समग्रमा यो सन्तुलित र चलाखीपूर्ण ढंगले ल्याइएको बजेट हो : पूर्व अर्थसचिव खनाल



१७ जेठ २०७५, भोजपुर

सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा प्रस्तुत गरेको आर्थिक बर्ष २०७५/७६ को बजेटको विषयमा पूर्व अर्थसचिव रामेश्वर खनालको धारणा यस्तो छ ।

खनाल भन्छन, ‘समग्रमा यो सन्तुलित बजेट हो । यो चलाखीपूर्ण ढंगले ल्याइएको बजेट पनि हो ।  किनभने निर्वाचनको पहिलो, दोस्रो र तेस्रो वर्ष वित्तीय सन्तुलन कायम गर्न सकियो भने विदेशी लगानीकर्ता बढ्छन् । विदेशी लगानी पनि बढ्छ ।  विदेशी लगानी बढेपछि रोजगारीको सिर्जना पनि हुन्छ । विदेशी लगानीकर्ताले सबै भन्दा पहिला वित्तीय सन्तुलन ठिक छ कि छैन भनेर हेर्छ । वित्तीय सन्तुलन ठिक छैन भने आफूले लगानी गरेको प्रतिफल लैजान पाइदैन कि भनेर विदेशी मुद्राको संकट भयो भने समस्या होला  कि भनेर सोच्छ ।

वर्तमान अर्थमन्त्रीज्युले पनि यो कुराको हेक्का राख्नुभयो । यो सरकार पाँच वर्ष टिक्छ भन्ने प्रशस्त आधार छन् । उहाँले त्यही आधारमा काम गर्नुभयो । ‘हामी पाँच वर्ष टिक्छौँ त्यसैले तीन वर्ष जहाँबाट भए पनि लगानी भित्र्याउनका लागि सन्तुलित बजेट बनाऔं । यो तीन वर्षमा तीव्र गतिमा आर्थिक वृद्धि भयो भने राजस्व पनि राम्रो हुन्छ । सकारको ‘फिस्कल स्पेस’ पनि बढ्दै जान्छ अनि चौथो र पाँचौ वर्ष ती दुई वर्ष निर्वाचनका वर्ष पनि हुन् । ती दुई वर्षमा लोकप्रिय बजेट ल्यायो भने ती चुनाव पनि जितिन्छ’ भनेर उहाँले रणनीतिक बजेट ल्याउनु भएको हो ।

सत्ताधारी दलका पनि कतिपय नेताले यो कुरा नबुझेर आलोचना गरेका छन् । यो बजेटमा सुन्दै आनन्द लाग्ने खालका बजेट अर्थमन्त्रीले ल्याएन अर्थमन्त्री कन्जुस भयो भन्ने खालका टिप्पणी आएका छन् । यो गलत छ । अर्थमन्त्रीज्युले बढो रणनीतिक र चर्तुर्यायी ढंगले पाँच वर्ष मात्र होइन कि अर्को दश वर्ष पनि यो दललाई बुहमत दिलाउने ढंगले बजेट ल्याउनु भएको छ । उहाँले वित्तीय सन्तुलन मिलाएर बजेट ल्याउनु भएको छ । यसले देशलाई लाभ पुग्छ । उहाँहरुको दललाई पनि लाभ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्