हिसिला यमीलाई भेटेपछि रोए व्रह्मचारी बनेका माओवादी पूर्वलडाकु…



सिरहा । माओवादी युद्धका थुप्रै सेना शान्ति प्रक्रियासँगै तितरबितर भए । कोही विदेशिए । कोही व्यवसाय गर्दै बसे । जनसत्ता स्थापना गर्ने सपना बोकेर हिँडेका ती अधिकांश योद्धा आफ्नो बिगत बिर्सन चाहन्छन् । तीमध्ये हजारौंको संख्यामा पूर्व लडाकुहरु नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा आबद्ध छन् ।

१० वर्षे युद्धमा सक्रिय भएकाहरुले अर्को क्रान्ति गर्ने सपना बोक्नु अनौठो भएन । परिवारको खुसीका लागि विदेशमा गएर श्रम गर्नु नौलो भएन । व्यवसाय गर्दै बस्नु वा कृषि कर्ममा लाग्नु पनि स्वभाविक नै हो । तर सिरहामा त्यस्ता पूर्व लडाकु भेटिए जो अहिले जोगीको रुपमा व्रह्मचारी जीवन बाँचिरहेका छन् । युद्धको अवधिमा प्लाटून कमान्डरको रुपमा पूर्वी नेपालमा सक्रिय राम परिक्षण साफी अहिले व्रह्मचारी जीवन भोगिरहेका छन् ।

साफीकै नेताको रुमपा रहेकी तत्कालिन सहयोद्धा तथा नयाँ शक्ति नेपालकी नेत्री हिसिला यमीले अचानक साफीलाई भेटेपछि दुबै भावुक भए । रोचक त के भने, साफीको व्रह्मचारी नाम रामानन्द व्रह्मचार्य हो । पछिल्लो साता यमीले उनलाई भेटेपछि दुबै भावुक भएर रोए । यमीले आफ्नो ट्वीटरमा पनि भनेकी छन्, ‘हामी दुबैको आँखामा आँशु आयो ।’

साफी अर्थात् रामानन्द व्रह्मचार्यले यमीसँगको भलाकुसारीमा उनको जीवन अहिले पनि जोखिममै छ । यमीका अनुसार उनको जीवन युद्धको बेलामा जोखिममा थियो र अहिले पनि जोखिममै रहेको बताउँछन् । लेखक रेशम विरहीको पछिल्लो पुस्तक ‘प्रेमदासको डायरी’मा पनि पूर्व योद्धा जीवनको उत्तरार्धमा संन्यासी बन्छ । सामान्यतः एकाध योद्धाको जीवनशैली अवलोकन गरेर सिंगो युद्ध नियाल्न सकिँदैन । तर समाजमा रहेका यस्ता मान्छेको भोगाइले माओवादी जनयुद्धप्रति सधैँ कटाक्ष गरिरहनेछ ।

प्रतिक्रिया दिनुहोस्