पहिचानका जन्मदाता सैनिक



चार वर्षअघि पहिचान पुरस्कार स्थापनाको घोषणा हुँदा केही मान्छे सशंकित भए । कतिले त्यसलाई जातीय पुरस्कारको आरोप पनि लगाए । तर, सन् २०१८ को पुरस्कार ‘भुइयाँ’ लेखक यज्ञशले पाएपछि ती आरोप खारेज भए ।

पहिचान पुरस्कार संसारका धेरै पुरस्कारभन्दा फरक छ । विश्वका कतिपय सम्मानित पुरस्कार प्रायः व्यक्तिकै नाममा खडा भएका छन् । जस्तो, नोबल पुरस्कार, पुलित्जर पुरस्कार, मदन पुरस्कार र अरूहरू । नेपालमा पनि आफ्नो र आफन्तकै नाममा पुरस्कार दिने चलन छ ।

सम्मानित र महत्वको मानिने मदन पुरस्कार मदन शमशेरकी रानी जगदम्बाले स्थापना गरिन् । मदन र जगदम्बाका सन्तान थिएनन् । मदन शमशेरको मृत्युपछि आफ्नो केही सम्पत्ति गुठीमा राखेर जगदम्बाले पुरस्कार स्थापना गरेकी थिइन् । साहित्य, कला, विज्ञान र समाजका विषयमा वर्षभरि प्रकाशितमध्ये एक कृतिलाई मदन पुरस्कार दिइन्छ ।

पछिल्लो समय चर्चामा आएको अर्को पुरस्कार हो, पद्मश्री । जर्मनीमा व्यवसाय गरिरहेका जिवा लामिछानेले आमाको नाममा ०६३ सालमा पुरस्कार स्थापना गरे । सुरुमा मोफसलबाट प्रकाशित कृतिलाई मात्र पुरस्कार दिइन्थ्यो । ०६६ सालदेखि देशभरबाट वर्षभरि प्रकाशित कृतिमध्ये उत्कृष्टलाई दिने गरी दायरा फराकिलो बनाइयो ।

यीभन्दा बाहेक भूपालमानसिं कार्कीले स्थापना गरेका अनेक साहित्यिक पुरस्कार छन् । ती सबै उनकै परिवारका नाममा छन् । राज्यले स्थापना गरेका पुरस्कार पनि राजा–महाराजाका नाममा छन् । यो वर्षको पृथ्वी प्रज्ञा पुरस्कार केही महिनाअघि राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट साहित्यकार तारानाथ शर्मालाई दिइयो । यो पृथ्वीनारायण शाहको नाममा स्थापित पुरस्कार हो ।

तर, केही वर्षयता अर्को एउटा पुरस्कारको चर्चा हुन थालेको छ । व्यक्तिको नाममा नभइ विचारको नाममा स्थापित पुरस्कार हो, पहिचान पुरस्कार । सुरुमा यसले जातीयको आरोप खेपेपनि विस्तारै सीमान्तकृत जनताको पक्षमा लेखिएको साहित्यलाई दिइने पुरस्कारका रूपमा बुझ्नथालिएको छ ।

पुरस्कारको राशि करिब मदन र पद्मश्रीबराबर नै छ, दुई लाख दुई हजार दुई रुपैयाँ । सन् २०१५ सालमा स्थापित पुरस्कार अहिलेसम्म तीन स्रष्टाले पाइसकेका छन् । पहिलोपटक सन् २०१६मा राजन मुकारुङको निबन्ध संग्रह ‘फेरिँदो सौन्दर्य’ले पाएको थियो । सन् २०१७ मा स्व. अर्जुन खालिङको कविता संग्रह गोयाङको सुगन्धले पायो । यो वर्ष यज्ञशको भुइयाँले ।

सैनिकको साहित्यमोह

नरेश काङमाङ ०५६ सालमा बेलायती सेनामा भर्ती भए । पूरा १२ वर्ष सैनिक सेवामा बिताए । बन्दुक बोकेर हिँड्दा पनि उनले साहित्यलेखन छाडेनन् । यसो भनौँ, उनले एक हातमा कलम र अर्को हातमा बन्दुक छुटाएनन् । उता उनी सैनिक सेवाबाट रिटायर्ड हुँदा यता नेपालमा पहिचानको पक्ष र विपक्षमा राजनीति तातिरहेको थियो । पहिचानकै मुद्दामा अल्झिरहँदा पहिलो संविधानसभा असफलतातिर गइरहेको थियो ।

तातो राजनीतिले पहिचान शब्दलाई नै नकारात्मक बनाइरहेको थियो । संविधानसभाको दोस्रो निर्वाचन भयो । पहिचान पक्षधरहरू कमजोर भए । तर, पहिचान शब्द जातीयता बुझाउने शब्द थिएन । हरेक मान्छे पहिचानकै खातिर संघर्ष गरिरहेको हुन्छ । त्यसो त जहिले पनि राज्यसत्ता र उपल्लो वर्गले तल्लो वर्ग, सीमान्तकृत समुदाय र अल्पसंख्यकको पहिचानलाई दबाउने प्रयत्न गरिरहेका हुन्छन् ।

रिटायर्ड भएपछि बेलायतमा सुन पसल गरेर बस्न थालेका नरेश काङमाङ पहिचान शब्दलाई सकारात्मक रूपमा परिचित गराउने उपाय सोच्न थाले । उनले ‘पहिचान’का नाममा पुरस्कार नै स्थापना गरे । यसमार्फत उनले तल्लो वर्ग, समान्तकृत समुदाय र अल्पसंख्यकको सांस्कृतिक पहिचानका पक्षमा लेखिएका साहित्यिक कृतिलाई पुरस्कृत गर्ने अभियान चलाउने निर्णय गरे ।

सन् २०१५ मा पहिचान पुरस्कार घोषणा गरियो । उपल्लो जाति र केही राजनीतिक दलका नेताले जातीवादी पुरस्कारको आरोप लगाए । पहिलो वर्ष राजन मुकारुङ र दोस्रो वर्ष अर्जुन खालिङका कृति पुरस्कृत भए । जातिवादीको आरोप लगाउनेलाई थप बल पुग्यो । तर, तेस्रो वर्ष खसआर्य समुदायका यज्ञशको कृतिले पुरस्कार पाएपछि विरोध गर्नेहरूको आवाज बन्द भयो । यज्ञशको भुइयाँ तल्लो वर्गका मान्छेले बाँच्न र आधारभूत अधिकार पाउनका लागि गरेको संघर्षको कथा हो ।

बेलायतमा बोर्ड नेपालमा कोष

पहिचान पुरस्कार एकजना व्यक्तिको सम्पत्तिले स्थापना भएको होइन । विभिन्न देशमा छरिएर रहेका नेपालीको सहयोगमा यसको स्थापना भएको हो । अभियानको सुरुवात बेलायतबाट भएकाले त्यहाँ बसोवास गरिरहेका नेपाली समुदायको सहभागिता अलि धेरै छ । त्यसभन्दाबाहेक कोरिया, कतार, कुबेत, अमेरिका, इजरायललगायत देशमा कामका लागि पुगेका नेपालीले पनि पहिचान पुरस्कार कोष बनाउन सहयोग गरे । कोष बनाउन ८० जनाले लगानी गरेको संस्थापक तथा अध्यक्ष नरेश काङमाङले जानकारी गराए ।

अहिले कोषमा झन्डै २४ लाख रुपैयाँ छ । त्यसको ब्याजबाट पुरस्कार वितरण हुन्छ । कोषको खाता नेपालकै एउटा बैंकमा खोलिएको छ । नरेश अहिले कोषलाई ५० लाख पु-याउने लक्ष्यमा छन् । उनी फेरि सबैलाई पैसा थप्न आह्वान गर्दै छन् । यदि पर्याप्त पैसा नउठे आफैँ बर्सेनि एक डेढ लाख राख्दै भए पनि कोष बढाउने पक्षमा उनी छन् ।

कोषको खाता नेपाली बैंकमा भए पनि बोर्ड भने बेलायतमा सक्रिय छ । कोष बनाउन आर्थिक सहयोग गर्नेहरू बोर्डमा आउन इच्छुक भए प्रत्येक वर्ष सम्पर्क गर्न आह्वान हुन्छ । तर, बोर्डमा आउनेलाई एउटा सर्त राखिन्छ– त्यो वर्ष प्रकाशित भएका पुस्तक अनिवार्य पढ्नुपर्ने । अध्ययन नगर्ने मान्छे बोर्डमा आएर पुस्तकबारे निर्णय गर्न नसक्ने हुनाले यस्तो नियम राखिएको नरेशले बताए । नेपालमा भने पहिचान पुरस्कार कोषको नेपाल गतिविधिको समन्वय भने गणेश खालिङले गर्दै आएका छन् ।

यसरी छानिन्छ कृति

कोषका हरेक बोर्ड सदस्यले वर्षभरि प्रकाशन भएका धेरैभन्दा धेरै पुस्तक पढ्छन् । सबै पुस्तक पढ्न सम्भव नहोला । तर, चर्चामा आएका र समीक्षा भएका पुस्तक पढ्छन् । कोषले पहिचानको पक्षमा लेखिएका सातवटा पुस्तक छनोट गरेर मूल्यांकन समितिमा पेस गर्छ ।

मूल्यांकन समितिमा भने बोर्डभित्रबाट मात्रै बस्ने नियम छैन । कोषका संस्थापकबाहेक नेपालमा सामाजिक र लेखन क्षेत्रमा ख्यातिप्राप्त व्यक्तिलाई समेत बोर्डमा राखिन्छ । यो वर्ष मूल्यांकन समितिका आठमध्ये तीनजना कोषभन्दा बाहिरबाट थिए ।

मूल्यांकन समितिमा सूचीकृत भएका कृतिबारे पुनः छलफल हुन्छ । पूर्वविजेतालाई पनि एउटा कृतिलाई भोट दिने अधिकार हुन्छ । यस्तो अधिकार योपटक पूर्वविजेताको हैसियतमा राजन मुकारुङलाई मात्र थियो । अर्का पूर्वविजेता अुर्जन खालिङले मरणोपरान्त पुरस्कार पाएका थिए । अब अर्को वर्ष भने यज्ञशलाई पनि ‘भोटिङ राइट’ हुनेछ ।

पूर्वविजेतालाई मत दिने अधिकार कहिलेसम्म दिने भन्ने निश्चित समयसीमा नभएको नरेश बताउँछन् । उनी भन्छन्, ‘पाँच वा १० वर्षपछि त्यो अधिकार हामी नदिन पनि सक्छौँ ।’ तर, पुरस्कार निष्पक्ष होस् भन्नका लागि सम्भव भएसम्मका प्रयास गर्ने उनले बताए ।

पुरस्कारको राशि हरेक पाँच वर्षमा वृद्धि गरिने नरेशले जानकारी दिए । अबको दुई वर्षपछि पुरस्कार राशि तीन लाखभन्दा बढी हुनेछ । तर, राशि बढाएपछि हरेक पाचौँ वर्षमा पहिचान पुरस्कार नभई समाजमा पहिचानको पक्षमा उल्लेखनीय योगदान दिएकालाई पहिचान सम्मान दिइने उनले बताए ।

आउँदो पुरस्कार महिला लेखकलाई !

सन् २०१८ को पुरस्कार घोषणा गर्न पूरै एक वर्ष बाँकी छ । तर, एउटा खुलासा भने नरेश काङमाङले गरिदिए, ‘सन् २०१८ को पुरस्कार भने महिला लेखकले पाउनेछन् ।’ तर, महिला लेखकका भन्दा फेरि पनि पुरुष लेखककै कृति बलियो भयो भने नि ? उनले जवाफ दिए, ‘प्रत्येक वर्ष पुरुषलाई मात्र दिइयो भने हाम्रो र अरू पुरस्कारमा के फरक भयो ? हुन सक्छ, यो वर्ष पुरुषकै कृति बलियो आओस्, तर हामीले यही वर्ष प्रकाशित कृतिलाई मात्र दिने भनेका छैनौँ, अहिलेसम्मका उत्कृष्टबाट पनि छान्न सकिन्छ । हामी अघिल्ला वर्षहरूबाट क्रमशः खोजी गर्छाैं ।’ तर, अबको पुरस्कार भने महिला लेखकलाई नै दिने उनले दृढता प्रकठ गरे ।

लेखक नरेश विद्रोही नरेश

नरेश काङमाङ लेखक मात्र होइन, विद्रोही पनि भएको आख्यानकार राजन मुकारुङको मूल्यांकन छ । नरेशले राजनीतिक माहोल तातेको समयमा पहिचान पुरस्कार स्थापना गरेर आन्दोलनकारीलाई हौसला दिएको उनले बताए । पुरस्कार केही हदसम्म राजनीति पनि भएकाले आफ्नो विचारलाई सशक्त बनाउन सबैको पहल हुने उनले बताए । ‘पहिचान मुद्दासँग जोडिएको छ, यो अरू पुरस्कारजस्तो व्यक्तिको नाममा दिइँदैन, मुद्दामा लेख्ने लेखकलाई दिइने हुनाले स्वाभाविक रूपमा राजनीति पनि हो,’ उनले भने ।

नरेश बेलायती सेनामा हुँदा तालिमका क्रममा घाइते भए । उनलाई बेलायती घाइते सैनिकले पाउनेभन्दा कम सेवा सुविधा दिइयो । त्यसपछि उनले बेलायती फोर्सविरुद्ध नै कानुनी लडाइँ लडे । तिनै विद्रोही सैनिकभित्रको सिर्जनशीलताले उनलाई पहिचान पुरस्कारको संस्थापक बनाएको मुकारुङको मूल्यांकन छ । (नयाँ पत्रिका)

प्रतिक्रिया दिनुहोस्