नायक आर्यन सिग्देल निर्मित चलचित्र कायराको ट्रेलर रिलिज



११ असार, २०७५, काठमाडौँ

चर्चित नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर फिल्म ‘कायरा’ को ट्रेलर रिलिज भएको छ । साउन १८ गतेलाई प्रदर्शन मिति तोकिएको फिल्मको ट्रेलरमा आर्यन र साम्राज्ञी बीचको प्रेम, रोमान्स र विछोड देखाइएको छ । यस फिल्मलाई अभिनेता आर्यन स्वयम्ले निर्माण गरेका हुन् ।

पहिलो पटक आर्यन र साम्राज्ञीको जोडी स्क्रिनमा देखिन लागेका कारण यो फिल्मप्रति दर्शकको चासो बढिरहेको छ । अभिनेता सिग्देलले ‘कायरा’ म्यूजिकल लभस्टोरी कथामा निर्माण भएको बताए । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै उनले भने ’कायरा’ लभस्टोरी फिल्म हो र यो अन्य फिल्मभन्दा भिन्न तरिकाले बनेको छ ।

अभिनेत्री साम्राज्ञी कथावस्तुका कारण आफू फिल्म गर्न राजी भएको बताउँछिन् । ‘कायरा’ का निर्देशक लक्ष्मण रिजाल हुन् । निर्देशक रिजाल आफूले उत्कृष्ट लभस्टोरी फिल्म बनाउन कुनै कसर बाँकी नराखेको र फिल्मले दर्शकलाई निराश नबनाउने ठोकुवा गर्छन् ।

फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय रहेको चलचित्रको छायांकन फिलिपिन्स र नेपालमा गरिएको हो ।

लगातार आफू अभिनीत फिल्म बक्सअफिसमा असफल हुन थालेपछि आर्यनले आफ्नो करिअरमाथि उठाउन साम्राज्ञीलाई जोडीको रुपमा चुनेको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्