सुनकेशरीले ट्रेन्डलाई ब्रेक गर्छ : अभिनेत्री ऋचा शर्मा



फिल्मी दुनियाँमा ‘गुमनाम’ भएको लख काटिँदै गर्दा ऋचा शर्मा निर्मात्रीका रूपमा उभिइन्, केही समयअघि ‘आधा लभ’मार्फत । आफैँले अभिनय गरेको ‘लुट–२’को प्रचारप्रसारमा उपस्थित नभएपछि उनीबारे अनेक अड्कलबाजी भएका थिए । यतिवेला भने ऋचा चर्चामा छिन्, फिल्मी इन्डस्ट्रीमा । त्यो चर्चा उनले निर्माण गरेको दोस्रो फिल्म ‘सुनकेशरी’ले दिलाएको हो । भूतप्रेतको कथावस्तुमा बनाइएको सुनकेशरीबारे ऋचा शर्मासँग शिवराज योगीले गरेको कुराकानी :

सुनकेशरीको कन्सेप्ट कहाँबाट आयो ?

हामी ‘आधा लभ’को सुटिङका लागि अस्ट्रेलियामा थियौँ । त्यहाँका केही दृश्यले मेरो दिमागमा क्लिक गरे । सोचेँ, अब मैले एक फरक विषयवस्तुमा फिल्म निर्माण गर्नुपर्छ ।

भूतप्रेतकै कथा बनाउने सोचचाहिँ कसरी आयो त ?

हेर्नुस्, नियमिततामा चल्नु कुनै नयाँ काम होइन । एउटाले जे गर्‍यो, अर्कोले पनि त्यही वा त्यस्तै शैलीको काम गर्नुपर्छ भन्ने छैन । मैले फरक शैली र स्वादलाई टिपेर पस्कन खोजेकी हुँ ।

सुनकेशरीमा के छ त्यस्तो, फिल्म उद्योग र दर्शकका लागि फरक स्वादको अनुभूति दिलाउने ?

भन्न त हरेकले आफूले गरेको काम फरक नै भन्छन् । तर, सुनकेशरीले फिल्म इन्डस्ट्रीमा नयाँ स्वाद पस्कने प्रयत्न गरेको छ । यसले फिल्ममा जारी ट्रेन्डलाई थोरै भए पनि ब्रेक गर्ने काम गर्नेछ ।

अहिलेको फिल्म निर्माण शैलीप्रति तपाईंको असहमति हो ?

असहमति होइन, मेरो प्रयत्न फरकपन पस्कने मात्र हो । अहिले फिल्म उद्योगमा लभ, एक्सन वा अपराध कथा मात्रै देख्न पाइन्छ । वा, भनौँ जुन शैलीको फिल्म चल्यो त्यसैलाई पछ्याउने प्रवृत्ति छ । मैले कथावस्तु, लोकेसन र स्वाद नै फरक पस्कने प्रयत्न गरेकी हुँ ।

त्यसका लागि भूतप्रेतकै कथा किन रोज्नुभयो ?

हलिउडले कम्तीमा बर्सेनि २०/२५ वटा हरर फिल्म निर्माण गर्छ । बलिउडमा त्योक्रम कम छ । हाम्रोमा त छँदै छैन । त्यसैले फिल्म भनेको मानिसका अनेक चाहनालाई सम्बोधन गर्ने खालका बन्नुपर्छ । अहिलेको पुस्ताले हररलाई निकै रुचाएको मैले पाएकी छु, त्यसका लागि हलिउडकै भर पर्नुपर्छ । र, त्यसलाई तोड्ने प्रयास हो मेरो ।

एक दिन एक राज, माला, झिग्रानाजस्ता केही हरर फिल्म त बनेका पनि छन्, नि ?

हो औँलामा गन्न पनि नपुग्ने बने । जुन चल्न सकेनन् ।

चल्न मुस्किल विषयवस्तुमा किन हात हाल्नुभयो त ?

जहाँ जोखिम हुँदैन, त्यहाँ काम गर्नुको के मजा ? काम गरेपछि जोखिम बहन गर्ने आँट गर्नु पनि नयाँ कुरा हो । मैले र भीम न्यौपाने दाइले त्यो रिक्स उठाउने आँट गर्‍यौँ ।

भूतप्रेत, बोक्सीजस्ता विषय आलोचित भइरहेका वेला यस्तै विषयवस्तु बनाउनु न्यायसंगत होला त ?

भूत, भगवान् वा अदृश्य शक्तिबारे हाम्रो समाजमा सानैदेखि भनियो, सुनियो । मानिस साँझपख एकान्तमा कुनै न कुनै तत्वबाट ‘डर’को अनुभूति गर्छ । हामीले त्यही डरको कथा यसमा समेटेका हौँ । बोक्सी, धामी, झाँक्रीको नाममा गरिने अमानवीय प्रचलनको त म कट्टर विरोधी हुँ । कैलालीको घोडाघोडीमा पछिल्लो समय राधा चौधरी बहिनीमाथि दुव्र्यवहार गर्नेलाई आजीवन सजायँ हुनुपर्छ भन्ने पक्षमा छु म । त्यस्तालाई दिइएको सजायँले अरूले पनि गर्ने आँट नगरुन्, म त्यो सोचकी व्यक्ति हुँ । सुनकेशरीले त्यस्ता विषयलाई प्रोत्साहन गर्दै गर्दैन ।

हरर फिल्म सुटिङ गर्दाको अनुभूति कस्तो हुँदोरहेछ ?

फिल्ममा म, अस्ट्रेलियन नागरिक लरेन लपुबर्ग, रवीन्द्र झा, सनी ढकाल मुख्य भूमिकामा छौँ । कतिपय स्टन्ड गर्दा त साँच्चै डरलाग्दा मात्र होइन, सामान्य अवस्थामा पनि क्षण–क्षणमा झस्काउने हुँदा रहेछन् ।

अस्ट्रेलियनले भूतप्रेतको कथामा कसरी न्यायसंगत भूमिका निभाउन सके ?

यो एक बंगलामा तयार पारिएको एउटा ‘नेगेटिभ इनर्जी’माथि बोलिएको कथा हो । साँच्चैभन्दा लरेनको जस्तो जीवन्त भूमिका हामीले गर्न सकेका छैनौँ । उनी स्वयं पात्रमा पसेका छन् । कतिपय अवस्थामा उनी मनोवैज्ञानिक रूपले प्रभावित पनि भए । त्यो अनुभूति मलाई पनि भयो ।

भनेपछि, सुनकेशरीले दर्शक सन्तुष्ट हुन्छन् भन्ने दाबी हो ?

धेरै ठूलो दाबी गर्दिनँ । हरर विषयवस्तुमा रुचि राख्ने दर्शक हलमा मात्रै डराउने छैनन्, घरमा पनि वा सपनामा पनि केही समयसम्म झस्किुनहुनेछ । केही दिनसम्म सुनकेशरी स्मरणमा बसिरहनेछ ।

कति खर्चनुपर्‍यो, सुनकेशरीलाई पर्दासम्म ल्याउँदा ?

ठीकै बजेटमा बन्थ्यो होला, तर यहाँ त्यसखाले लोकेसन नै थिएन । त्यहाँ लोकेसनको मात्रै ३२ लाख तिर्नुप¥यो । कतिपय स्टन्डका लागि पनि त्यति नै खर्च भयो । सम्पूर्ण रूपमा सुनकेशरी एक करोड ८० लाख लागतमा जेठमा दर्शकको अगाडि ल्याउन सक्ने भयौँ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्