प्रभुको प्रार्थना !



काठमाडौं, २७ वैशाख

हजुर आउँदा के हुँदैन?
सडकको अनुहारमा पिच्च पान थुकेर,
देशको अनुहारमा हेरेर निच्च हाँस्नेहरु
हजुरको पाउमा धुलो नलागोस् भनेर
धोती टोपी फुकालेर तयार छौँ
आएर त हेर्नुहोस्!

धुलाम्मे बाटाहरु पलभरमै चिल्ला भएका छन्
हिलाम्मे चौरहरु क्षणभरमै सुक्खा भएका छन्
बर्षौदेखि बेरङ्ग भित्ताहरु
एकै निमेषमा इन्द्रेणीझैँ मुस्कुराएका छन्
हजुर आउँदा त देउता पनि रातो कार्पेट ओछ्याएर
हेलिप्याडमै कुरिबस्नेछन्!
त्यसैले प्रभु, बिलम्ब नगरि आइदिनुस्!

साँढे दुईघण्टासम्म दिक्दार बनाउने भिलेन
अन्तिम पाँच मिनेटमा एकाएक हिरो भएजसरि
फिलिमको हिरो भएर आउनुहोस्
हामी आँखा पगालेर हुरुक्क हुनेगरि सिटि फुक्न तयार छौँ!
ढुंगै ढुंगाले हिर्काएर लखेटेको कुकुरलाई
एउटा बिस्कुट फुत्त फ्याँकेर हेर्नुहोस्
हामी पुच्छर हल्लाउन तयार छौँ!

ग्याँस रोकिएको इतिहास झुटो हो
झुटो हो औसधि रोकिएको खबर
अक्सिजन नपाएर कोहि मरेका थिएनन् प्रभु
ती त सास फेर्न बिर्सिएर मरेका थे
हजुर त परारै आउनुपर्थ्यो
अभिनन्दन गर्नेहरुको लाइन
सिंहदरबार अगाडी चाक फर्काएर
पेट्रोलपम्प अघि कुरिबसेकाथे!

दुई दिनको जिन्दगीमा
दुई दिनलाई भनेर हजुर आउनलाग्दा
यहाँ केके केके भैसक्यो
झन् एकबारको जुनीमा
हजुर बार बार आइदिए त
झनै के के पो हुने थियो!

सराप्दा सत्ता पाइने
जय गान गर्दा सत्ता टिक्ने
हजुर प्रतापी भूपति हो
हामी पशुको उद्धार गर्ने
हजुर स्वयम् पशुपति हो!

त्यसैले प्रभु,
लतार्नुस्, पछार्नुस्
ओछ्यानुस्, कुल्चिनुस्
हामी हजुरकै जुत्ता हौँ
खान दिनुस्, खान नदिनुस्
हजुरकै जयगान गाइरहने
हजुरकै पाल्तु कुत्ता हौँ!

(कवी सुरेश वादलको फेसबुकबाट)

प्रतिक्रिया दिनुहोस्