संघीय बजेटमा प्रदेश १ ले बढी प्राथमीकता पायो



१६ जेठ २०७५, इटहरी

संघीय सरकारले सार्वजनिक गरेको बजेटमा प्रदेश नं. १ पहिलो प्राथमिकतामा परेको छ । विकासको दृष्टिले दोस्रो विकसित प्रदेशको रुपमा रहेको प्रदेश १ संघीय बजेटको पहिलो नम्बरमा परेको हो ।

संघीय संसदका दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार पेश गरेको बजेटमा प्रदेश १ ले वित्तीय समानीकरण अनुदान अन्तर्गत ६ अर्ब ६१ करोड र सशर्त अनुदानतर्फ १३ अर्ब २७ करोड गरी जम्मा १९ अर्ब ८८ करोड बजेट पाएको छ ।

प्रदेश नं. १ का ५ ठुला आयोजना समेत संघीय संसदको बजेटमा समावेश भएका छन् । बिराटनगरको रानीदेखि संखुवासभाको किमाथाङ्का ६ लेन सडक संघीय बजेटमा परेको छ । हाल निर्माण भईरहेको उक्त सडक बजेट अभावका कारण सुस्त गतिमा निर्माण हुँदै आएको थियो । त्यस्तै बिराटनगरमा रहेको बिराटनगर बिमानस्थल समेत संघीय बजेटमा परेको छ । संघीय बजेट विवरण प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले बिराटनगर बिमानस्थललाई क्षेत्रीय बिमानस्थलको रुपमा विकास गरी प्रदेश १ का सबै विमानस्थलसँग सिधा सम्पर्क सँगै छिमेकी मुलुकसँग समन्वय गरी अन्तरराष्ट्रिय उडान समेत गरिने घोषणा गरेका छन् ।

संघीय बजेटमा झापादेखि कञ्चनपुरसम्म निर्माण गरिने मदन भण्डारी भित्री राजमार्ग पनि परेको छ । उक्त राजमार्ग निर्माणका लागी ४ अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन भएको छ । यो आयोजना अन्तरगत धरान–चतारा–सिन्धुली–हेटांैडा सडक २ खण्डमा निर्माण भईरहेको छ । तमोर तथा कन्काई जलविद्युत् आयोजना समेत संघीय बजेटमा समावेश भएको छ । २०७५ देखी २०८५ सम्मलाई उर्जादशकको रुपमा घोषणा गरेको सरकारले प्रदेश १ मा निर्माण हुँदै गरेका ठुला दुई जलबिद्युत् आयोजनालाई संघीय बजेटमा समाबेश गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्