देउवाको राष्ट्रपतिमा च्याखे



काठमाडौँ, पुस १७, २०७४ : प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रत्यक्षतर्फ पाएको मतभन्दा झण्डै चारलाख मत समानुपातिकको गणनामा कम देखियो । नेपाली कांग्रेसले पाएको प्रत्यक्षतर्फको चार लाख मत कहाँ हरायो ? कांग्रेसले पार्टीको तर्फबाट गहिरो अनुसन्धान र सुधार गर्न जरुरी छ । अन्तर्घात गर्नेहरूले त प्रत्यक्षमा नै गर्छन् । समानुपातिकतर्फ त्यसो हुँदैन । समानुपातिकमा कांग्रेसलाई भोट दिनेहरूले तराजुमा भोट खसालेर जानीजानी केही व्यक्तिहरूले आफ्नै नाक काटेका छन् ।

कांग्रेसलाई वीपीको हौवाले पनि केही विगारेको छ । समग्रमा प्रदेश वा प्रतिनिधिसमा कतै पनि समानुपातिकमा आफ्नो नाम नपरेपछि कतिपय कांग्रेसी नेताहरूले एमाले र माओवादीलाई भोट हालेकाले यस्तो हुन गएको हो । चुनावको बेला कमाण्ड दर्बिलो नभएपछि यस्तै हुन्छ । आफूलाई देशभक्त, राष्ट्रवादी, राजावादी भन्ने नेता तथा पार्टीहरूको हालत यो पटक बेहाल भयो । राप्रपाहरूले समानुपातिकतर्फ थ्रेसहोल्ड समेत पार गर्न सकेनन् । राप्रपाले प्रतिनिधिसभामा १ सिट प्रत्यक्षबाट र प्रदेशसभामा समानुपातिकबाट प्रदेश १, ३ र ६ मा १/१ सिटप्राप्त गरेको छ । राप्रपाका ठूला भनिएका हस्तीहरूलाई समेत जनताले नराम्ररी दण्ड दिए । सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटा र पद्मसुन्दर लावतीहरू राजनीतिमा सक्रिय हुञ्जेल राप्रपाहरूले १० लाखको हाराहारीमा मत ल्याउँथे । तर अहिले जनताको विश्वास गुमाएको देखियो । सबै पाखालागे । पराजय व्यहोर्नु परेपछि यतिखेर डा.प्रकाशचन्द्र लोहनी, पशुपति शम्शेर जबरा र कमल थापाहरूले भाइ फूटे गवाँर लूटे भन्ने कथावा बूढा पाकाहरूको अर्ति बल्ल सम्झिए होलान् ? काम्लामा सातु नमुछ्नु ! मुछेपछि खान नघिनाउनु भन्ने लोकोक्ति याद गरेको भए एमालेको नेतृत्वमा सरकारमा गइसकेपछि एमालेको जुन गति हुन्छ हाम्रो पनि त्यही हुन्छ भनेर नचहारेर बसिरहेका भए राप्रपाहरूले यस्तो दुर्गती भोग्नुपर्ने थिएन । मूसो प्रवृत्ति जनता रुचाउँदैनन् भन्ने सोच कमल थापाले राख्न सकेनन् । “सबै वाम मिलेर जाम् ! सबै वाम मिलेर खाम् ! सबै वम एक ठाम !” को नारा दिएर वामपन्थीहरू सैयौं वर्ष शासन गर्ने रणनीति तयार गर्दैछन् । टुक्रे वामपन्थीहरू प्नि एकीकृत हुने तर्खर गर्दैछन् । अर्को चुनावसम्ममा उनीहरू पनिवाम गठवन्धनमा विलय हुँदैछन् । अब एमाले र माओवादी पार्टी भन्ने हुने छैन । पार्टीको नाम नै नयाँ हुनेछ । पार्टी सभापतिमा पुष्पकमल दाहाल र प्रधानमन्त्रीमा केपीशर्मा ओली रहने करिब करिब टुङ्गो लागेको छ । अढाई/अढाई वर्ष प्रधानमन्त्रीमा आलोपालो गर्ने कि भन्ने पनि कुरा चलेको छ । नेपालको संविधान, २०७२ अनुसार सभामुख र उपसभामुख भिन्न पार्टी हुनुपर्ने व्यवस्था भएकाले सरकार गठन हुनु अघि नै पार्टी एकता गरिएमा एक पद गुमाउनु पर्ने हुँदा माओवादीमा बिर्को लागेजस्तो छ । चुनावमा मिल्न नसकेका मधेस केन्द्रित दलहरू र नेपाली कांग्रेस अहिले कतिञ्जेललाई हो मिल्न खोजेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई राष्ट्रपति बनाउने ग्यारेन्टी गरिए पदबाट राजीनामा पनि गर्छु र निकास पनि निकाल्छु भनेर प्रचण्डलाई विन्तिभाउ गरेका थिएभन्ने राजनीतिक वृत्तमा निकै चर्चाको विषय बनेको छ । तर प्रचण्डले यो कुरा नस्वीकारेपछि देउवाको योजना धमिलो र मन अमिलो हुनपुगेको छ । एमालेसँगै माओवादी विलिन भयो भने त्यस्को अस्तित्वका लागि तत्काल तीन पार्टी जन्मिने तयारी समेत भैसकेको छ । यसका लागि माओवादीभित्रैका नेताहरू धम्की दिंदैछन् । यो नाटक हो कि सत्य के हो? हेर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्