सुरेश राईको ‘सम्झनाको फोटोकपी’ सार्वजनिक



काठमाडौँ । सुरेश राईको पहिलो कृति कवितासङ्ग्रह ‘सम्झनाको फोटोकपी’ सार्वजनिक भएको छ । कौशलटारस्थित साहित्यपोस्टको कार्यालयमा आयोजित एका कार्यक्रमका बिच कृतिको विमोचन गरिएको हो ।

राईकी हजुरआमा टीकाहीरा राई, बुवा बुद्धिराज राई, फुपू रत्नहीरा राई तथा साहित्यपोस्टका सम्पादक अश्विनी कोइरालालगायतले पुस्तकको विमोचन गरेका हुन्र । कवि सुरेश भने हाल दक्षिण कोरियामा कार्यरत छन् ।

कार्यक्रममा राईकी दिदी सविता राई, बहिनी निशा थापा मगर, दाजु तेजकुमार राईलगायतले सङ्ग्रहबाट एक–एक थान कविता वाचन गर्नुका साथै सुरेशको लेखनप्रतिको झुकावमा बारेमा बोलेका पनि थिए । त्यस्तै, राईकी हजुरआमा, बुवा र फुपूले कवि राईको कृति सफलताका लागि आर्शीवाद व्यक्त गरेका थिए ।

साहित्यकार शरद् प्रधानले साहित्यपोस्टका नवपुस्ताका लेखक–साहित्यकारलाई पहिचान गरी प्रकाशन गर्दै आएको स्मरण गर्दै कवि राईलाई पुस्तकका लागि शुभकामना व्यक्त गरे ।

साहित्यपोस्ट प्रधानसम्पादक अश्विनी कोइरालाले राई कवि मात्र नभएर ‘संस्कारित कवि’ भएको उल्लेख गर्दै विमोचन समारोहको समापन गरेका थिए । कार्यक्रमको सञ्चालन कृष्ण ढुङ्गेलले गरेका थिए ।

पुस्तकलाई साहित्यपोस्टले प्रकाशनमा ल्याएको हो । ५३ शीर्षकका कविता सङ्ग्रहित कृतिको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्