राजनीतिमा अध्यात्म : किसुनजी र गान्धी



आदर्श र गुणका हिसाबले भट्टराई हाम्रा लागि गान्धीभन्दा कम छैनन्।

सञ्जय पन्थी

जसरी अहिंसात्मक आन्दोलनका प्रणेता मोहनदास करमचन्द गान्धी महात्माको उपाधिले विभूषित रहे, त्यसरी नै नेपाली राजनीतिका कृष्णप्रसाद भट्टराई सन्त उपाधिले विभूषित भए। यी दुवै पुरुषलाई राजनीतिक अध्यात्मकरणले निर्देश गरेको पाइन्छ। राजनीति र अध्यात्मको ज्ञानले यी दुईमा इमानदारीले पछ्याइरह्यो। उच्च नैतिकता, सादा जीवन, उच्च विचार, त्याग, समर्पण र निष्ठाले दुवै पुरुष स्मरणीय र नमनयोग्य रहे।

गान्धी विश्व राजनीतिमा आदर्श पुरुषका रूपमा परिचित छन्। किसुनजी नेपालीबीच परिचित छन्। आदर्श र गुणका हिसाबले भट्टराई पनि हाम्रा लागि गान्धीभन्दा कम छैनन्। भारतमा भट्टराईलाई गान्धीवादी भनेर चिनाइन्छ। गान्धीवाद आफैंमा एउटा समर्पणयुक्त विवेक र चेतना हो। त्यो उपमा उच्च आदर्श र नैतिकवान् पुरुषले मात्र पाउँछ।

नैतिक बलमार्फत परिवर्तन

महात्माको उपाधि पाएका मोहनदास करमचन्द गान्धी महात्मा मात्र नभएर राजनीतिज्ञ पनि थिए। उनले ‘धर्मविहीन राजनीति मृत्युको पासो समान हुन्छ, त्यस्तो राजनीतिले कुनै पनि बेला आत्माको हत्या गर्न सक्छ’ भनेका छन्। उनको अहिंसात्मक आन्दोलनले त्यसलाई पुष्टि गरेको छ। मानिसमा धर्मप्रतिको आस्था जागृत गराएर राजनीतिक परिवर्तन सम्भव छ भन्ने कुरालाई उनले आधुनिक विश्वलाई देखाए। धर्म र राजनीति एकअर्काका पूरक भएको प्रमाणित गर्ने गान्धी एक्ला राजनीतिज्ञ हुन्। उनले आफ्नो विश्वासलाई अभ्यासमार्फत प्रमाणित पनि गरे।

गान्धीका अनुसार धर्म मानव जीवनको आस्थाको शिखर हो, जसले नैतिकतालाई जीवित राख्न सहयोग गर्छ। त्यसैले जीवनका लागि धर्म र राजनीति एकअर्काका परिपूरक मात्र नभएर अनिवार्यसमेत रहेको उनको ठम्याइ छ। ‘राजनीति मनुष्यका लागि अनिवार्य हो, त्यसले मानिसलाई सचेत बनाउ“छ भन्ने गान्धी परिवर्तनका लाग द्वन्द्व आवश्यक रहेको र द्वन्द्वको समाधान धर्मनिर्देशित नैतिक बलबाट सम्भव रहेको तर्क गर्थे।

ज्ञान, भक्ति र कर्म

गान्धीको जीवनमा ज्ञान, भक्ति र कर्म तीनै योगको संगम पाइन्छ। गान्धीको जीवनमा ‘ग’ अक्षरको अपत्यारिलो संयोग छ। गुलामी, गरिबी र गीताबाट उनी प्रेरित रहे। गीतालाई प्ररेणाको स्रोत मान्ने गान्धीले त्यसको उपयोग नैतिक जीवनका लागि गरे। कर्मकाण्ड र अध्यात्मबीचको विभेद पनि उनले गीताबाटै खुट्याएका थिए भनिन्छ। गान्धीले भनेका छन्– मेरा लागि धर्मविहीन राजनीति कुनै चीज हैन। नीतिशून्य राजनीति सर्वथा त्याज्य छ।

धर्मलाई राजनीतिको पथपदर्शक बनाउन सक्नुपर्छ। धर्मविहीन राजनीति मृत्युको जाल मात्र हो। किनकि त्यहा“ आत्माको कुनै मान सम्मान हुँदैन। उनी धर्मको अस्तित्व धर्ममै निर्भर भएको ठान्थे। धर्मको अर्थ हो, ईश्वरको आज्ञाको पालन। गान्धीले विश्वका अनेक धर्मको अध्ययन गरेका थिए। त्यसको निष्कर्ष उनले भनेका छन्– सबै धर्म नैतिकतामा आधारित छन्। गान्धीको राजनीतिक अध्यात्मकरणका गुरु गोपाल कृष्ण गोखले मानिन्छन्। गोखले गान्धीभन्दा अघि बेलायतमा गई अध्ययन गरेका वकिलसमेत थिए। पछि उनी राजनीतिमा क्रियाशील रहे। गान्धीलाई दक्षिण अफ्रिकाबाट भारत फर्किन आग्रह गर्ने व्यक्ति उनै गोखले हुन्।

कृष्णप्रसाद भट्टराई गान्धीको विचार र आदर्शबाट सधैं प्रभावित रहे। बनारसमा अध्ययन गर्दागर्दै गान्धीले चलाएको भारत छोडो आन्दोलनमा दाजु गोपाल र वटुकसँगै उनी पनि सहभागी भए। उक्त आन्दोलनमा सहभागी हुने नेपालीहरूमा बीपी, डिल्लीरमण, मनमोहन अधिकारीलगायतका अग्रज पनि रहे। तर गान्धीको आदर्श र पदचाप पछ्याउने अग्रजहरूको नाम लिनुपर्दा किसुनजीको नाम अग्रपंक्तिमा आउँछ। उल्लिखित नेपाली अग्रज भारतको स्वतन्त्रताको आन्दोलन क्रममा जेलसमेत परे।

राजनीतिमा लागेको व्यक्तिले सन्त उपाधि पाउनु कुनै मजाक होइन। त्याग, निष्ठा र अध्यात्मको साधनाकै कारण किसुनजीलाई ‘सन्त’ उपाधि दिइएको हो। राजनीतिमा घात, प्रतिघात र धोकाले आहत किसुनजीले कहिल्यै अरूप्रति बदलाको भाव राखेनन्। आध्यात्मिक चिन्तन र साधनालाई दैनिकी बनाए। आध्यात्मिक चेतनाका विशिष्ट साधक किसुनजीको नैतिकता र विचार बुझ्न संकीर्णताबाट माथि उठ्न सक्नुपर्छ।

अध्यात्म

भट्टराईमा अध्यात्मको उच्च सत्संग थियो। अध्यात्म धर्मको कोखबाट पलाउँछ। अध्यात्मलाई कुनै जाति, धर्म या सम्प्रदायको भनेर बुझ्न खोज्नु चेतनामाथि अन्याय हुनेछ। धर्मलाई परिवर्तनको राजनीतिमा अँगाल्न सक्नु उच्च विश्वास हो। साधनाबाट मात्र यो सम्भव छ। भारतको राजनीतिका अग्रज गोपालकृष्ण गोखले, मदन मोहन मालवीय, बालगंगाधर तिलक र महात्मा गान्धीमा यस्तो गुण पाइन्छ।

गान्धीको चेतना अग्रजहरूको भन्दा उच्च पाइन्छ। किनकि उनले अध्यात्मलाई राजनीतिमा मात्र सीमित नराखी समाज सेवामा पनि विस्तार गरे। स्वतन्त्रता प्राप्तिको आन्दोलनको सारथि हँुदाहँुदै गान्धीले जसरी अध्यात्मको सत्संग गरेका छन्, त्यसरी नै किसुनजीले त्यो गुण पछ्याएको पाइन्छ। उनमा गान्धीको आदर्श मात्र नभएर जीवनशैलीको तादात्म्य पनि पाइन्छ। उनी सन्त मात्र नभएर कृपासिन्धु भक्त पनि हुन्।

भट्टराई त्यागी र क्षमाशील थिए। सरल एवं सादा जीवन शैली र उच्च राजनीतिक चिन्तन उनको जीवनको पर्याय थियो। किसुनजीलाई गान्धीसँग राजनीतिक र आध्यात्मिक चेतबाट तुलनात्मक गर्नु उचित हुन्छ। दक्षिण एसियाको राजनीतिमा गान्धीपश्चात् उच्च निष्ठाको राजनीतिज्ञको खोजी गर्दा किसुनजीको चरित्र उभिन आउँछ। तर त्यसलाई प्रमाणित गर्न उनको योगदानलाई प्रस्तुत गर्न आवश्यक छ। जसरी गान्धीको योगदानलाई भारत सरकारले ‘कलेक्सन अफ महात्मा गान्धी’ का नामले ऐतिहासिक दस्ताबेज संकलन र संरक्षण गरिरहेको छ।

तुलना

दक्षिण एसियाको राजनीतिमा गान्धी उच्च धरोहर हुन्। तिनै धरोहरसँग तुलनात्मक अध्ययन गर्दा भारतमा जवाहरलाल नेहरूलाई उच्च कोटीबाट स्मरण गरिन्छ। वाद र विचारको संकुचित घेराबाट माथि उठेर हेर्दा नेपालमा बीपीको नाम आउँछ। तर जीवनशैली र चरित्रका हिसाबले किसुनजीमा गान्धीको आदर्श र गुण समीप पाइन्छ। जसरी कालखण्ड र चिन्तनका हिसाबले गान्धी दक्षिण एसियाका अग्रज हुन् भन्न हिच्किचाउनु पर्दैन, त्यसरी नै नेपालको राजनीतिमा किसुनजी परिवर्तनका अग्रज हुन् भन्न कुनै संकोच मान्नु पर्दैन।

राजनीतिमा घातप्रतिघात र धोकाले आहत किसुनजीले कहिल्यै अरूप्रति बदलाको भाव राखेनन्। आध्यात्मिक चिन्तन र साधनालाई दैनिकी बनाए। आध्यात्मिक चेतनाका विशिष्ट साधक किसुनजीको नैतिकता र विचार बुझ्न संकीर्णताबाट माथि उठ्न सक्नुपर्छ।

गान्धीको चेतनालाई नेपालमा सञ्चार गर्ने अग्रज बीपी र किसुनजी हुन्। तर गान्धीको जीवनशैली अपनाउने भने किसुनजी मात्र रहे। चरित्र र त्यागको कुरा गर्दा गणेशमान सिंह, मनमोहन अधिकारी, महेन्द्रनारायण निधी जस्ता नेतामा पनि त्यो गुण सञ्चार भएको पाइन्छ। त्यसैले नेपालको राजनीतिमा उनीहरू निष्ठाको राजनीति गर्ने राजनीतिज्ञ भनेर परिचित छन्।

एकदश व्रत

जसरी एकदश व्रतलाई जीवनको मार्गदर्शन बनाएर गान्धीले जीवनयापन गरे, किसुनजीले त्यसलाई वरण गरे। अहिंसा, सत्य, अस्तेय, ब्रह्मचर्य, असंग्रह, शरीर श्रम, अस्वाद, स्वदेशी र सर्वत्र भय वर्जन (निर्भय) किसुनजीको जीवनमा पाइन्छ। गान्धीले जस्तै उनले परिवर्तनको नेतृत्व गरिरहँदा अभाव र दबाब झेले। तर पनि आफ्नो पथबाट अविचलित रही लक्ष्य प्राप्तिको साधनामा निरन्तर रहे। अहिंसालाई सधैं आत्मसात गरे। हिंसाबाट प्रताडित भइरहँदा पनि कहिल्यै अहिंसासँग सम्झौता गरेनन्।

म र मेरो भन्ने भावनाबाट माथि उठेर देश र जनताका लागि समर्पित रहे। भय, दुःख, चिन्ता र द्वेषबाट मुक्त किसुनजी प्रेम, दया, करुणा र क्षमाशील रहे। भारतमा जन्मिए पनि भट्टराई नेपाल र नेपाली जनताका लागि समर्पित रहे। नेपाल फर्किएपछि उनी निर्वासनमा नगई जेल सजाय मञ्जुर गरे। अभावमा अलाप र दुःखमा विलापविना नै किसुनजीले राष्ट्रभक्तिको भावना देखाइरहे। गान्धीको एकदश व्रतमध्येको स्वदेशी भावना उनीमा ओतप्रोत देखिन्छ। भलै उनी ०६२/६३ सालको आन्दोलनका पक्षपाती रहेनन्, वर्तमान नेपालको परिवर्तनमा उनको समर्पण छ भन्न कर लाग्छ। तर त्यस परिवर्तनका प्रतिरोधक पनि बनेनन्।

राष्ट्र र राष्ट्रियताका सवालमा भट्टराई सतीसाल रहे। शक्ति साम्राज्यसँग सवालजवाफ गर्न सक्ने गुण उनमा गान्धीमा जस्तै थियो। जसरी गान्धी सन् १९३१ मा गोलमेच सम्मेलनका लागि बिट्रिस महाराजसँग चातुर्यपूर्ण रूपमा प्रस्तुत भएका थिए, त्यसरी नै किसुनजी पहिलोपटक प्रधानमन्त्री भएर भारत जाँदा त्यहाँका समकक्षी र सञ्चारकर्मीसँग त्यसरी नै प्रस्तुत भएको रोचक दृष्टान्त छ।

०४७ सालको संविधान जारी गर्दाको क्षण होस् वा ०४८ सालको निर्वाचन सम्पन्न गराउँदाको अवस्था होस्, उनले देखाएको चरित्रलाई समाजले निरिहता भनेर बुझिरहँदा पनि भट्टराई किञ्चित प्रतिशोधी भएनन्। आफ्ना अनुयायीहरू आफ्नो सहमतिविनै सन् १९४८ को विभाजनका पक्षपाती भइरहँदा उनीहरूसँग गान्धीले पनि प्रतिशोध साँधेका थिएनन्। किसुनजीले आफ्नाविरुद्ध षड्यन्त्र र घात गर्नेलाई पनि कहिल्यै प्रतिशोध साँधेनन्। उनको जीवनको उत्तराद्र्धमा उनका अनुयायी एवं विश्वास पात्र बन्न पुगेका पूर्वराजदूत दीपकुमार उपाध्यायको भनाइलाई उद्धरण गर्ने हो भने ‘किसुनजीको जवाफ गीतासारमा आधारित हुन्थ्यो, कर्म गर तर फलको आशा नगर।’

त्याग

जसरी गान्धीले आफूले चलाएको आन्दोलनलाई सार्थक बनाउन सडकमा अहिंसात्मक आन्दोलन र दरबारमा वार्ता गरेको अनुभव रह्यो, त्यसरी नै किसुनजीले पनि ०४६ सालको सडक आन्दोलनलाई अहिंसात्मक बनाउन भूमिका निर्वाह गर्दै दरबारमा वार्ताका लागि आफैं पुगेका थिए। गान्धी जीवनमा एकपटक कांग्रेसको अध्यक्षबाहेक अन्य कुनै शक्तिशाली पदमा बसेनन् तर किसुनजीले जिम्मेवारी शिरोधार्य गर्दै त्यागको चरित्र प्रस्तुत गर्न चुकेनन्।

प्रधानमन्त्री भएर बालुवाटारबाट बाहिरिँदा होस् वा पार्टीको सभापतिबाट किनारा लगाउँदाको अवस्थामा त्यागलाई आफ्नो चरित्र बनाए। त्यसो त जनयुद्ध भनिएको हिंसात्मक युद्धलाई शान्तिपूर्ण राजनीतिमा अवतरण गराउन शान्तिवार्ताको पहल पनि उनले नै सुरु गरेका थिए। आफू प्रधानमन्त्री हुँदा उनले सेना र प्रहरी अधिकारीलाई निर्देशन गर्दा अहिंसा आत्मसात गरेर जोखिम न्यूनीकरण गर्न आग्रह गर्थे।

भट्टराई सभापति रहँदा नै ०४२ सालको सत्याग्रह भएको थियो। सत्याग्रह गान्धीले अपनाएको अहिंसात्मक आन्दोलनको महत्वपूर्ण हतियार हो। किसुनजीले अप्ठ्यारो परिस्थितिमा सत्याग्रह अपनाएको पाइन्छ। भट्टराईको निष्ठाका पक्षपाती पराष्ट्रविद् तथा पूर्वराजदूत डा. दिनेश भट्टराईका शब्दमा किसुनजी ‘राजनीतिक चेतनाको उच्च साधक मात्र नभएर कर्मयोगी’ पनि हुन्। गान्धीकै पदचाप र प्रभाव किसुनजीमा देख्छन् उनी।

जीवनको अन्तिम क्षणमा अस्पताल शड्ढयामा उपचाररत रहँदासम्म किसुनजीले ‘एड्ढया र आच्छु’ गरेनन्, जसरी गान्धीले नाथुराम गोड्सेले आफूलाई छातीमा गोली हान्दा, ‘हे राम’ उच्चारण गरे। किसुनजीले अस्पताल शड्ढयामा बोली बन्द हुनुअघिसम्म तुलसीको मालासँगै राम नाम जपिरहे। गान्धीको आदर्श र मान्यता वरण गरेर नेपालका निष्ठावान् राजनीतिज्ञमा दरिन सफल रहे किसुनजी।

प्रतिक्रिया दिनुहोस्