‘क्रोन्स’ रोगको कारण, लक्षण र उपचार बारे बुझ्नुहोस् ।



काठमाडौँ, पुस १९, २०७४ : ‘क्रोन्स’ पाचन प्रणालीमा लाग्ने रोग हो। सामान्य रुपमा भन्नुपर्दा मुखदेखि सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारसम्म साना साना घाउ हुने समस्यालाई क्रोन्स भनिन्छ। यस्ता घाउ ती अंगमा जहाँ पनि हुन सक्छ। यो समस्या विशेषगरी सानो आन्द्राको पछिल्लो भाग र ठूलो आन्द्राको अघिल्लो मागमा बढी हुने गर्छ।

क्रोन्स रोगले आन्द्रालाई मात्र नभई आन्द्रा बाहेकका अरु मांशपेसी, जोर्नी, कलेजो, आँखा लगायतका अंगमा पनि असर गर्छ। यसका लक्षण पनि फरक–फरक हुन्छ । जुन ठाउँमा यसले असर गरेको छ त्यो ठाउँमा फरक लक्षण देखिन्छ। जस्तै खाना नपच्ने, पेट दुख्ने, पखला लाग्ने, दिसामा रगत आउने आदि।

के कारणले लाग्छ यो रोग ?

क्रोन्स यही कारणले नै हुन्छ भनेर भन्न गाह्रो छ। तर, विभिन्न कारणले शरीरका भित्री भागहरु सुन्निएर (इन्फ्लामेसन) तन्तुहरु बिग्रिँदा, वंशाणुगत तथा केही स्थानमा वातावरण र केही जातिमा समेत यो रोग देखिने गरेको छ। इन्फ्लामेसनका कारण शरीरका तन्तुहरु बिग्रिन्छन् र काम गर्न छाड्छन्, फलस्वरुप त्यसले पाचन प्रणालीमा असर गर्दै जान्छ र समस्या निम्त्याउँछ। यो रोग खानपानसँग भने जोडिएको हुँदैन।

लक्षणहरु : 

पेट दुख्ने,
डायरिया हुने,
कब्जियत हुने,
आन्द्रा बन्द हुने,
दिसा गर्ने ठाउँ वरिपरि सानो–सानो घाउ हुने/पानी बग्ने,
फिस्टुलाबाट पानी बगिरहने,
दिसामा रगत आउने,
जोर्नीहरु दुख्ने,
आँखा रातो हुने,
लिबर इन्जाइम बढ्ने, आदि।

रोकथाम र उपचार :

यो रोग आउँदै–जाँदै गर्ने हुँदा उपचार निकै झन्झटिलो छ। यो रोगलाई निको बनाउन निकै गाह्रो छ। रोग लागेपछि औषधिको माध्यमबाट कम गराउन सकिन्छ। यो लामो समयसम्म लाग्ने रोग हो। रोगले च्याप्दै गयो भने आन्द्राको शल्यक्रिया समेत गर्नुपर्ने हुन्छ। यो गम्भीर किसिमको रोग हो। यसका औषधिहरु पनि महँगा हुन्छन्। यो रोगले सताएपछि बिरामीले धेरै दुःख पाउँछन्। त्यही भएर यसलाई असजिलो खालको रोग भनेर पनि चिन्ने गरिन्छ।

क्रोन्सलाई सहजै पहिचान गर्न गाह्रो हुन्छ। त्यही भएर धेरै परीक्षण गर्नुपर्ने हुन्छ। कति मान्छेले यो रोग लागेको थाहा नपाएर क्षयरोग लाग्यो भनेर त्यसको औषधि समेत खाइरहेका हुन्छन्। यो रोगमा चिकित्सकको सल्लाह अनुसार नियमित औषधि खानुुपर्छ। डाक्टरसँगको सम्पर्कमा रहिरहनुपर्छ।

रोगको अवस्था अनुसार औषधिको मात्रा घटबढ समेत गर्नुपर्ने हुन्छ। यो दीर्घ रोग भएका कारण नियमित औषधि सेवन गर्नुनै उत्तम उपाय हो। यसका साथै सन्तुलित रुपमा पोषिलो खानेकुरा पनि खानुपर्छ।

(ग्यास्ट्रोइन्टेरोलोजिस्ट डा. बस्नेत वीर अस्पतालका निर्देशक हुन्)

प्रतिक्रिया दिनुहोस्