स्वीकार गर्दै उदीच्य, मध्यदेशीय तथा प्राच्य गरी भाषिक विभाजन गरेको र उदीच्य संस्कृत विशाल भारतको पश्चिमी सीमादेखि लिएर उत्तरी पञ्जावसम्म बोलिने कुरालाई उल्लेख गरेका छन् ।

उनीहरूकाअनुसार पाणिनीको व्याकरण मूलत यसै उदीच्य संस्कृतमा आधारित रहेको कुरा पनि उल्लेख छ । प्राच्य संस्कृत अवधदेखि पूर्व, उडीसादेखि आसामसम्म बोेलिने कुरा उल्लेख गरिएको छ । यस भाषामा स्थानीय भाषाको प्रसस्त प्रभाव रहेकोले मध्यदेशीय संस्कृत भाषा यी दुवै भाषाको मध्यभाग(अवधदेखि पश्चिमपूर्वी राजस्थान तथा महाराष्ट्र)सम्म प्रचलित रहेको थियो ।

सिंजाली(नेपाली) भाषा संभवत् उदीच्य संस्कृतसँग सम्बन्धित छ । संस्कृत भाषा ई.पू. ५०० पछि बोलचालको भाषाका रूपमा मात्र सिमित रहेन । यस भाषा विभिन्न क्षेत्रीय प्राकृत भाषाको रूपमा विकसित भयो । प्राकृत भाषाको युुग ई.पू. ५०० सम्म मानिएको भए तापनि प्राकृत युगलाई दुई चरणमा विभाजित गरेको पाइन्छ । मासिकाकाअनुसार ई.पू.५०१ देखि ईसाको प्रारम्भसम्म पाली तथा अशोकको प्राकृत भाषाको युग र त्यसपछि साहित्यिक प्राकृत युगको रूपमा विभाजित गरिएको छ । पाली तथा प्राकृत बुद्धका उपदेशहरूको भाषा थियो । यस भाषालाई विद्वान्हरूले अर्धमागधी भाषाको पूर्व रूपका अर्थमा पनि लिने गरेको पाइन्छ । तापनि पाली भाषाको व्याकरणिक संरचना मध्यदेशीय प्राकृत भाषाको नजिक मिल्न जान्छ भने यी भाषाहरूको शिलालेख भारतवर्षमा पाइन्छ ।

भारतवर्षको  विभिन्न स्थानमा पाइएका विभिन्न शिलालेखहरूलाई तीन भागमा विभाजन गरेर प्राकृत भाषालाई हेरिन्छ । जसमध्ये प्राकृत भाषाका शाहवाजगढी तथा मानसेराका अभिलेखहरूलाई उत्तरपश्चिमी वर्गमा रहेको मानिन्छ भने गिरनार तथा कालसीका शिलालेखहरूलाई मध्यदेशीय वर्गमा रहेको मानिन्छन् । त्यसैगरी भाबू्र, रामपूरवा तथा सारनाथका अभिलेखहरूलाई प्राच्य वर्गमा रहेको मानिन्छ  ।

साहित्यिक प्राकृत भाषाको समयमा मागधी, अर्धमागधी, शौरसेनी, तथा महाराष्ट्री प्राकृत भाषाको विकास भयो । यस समयमा नै मागधी प्राकृत भाषा विहार, असम, बङ्गाल, उडीसा, तथा बंङ्गलादेशमा बोलिन्थ्यो र अर्धमागधी प्राकृत उत्तर–पूर्वी उत्तरप्रदेश तथा पूर्वी मध्यप्रदेशमा बोलिन्थ्यो ।

यस्तै शौरसेनी प्राकृत पश्चिमी उत्तरप्रदेश, दिल्ली, हरियाणा, राजस्थान तथा गुजरातमा बोलिन्थ्यो भने महाराष्ट्री प्राकृत महाराष्ट्र क्षेत्रमा बोलिन्थ्यो । प्राकृत व्याकरणमा यी चारै प्रकारका प्राकृत भाषाका साथै पैशाची भाषाको पनि उल्लेख गरिएको छ । प्राकृत भाषा भने विशाल भारतको पश्चिमोत्तर प्रदेश सिन्धुदेखि पञ्जावसम्म बोलिन्थ्यो । प्राकृत व्याकरणकार लक्ष्मीधरले पूर्ववर्ती वैयाकरणको मत मान्दै पैशाचीको क्षेत्र नेपालसम्म पनि फैलिएको मानेका छन् भने मार्कण्डेयले शौरसेनी भाषालाई अन्तरक्षेत्रीय भाषाको रूपमा स्वीकार गर्दै पैशाचीको एक भेदलाई शौरसेनी–पैशाचीको नाम दिइएको पनि पाइन्छ ।

जर्ज अब्राहम ग्रिर्यसनले भने नेपाली भाषाका मूलवक्ता दरद मूलको रहेको बताएका छन् । उनकाअनुसार यी वक्ताहरूको भाषा प्राकृत कालमा राजपूतहरूको बोलीद्वारा प्रभावित रहेको पनि उल्लेख गरेका छन् । आर. एल .टर्नरले चाहिँ ध्वनि-परिवर्तनको प्रक्रियाका आधारमा नेपाली भाषाको विकास मध्यदेशीय भाषाबाट भन्दा उत्तरपश्चिमी खण्डका भाषाबाट नजिक रही विकास भएको मानेका छन् । सुनितीकुमार चटर्जीले पहाडी समुदायका सिन्धी तथा पञ्जावी भाषाहरू उदीच्य वर्गमा पर्ने कुरा उल्लेख गरेको पाइन्छ ।

बालकृष्ण पोखरेलले भने ‘खस’ वा ‘शक’ जातिको प्राचीन नाम ‘शोलोक’ वा ‘सोकोल’ लाई भारतीय रूपान्तरणमा ‘चूलिका’ वा ‘शूलिका’ भनिन्छ र यसलाई प्राकृत व्याकरणमा उल्लेखित ‘चूलिका’बाट पैशाची हुँदै नेपाली भाषाको सम्बन्ध स्थापित भएको कुरा उल्लेख छ । सम्भवत् : नेपाली भाषा जब पूर्वतिर प्रचारप्रसार हुने क्रममा अगाडि बढ्यो त्यतिबेला उनीहरूको भाषा शौरसेनी प्राकृत तथा उसका परवर्ती भाषिक रूपबाट प्रभावित भई अगाडि बढ्यो ।

अपभ्रंश भाषाको समय सन् ५००(वि.सं.५५७) देखि सन् १०००(वि.सं.१०५७) सम्म। ऋ देखिन्छ । अपभ्रंश भाषाको वर्णन संस्कृत तथा प्राकृत भाषाको जस्तो समान रूपमा पाइँदैन । अपभ्रंश भाषा पश्चिमी वा शौरसेनी भाषाको लिखित रूपका आधारमा मध्यदेशीय बोलीपछि शौरसेनी प्राकृत भयो र स्थानीय बोलीचालीको प्रभावको कारण अन्य भाषिक क्षेत्रहरूको निर्माण भयो भन्ने उल्लेख छ ।

तर भोलानाथ तिवारीले पहाडी वर्गका भाषालाई पश्चिमी शौरसेनीसँग जोडेका छन् । यो धारणा जर्ज अब्राहम ग्रियर्सन तथा सुनितीकुमार चटर्जीको धारणासँग नजिक देखिन्छ ।

मासिकाको तर्कलाई ब्र्र्रतराज आचार्यले पनि आफ्नो धारणाको नजिक राखेको पाइन्छ । पहाडी वर्गका भाषामा पाइने संरचनात्मक सम्बन्ध तथा त्यहाँको पुरै प्रदेशमा बसोबास गरेका खस जातिको बाहुल्यताका कारण अपभ्रंशकालीन नाम ‘खस–अपभ्रंश’ रहनु ठीकै उल्लेख गर्दै प्राचीन ग्रन्थ तथा उधोतन सूरीले अठार प्रकारका देशी ‘अपभ्रंश–भाषा’ रहेको उल्लेख गर्ने क्रममा ‘खस–अपभ्रंश’ को पनि उल्लेख गरेका छन् भन्ने भनाई उनको रहेको छ ।

तसर्थ सिंजाली भाषा भारोपेली भाषा परिवारको एक शाखाको रूपमा रहँदै आएको कुरा प्रमाणित भइसकेको माथिका चर्चाहरुबाट प्रमाणित हुन्छ । एघारौं शताब्दीतिर देखिको सिंजाली भाषा नै आजको नेपालको नेपाली भाषा हो ।

प्रतिक्रिया दिनुहोस्