एनजीओ समाजसेवा कि डलरको खेती ?



४ फागुन २०७४

ध्रुवप्रसाद घिमिरे

काठमाण्डौ, समाजका कमजोर, असहाय र असक्त मानिसहरुलाई सहयोग गर्ने उद्देश्यले विश्वभर सामाजिक संस्थाको स्थापना गर्न थालियो । पछिल्लो समय सामाजिक संस्थाहरुको उद्देश्य मानव सेवाको साथै प्रकृति र जीवजन्तुको संरक्षण सम्म पुगेको छ ।

नेपाली समाजमा सामाजिक संघ-संस्थाहरुको स्थापना भएको ईतिहास छ । यिनै सामाजिक संस्थाहरुलाई पछिल्लो समय एनजीओ भन्ने प्रचलन बढेको छ ।

अन्तर्राष्ट्रिय एनजीओको विकासक्रम

शक्तिको उन्माद पछि शक्तिशाली रास्ट्रहरुले कमजोर रास्ट्रहरुलाई  आफ्नो देशमा गाभ्ने र संसार भरि शासन गर्ने महत्वकांक्षाले प्रथम र दोस्रो विश्वयुद्द भए । युद्दपछि विश्वभर निकै ठूलो क्षेती भयो । लाखौं मानिसहरु युद्दमा मरे, लाखौ परिवार विचल्नीमा परे । खान, बस्न, स्वास्थ्य र आधारभूत जीवन जिउन अतिनै कस्टकर भएपछि सामाजिक भावना भएकाहरु मानिसहरु मिलेर सामुहिक काम गर्ने दौरानमा एनजीओहरुको स्थापना भएको देखिन्छ ।

पश्चिमा शासकहरु वा रास्ट्रहरु कमजोर भएपनि समाजमा धार्मिक प्रभाव बलियो थियो । शासकहरु नै युद्दमा सहभागी भएपछि धार्मिक संस्थाहरु सामाजिक कार्यमा सहभागी भए । त्यसैले आजपनि संसारभर एनजीओ क्षेत्रमा धार्मिक प्रभाव प्रचुर मात्रामा रहेको छ ।

नेपालमा एनजीओ

नेपालमा पनि सामाजिक कार्यहरुको थालनी परापूर्वकालदेखि भएको पाईन्छ । मन्दिरहरुमा दिएको दानबाट धेरै परोपकारी कामहरु भएका छन् । हिन्दू संस्कृति अनुसार मुट्ठीदान दिने चलन नेपाली समाजमा निकै लामो समय सम्म चल्यो । मन हुनेहरुले आफ्नो व्यक्तिगत खर्चमानै पौवा, पाटी, कुवा, मठ-मन्दिर, बाटाहरु निर्माण गर्ने गर्थे भन्ने प्रमाणको रुपमा आदिकवि  भानुभक्त आचार्यको कविताबाट पनि बुझ्न सकिन्छ ।

नेपाली समाजलाई हेर्ने हो भने पनि शुरुका दिनहरुमा एनजीओ भनेका सांस्कृतिक संघ संस्था, खेलकुद क्लवहरु र केहि परोपकारी संस्थाहरु रहेको देखिन्छ । त्यस्ता संस्थाहरु स्थानीय श्रोत, साधन परिचालन गरेर आफ्नै ज्ञान, सीप र क्षमताले संचालन हुने गर्दथे । उक्त समयमा दर्ता भएका एनजीओले वैदेशिक सहयोग र  सहायताको आशा र कल्पना नै गर्दैनथे ।

पंचायती व्यवस्थाको अन्त्य तिर नेपालमा एनजीओ विस्तारको क्रम निकै बढेको पाईन्छ । अझ २०४६ को परिवर्तन पछि नेपाली एनजीओमा उल्टो प्रवृतिको विकास भयो । एनजीओहरु स्थानीय साधन श्रोत भन्दा वैदेशिक सहायताको आशमा खुल्न थाले । जसको परिणाम एनजीओको संचालन सेवाको साथ-साथै पेशा समेत बन्न पुग्यो । यसो हुनुमा पश्चिमाहरुको प्रभाव नै मूल कारण हो । यद्दपी अहिले पनि एनजीओ भनेका आवश्यक्ता  परेकाहरुको हितमा काम गर्ने सामाजिक र परोपकारी संस्थाहरु नै हुन् ।

२०३४ सालमा तात्कालिक सरकारले स्थापना गरेको सामाजिक सेवा रास्ट्रिय समन्वय परिषदमा २०४६ चैत्र २३ गते सम्म जम्मा २२२ एनजीओहरु दर्ता भएको तथ्यांकले देखाएको छ ।

१ नं. मा दर्ता भएको नेपाल रेडक्रस सोसाइटी देखि २२२ सम्मका प्राय सबै सामाजिक सस्थाहरु पूर्ण स्वंसेवी, स्थानीय क्लब र धार्मिक समितिहरु रहेका छन् ।

२०४७ को राजनीतिक परिवर्तन पछि सोहि वर्षमा मात्र १२५ नयाँ सामाजिक संस्थाहरु परिषदमा आवद्द भए ।  यसैगरी २०४८ सालमा २२० संस्थाहरु आवद्द भएको विवरणमा उल्लेख छ ।

२०३४ मा स्थापना गरिएको सामाजिक सेवा रास्ट्रिय समन्वय परिषदलाई २०४९ मा समाज कल्याण परिषदमा रुपान्तरित गरिए पछि सोहि वर्ष ५२९ सामाजिक संस्थाहरु परिषदमा आवद्द भएका छन् ।

२०५० पछि सामाजिक संस्थाहरुको संख्या बढ्दै गएर मिति २०७४ माघ २९ सम्ममा ४७,२७७ एनजीओहरु  समाज कल्याण परिषदमा आवद्द भएको जानकारी परिषदका उप-निर्देशक दुर्गाप्रसाद भट्टराईले दिए ।

जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका सबै एनजीओहरु समाज कल्याण परिषद आवद्द हुनै पर्ने बाध्यकारी नियम नभएकोले अझ धेरै संस्थाहरु परिषदमा आवद्द नभै स्थानीय रुपमा संचालनमा रहेको समाज कल्याण परिषद श्रोतले जानकारी दिएको छ ।

नेपालमा अन्तराष्ट्रिय एनजीओ

पंचायत कालदेखि नै २० ओटा अन्तराष्ट्रिय एनजीओहरु नेपालमा काम गरिरहेको तथ्यांकले देखाउँछ । २०४६ को राजनीतिक परिवर्तन सँगै नेपालमा काम गर्ने अन्तराष्ट्रिय एनजीओहरुले संख्या पनि ह्वात्तै बढेको देखिन्छ ।

अन्तर्राष्ट्रिय एनजीओहरुको वृद्धि सँगै यसको कामलाई पारदर्शी र ब्यबस्थित बनाउने अभिप्रायले १९९६ मा Association of International NGOs in Nepal (AIN) को स्थापना गरिएको  देखिन्छ । AIN श्रोतका अनुसार हाल उक्त संस्थामा आवद्द सदस्य संस्थाहरुको संख्या १४० छ भने  समाज कल्याणसँग सम्झौता गरेर काम गर्ने  अनुमति पाएका अन्तर्राष्ट्रिय एनजीओहरुको संख्या २४७ रहेको जानकारी परिषदकी सहायक निर्देशक प्रतिक्षा मिश्रले दिईन ।

समाज कल्याण परिषदमा सम्झौता गर्न एउटा अन्तर्राष्ट्रिय एनजीओ कम्तिमा प्रतिवर्ष दुई लाख अमेरिकी डलर (करिब दुई  करोड नेपाली रुपैयाँ) बराबरको परियोजना संचालन गर्नुपर्ने नियम छ । समाज कल्याण परिषदबाट परियोजना स्वीकृत गरेपछि हरेक आईएनजीओले आफ्नै नीति नियमको परिधिभित्र रहेर कर्मचारी तथा स्थानीय साझेदार एनजीओ छनौट गर्दछन ।

नेपालमा कार्यालय नभएका तथा समाज कल्याण परिषदसँग संझौता नगरी काम गर्ने आईएनजीओ संख्या पनि सयौको संख्यामा छ । त्यस्ता आईएनजीओले स्थानीय एनजीओ सँग साझेदारी गर्दछन । स्थानीय एनजीओले समाज कल्याण परिषदबाट सम्झौता अनुसारको परियोजना समाज कल्याण परिषदको नियम अनुसार गर्नु पर्छ ।

हामी अधिकांश नेपालीहरुमा लगनशीलताको कमि, सामाजिक द्दन्द र राजनीति नेतृत्व प्रति अविश्वासको कारण वा आधुनिकताको नाममा पश्चिमा संस्कृतिको प्रभावले गर्दा माया, प्रेम, विश्वास, दया र धर्म-संस्कृति हराउँदै गएको छ । यसैको परिणामले हामी सबै विषय प्रतिको धारणा आम रुपमा निर्माण गर्दछौ । अरुलाई दोष दिएर आफू मात्र राम्रो छु भन्ने धारणा संस्कृतिको रुपमा विकास भएको छ ।

सबै नेताहरु, सरकारी कर्मचारीहरु, व्यापारीहरु साथै सरकारी शिक्षकहरुलाई हेर्ने धारणा विश्वव्यापी रुपमा सकारात्मक छैन । अझ हाम्रो देशको बेथितिले गर्दा सामाजिक सदभाव, सहयोग, आदरभाव करिव समाप्त हुने अवस्थामा पुगेको छ । राजनीति समाजसेवा भन्दा पनि व्यापारको रुपमा विकसित हुँदै गएको छ । यस्तै सामाजिक धारणा एनजीओहरु प्रति अहिले विकास भएको छ ।

एनजीओहरुलाई पनि हेर्ने सामाजिक चश्मा पनि नकारात्मक रुपमा बढिरहेको छ । जसको प्रत्यक्ष असर राम्रो काम गर्ने रास्ट्रिय तथा अन्तराष्ट्रिय एनजीओहरुलाई परिरहेको छ । पछिल्लो समय; अझ भूकम्प पछि धेरै रास्ट्रिय तथा अन्तराष्ट्रिय एनजीओहरु ठूला-ठूला परियोजनाको माध्यामले पछाडि परेका समुदायमा गएर धार्मिक प्रभाव बढाईरहेको समाचारहरु प्रकाशनमा आएका छन् । गत शुक्रबार नागरिक दैनिकले छापेको समाचारले हामी सबैको ध्यान तानेको हुनुपर्छ, त्यसमा लेखिएको छ, “शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको अभाव रहेको रोल्पाको माढी गाउँपालिकाले चर्च निर्माणमा बजेट छुट्याएको छ ।

पुरा समाचारको लागि ‘चर्च निर्माण गर्दै स्थानीय सरकार’

नेपालमा काम गरिरहेका सबै एनजीओहरु सहि नियतले काम गरेका छन् वा छैनन् भन्ने मापन गर्ने सरकारी निकाय पनि प्रभावकारी छैन । तर पंचायतकाल देखि नै नेपालमा क्रियाशील युनाईटेड मिसन टू नेपाल, कारितास, वल्ड भिजन इन्टरनेशनल, लुथरन ओल्ड फेडेरेशन र भूकम्प पछि नेपालमा अति धेरै लगानी गरिरहेको क्याथोलिक रिलिफ सर्भिस जस्ता सयौ अन्तर्राष्ट्रिय एनजीओहरुको वेबसाइट हेर्दा उनीहरुको प्रमुख मिसन नेपालमा धर्म प्रचार नै हो भन्ने प्रष्ट देखिन्छ । १५ अगस्ट २०१७ मा बेलायतको चर्चित पत्रिका द गार्जेनले समेत नेपालको धर्म परिवर्तनमा अन्तर्राष्ट्रिय सहयोग रहेको र यहि अवस्था रहने हो भने केही दशकमा नेपालमा आदिवासी, दलित र पछाडि परेको समुदाय सबै क्रिश्चियन हुने ठोकुवा समेत गरेको छ। पुरा समाचारको लागि ‘They use money to promote Christianity’: Nepal’s battle for souls 

स्थायी सरकार र प्रभावकारी राज्य नीतिको अभावमा कतिपय अन्तर्राष्ट्रिय एनजीओहरुले नेपालका विभिन्न नीति निर्माणमा समेत लगानी गरेका छन् । तारे होटलमा राखेर गरिने त्यस्ता छलफलहरुमा सरकारका उच्च पदस्थ कर्मचारीहरु समेत सहभागी हुने गरेका छन् । त्यस्ता संस्थाहरुले समाज कल्याण परिषदबाट अनुमति लिनुपर्ने परियोजनाहरुमा समेत पक्कै पनि आर्थिक प्रभाव पारेको हुनुपर्छ अन्यथा धार्मिक संस्थाहरु कसरी पंचायत कालमा समेत नेपाल भित्रिए ? यस्तो गम्भीर विषयमा भर्खरै निर्वाचित केन्द्रीय, प्रान्तीय वा स्थानीय सरकारले समयमा नै ध्यान पुर्याउनु जरुरी देखिन्छ ।

तर जुन एनजीओले साँचै सेवाभावले काम गरिरहेका छन् । त्यी एनजीओ प्रति हेर्ने हाम्रो सामाजिक दृष्टिकोण बदल्नु जरुरी छ । अहिले सरकारी निकायहरु, राजनीतिक दलहरु र सामाजका बौद्धिकहरु पनि एनजीओहरुले धार्मिक,जातीय र क्षेत्रिय विभाजन बनाए भन्नेमा एकमत जस्तै छन् ।

परिणामत: नेपाली समाजमा एनजीओहरु काम नलाग्ने संस्था हुन् । यिनीहरुको विस्तार रोक्नु पर्छ भन्ने आम धारणा विकास हुँदै गएको छ । यसको परिणाम पक्कै पनि सकारात्मक हुँदैन । अनि अर्को तर्फ एनजीओहरुले केहि गर्दैनन्, तालिम र सामाजिक जागरणको नाममा हल्ला गरेर पैसा सक्छन् भन्नेहरुको जमात पनि बढ्दै गएको छ । यी दुवै अतिवादी चिन्तन हुन् । हामीले राम्रो गर्ने एनजीओलाई प्रोत्साहन र नराम्रो गर्नेलाई कारवाही नगर्ने हो भने परिणाम हामी सबैले सोचे भन्दा निकै फरक र अकल्पनीय आउने छ ।

प्रतिक्रिया दिनुहोस्