ध्यान : गन्तव्य एक, विधि अनेक



  • धीर भण्डारी

“हसिबा, खेलिबा, धरिवा ध्यानम् ।” गुरु गोरखनाथले आजभन्दा करिब ७५० वर्ष अघि ध्यानको अन्तिम परिणतीबारे बोलेको सूत्र हो यो । ध्यान भन्नेबितिकै हामी बिशेष तामझाम, बिशेष ठाउँ, बिशेष पहिरनमा सजिएका मानिसहरुले आँखाचिम्लेर बसिरहेको सम्झन पुग्छौँ । पतञ्जलीले अष्टाङ्ग योगको चर्चाका क्रममा ध्यानलाई योगको छैठौँ चरणमा राखेका छन् । यम, नियम, आसन, प्राणायाम, धारणा, ध्यान अनि समाधि । योगको पूर्णावस्था समाधिमा गएर हुने हुनाले ध्यानलाई त्यसभन्दा तल्लो खुट्किलोका रुपमा उनले राखेको पाइन्छ ।
गुरु गोरखनाथले निकै अघि ध्यानको अवस्थाका लागि हामीले बनाएको धारणाभन्दा भिन्न रुपमा उल्लेख गरेका भए पनि ओशोभन्दा अघिसम्म ध्यान उत्सवमय, संगीतमय र नृत्यमय हुनसक्छ भन्ने कमैलाई लाग्दथ्यो । आशोको देन यसैमा छ । उहाँले ध्यानलाई नृत्य, उत्सव र उल्लासमय वातावरणसँंग जोडिदिनु भयो । अहिले आएर ध्यानमा संगीत भएन, उत्सव र नृत्य भएन भने ध्यान नै होइन कि भनेजस्तो भइसकेको छ । भजन, गायन, नृत्य तथा उत्सव ध्यानका अभिन्न अङ्ग भइसकेका छन् । ओशोले संसारलाई ध्यानका नयाँ विधिहरु सिकाउनुअघि उत्सव, नृत्य र संगीत ध्यानका अभिन्न र अनिवार्य पक्ष भइसकेका थिएनन् । तर त्यसपछि भने ध्यानका विधिहरुमा नै आमूल परिवर्तन आएको छ । संसारभर अब ध्यान भन्नु एकाग्रतापूर्वक स्थिर आसनमा बसिरहनु मात्र होइन भन्ने मान्यता स्थापित हुँदै गइरहेको छ । ध्यान जुनसुकै विधिबाट गर्न शुरुआत गरे पनि अन्तरनिरीक्षणको माध्यमबाट, आफैँप्रति प्रेम र होस जगाउने कला हो, जसबाट मानिसले मानसिक शान्ति, प्रफुल्लता, सिर्जनात्मकता र आध्यात्मिक सुखको स्रोत फेला पार्न सक्दछ । यसलाई जति सजगताका साथ ग्रहण गर्न र अभ्यास गर्न सक्यो त्यतित्यति गहिराइका साथ जीवनमा ध्यानमय बन्न सकिन्छ ।
त्यसैले गोरखनाथ भन्नुहुन्छ — होसका साथ हिँड्नु, होसका साथ बोल्नु, होसका साथ काम गर्नु सबै ध्यान हुन् । जबसम्म हामी हाँस्दै, खेल्दै, नाच्दै होसपूर्ण हुन सक्दैनौँ तबसम्म हामी ध्यानको नाममा धारणा नै बनाइरहेका हुन्छौँ ।


ध्यानमा प्रगति भइरहेको छ कि छैन भनेर कसरी थाहा पाउने ? भन्ने प्रश्नमा पथिक फाउन्डेशन सतुङ्गलका ध्यान कार्यक्रम संयोजक स्वामी प्रेम सतनाम भन्नुहुन्छ — ध्यानले हामीलाई म एक मानव हुँ भन्ने अनुभूतितिर, सरल जीवनतिर, सहज सोचाइतिर, सरल स्वभावतिर, सामान्यीकरणतिर, निरन्तर होस र जागृतितिर लगिरहेको छ कि भित्रभित्रै म त ध्यान गर्ने हुँ, अरुभन्दा फरक हुँ भन्ने दम्भ र अहंकारतिर लगिरहेको छ ? त्यसले नै ध्यानको गुणवत्ता स्थापित गरिदिन्छ । उनका विचारमा गोरखनाथको यो सूत्रले जीवनलाई सरलतम र स्वाभाविकतम अवस्थामा पुर्याउनु नै ध्यानको लक्ष्य हुनुपर्ने कुरा प्रष्ट्याउँछ । ध्यानी बन्नु भनेको चुपचाप आँखा बन्द गरेर बस्नु मात्र होइन निरन्तर रुपमा होसपूर्ण, सजग, सचेत, स्वाभाविक, उर्जावान् र उत्सवमय हुन सक्नु हो । त्यसैले नृत्य, उत्सव र हाँसो पनि ध्यानकै अभिन्न अंग हुन् भन्छन् उनी । गेरखनाथको ध्यान सम्बन्धी यही सूत्रका आधारमा नै उनी संलग्न संस्था पथिक फाउन्डेशनले ध्यानका कार्यक्रमलाई कर्मका साधनासंग पनि जोडेर लैजाने गरेको छ । कर्ममा सरलता र सहजता आएन भने ध्यान मात्र गरेर त्यसबाट प्राप्त हुनुपर्ने परिणाम हामीले लिन सक्दैनौँ भन्छन् स्वामी सतनाम ।

यसैमा अझ थप्दै स्वामी सतनाम भन्छन् — “ध्यान मानिसको नैसर्गिक अवस्था हो । यसले हामीलाई हाम्रा कृत्रिमता के रहेछन् र हाम्रो स्वाभाविक र सहज स्वरुप के रहेछ भन्ने कुराको सत्यता बोध गराइदिन सक्दछ । सहज स्वभावबाट हामी जतिजति टाढा हुँदै जान्छौँ त्यतित्यति तनाव र दुःखमा फस्छौँ अनि जतिजति सहजता र सरलतातिर जान्छौँ त्यति नै हामी तनावरहित, शान्त र स्थिर हुन सक्दछौँ । ध्यानले यिनै कुराहरुप्रति होसपूर्ण हुन सघाउने हो र आफू्नो सहज अवस्था प्रति होस र प्रेम जगाउन प्रेरित गरिरहने हो । यो काम हामी नाच्दै, हाँस्दै, खेल्दै, काम गर्दै गर्न सक्दछौँ । जरुरत छ हामी ती कुराहरुलाई कति बढी स्वाभाविक खेलका रुपमा लिएर रमाउन सक्दछौँ ।”
ध्यानका चरण के कस्ता छन् त ? भन्ने प्रश्नमा ‘बडीमाइन्ड वेलनेस एण्ड मेडिटेशन सेन्टर’ इमाडोलका स्वामी धर्मदास भन्छन् — मन, शरीर र अन्तस्करणलाई एकाकार गरी आफूले चाहेको विचार, वस्तु र दृश्यमा आफूलाई केन्द्रीत गर्न नसक्तासम्म ध्यान घटित हुन नसक्ने हुनाले यसको प्रथम आयाम हो भावनात्मक संवेदनशीलता र एकाग्रता । कल्पना, भावना, एकाग्रता र शून्यताको चरणमा अघिबढ्ने क्रममा ध्यान घटित हुनसक्तछ । त्यसैले ध्यान गरिने क्रिया होइन यो त घटित हुने बिषय हो । हामीले भन्ने गरेका ध्यानहरु वास्तवमा ध्यानसम्म पुग्ने विधिहरु हुन्, ध्यान होइनन् । ध्यानका केही विधिहरु छन् जसले ध्यानको अवस्थामा पुर्याउन सक्छन् हामी तिनै विधिहरुको प्रयोग गर्न सिकाउँछौँ । यी विधिहरु ध्यानका निम्ति बाटो तयार गर्ने औजारहरु हुन् । नृत्य, उत्सव, मन्त्र उच्चारण, भजन श्रवण तथा गायन यी सबैले हामीलाई सामान्यीकरण गर्न, सहज बन्न, भावनात्मक उर्जा विकास गर्न, तनावरहित र द्वन्द्वरहित सरल र सहज स्वरुपमा पुग्न मद्दत गर्छन् । मानिसको त्यही सहज र स्वाभाविक रुपको दर्शन नै ध्यानको अवस्था हो । यो एक्कासी घटित हुन्छ तर लगातारको प्रयत्नले हामीलाई त्यस अवस्थामा पुग्न मद्दत मिल्छ ।

पथिक फाउन्डेशन ध्यान केन्द्र सतुङ्गलको नृत्य ध्यानमा रमाइरहेकी बानेश्वर, काठमाडौँकी रिता गुरुङ भन्छिन् — ध्यान भनेको आफैँप्रतिको प्रेम र आफ्नो क्रियाकलापप्रतिको होस रहेछ । त्यो हामी नाच्तानाच्तै पनि गर्न सक्छौँ, काम गर्दागर्दै पनि गर्न सक्दारहेछौँ । जरुरी त हामी जे गर्छौ त्यसप्रतिको होस र प्रेमभाव रहेछ । आफूप्रति प्रेम हुन सक्यो भने काहाँ हामी तनावलाई ठाउँ दिन्छौँ र ? आफूलाई प्रेम गर्न सकिएन र म मा तनाव रहेछ भन्ने होस रहेनछ भने त्यो खालि ठाउँ केहीनकेहीले त उपयोग गर्छ नै । त्यही खालि ठाउँमा आउँदो रहेछ तनाव । आफ्ना भावनाहरु प्रति, क्रियाकलापहरु प्रति निरन्तर पे्रमपूर्ण र होसपूर्ण भइयो भने त किन आँखा चिम्लिरहनु पर्यो र ? अनि त ध्यान गर्ने नै भनेर छुट्टै समय पनि छुट्याउन परेन नि । हाँस्दै, खेल्दै, नाच्दै ध्यान हामी पनि गर्ने कि त ?

प्रतिक्रिया दिनुहोस्