देशभरका शिव मन्दिरमा दर्शनार्थीको घुइँचो



कैलाली । ऐतिहासिक महत्व बोकेको महाशिवरात्रिको अवसरमा धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा आज दर्शनार्थीहरूको घुइँचो लागेको छ । बेहडाबाबा मन्दिरमा पूजाआजा गर्नका लागि गए राति १२ बजेदेखि नै भक्तालुहरू आएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए  । कैलाली, कञ्चनपुरलगायत प्रदेशका विभिन्न जिल्लाका मानिस यहाँ दर्शनका लागि आएका छन् । यो मन्दिरको बेग्लै महत्व रहेको छ ।

त्यस्तै छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थी यहाँ आउने गरेका छन् । उनीहरूमा यहाँ आएर मनोकाङ्क्षा पूरा हुन्छ भन्ने विश्वास रहिआएको छ । बेहडाबाबा मन्दिरको दर्शनले मनमा शान्ति एवं इच्छाएको कुरा पुग्ने हुँदा यहाँ प्रत्येक वर्ष भारतको लख्खीमपुर, पलिया, पिलीभित, युपी, उत्तराखण्डलगायतका विभिन्न क्षेत्रबाट भक्तजन आउने गरेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अनुसार पाँचदेखि आठ लाख भक्तालुले पूजा गर्ने अनुमान गरिएको छ । मन्दिर परिसर नजिकै मेलाको पनि आयोजना गरिएको छ । मेलामा यहाँका नेपालीमात्रै नभएर भारतका व्यवसायीसमेत केही दिनअघिबाटै यहाँ आएर विभिन्न पसल सञ्चालन गरेका छन् ।

महाशिवरात्रिकै अवसर पारेर बेहडाबाबा मन्दिरमा हेलिकप्टरद्वारा पुष्प वर्षा र सवा दुई करोड बत्ती प्रज्ज्वलन गरिँदै छ । मन्दिर व्यवस्थापन समिति र बेहडाबाबा पुष्प वर्षा समारोह उपसमितिको आयोजनामा बिहान ११ देखि १२ बजेको समयमा हेलिकप्टरबाट पुष्प वर्षा गराइने र अपराह्न ४ बजे सवा दई करोड बत्ती प्रज्ज्वलन गरिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पदमराज जोशीले जानकारी दिए ।

Nabil bank

हरेक वर्ष आयोजना गरिने महाशिवरात्रि मेलामा पहिलोपटक हेलिकप्टरबाट पुष्प वर्षा गरिन लागिएको उनले बताए । कैलालीको प्रसिद्ध धार्मिकस्थल मानिने बेहडाबाबालाई पर्यटकीय गन्तव्य बनाउन प्रचारप्रसार गर्न हेलिकप्टरबाट पुष्प वर्षा गराउन लागिएको आयोजकको भनाइ छ ।

पुष्प वर्षा कार्यक्रमका लागि नरेन्द्र शाहको संयोजकत्वमा रहेको टिमले रु १४ लाख नौ हजार नौ सय ५० सङ्कलन भएको छ । पुष्प वर्षाका लागि हेलिकप्टर भाडाबापत रु ११ लाख र तीन क्विन्टल फूलको रु दुई लाख गरी जम्मा रु १३ लाख खर्च हुने अनुमान गरिएको आयोजकको भनाइ छ ।

पुष्प वर्षासँगै महाशिवरात्रिमा भक्तजनका लागि महाभण्डारासमेत चलाइएको छ भने उपस्थित सम्पूर्ण भक्तजनलाई निःशुल्क खाना र पानीको व्यवस्था गरिएको छ । त्यस्तै धाममा भक्तजनलाई जान आउनदेखि दर्शन तथा पूजापाठ गर्नसम्मका लागि सम्पूर्ण तयारी गरिएको छ । आवतजावतका लागि बसको व्यवस्था र कडा सुरक्षाकोे व्यवस्था गरिएको छ ।

मङ्गलनाथ महोत्तरीका अर्का जलाधिनाथ

महोत्तरी । आमरूपमा ‘जलाधिनाथ’ भनिँदा महोत्तरीको जलेश्वर–१ स्थित श्री जलेश्वरनाथ भन्ने बुझिन्छ । तर महोत्तरीकै सुदूरपश्चिम दक्षिणी भेगको सोनमा–६ मगरथानास्थित श्री मङ्गलनाथ महादेवको शिवलिङ्ग पनि जलमै विराजमान छ । आज महाशिवरात्रि पर्वका अवसरमा श्री मङ्गलनाथ शिवलिङ्गको दर्शन र पूजाआराधना गर्नेको भीड छ ।

जलेश्वरनाथ भगवान् शङ्करले आफैँ स्थापना गर्नुभएको शिवपुराण र मिथिला माहात्म्यमा वर्णित छ । यसैगरी मङ्गलनाथ पनि अनादिकालमै स्थापित शिवलिङ्ग मानिन्छ । मङ्गलनाथ शिवलिङ्ग तपस्वी योगीजनले पाँच सय वर्षअघि पत्ता लगाएदेखि पूजाआराधना गरिँदै आइएको मगरथानावासी बताउँछन् ।

जमिनको सतहबाट करिव २० फिट गहिराइमा पानीले ढाकिएर रहेको मङ्गलनाथ शिवलिङ्गको आराधनाले समस्त कष्ट निवारण भई सुखसन्तोष प्राप्त हुने जनविश्वास छ । जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ३५ किलोमिटर पश्चिम भारतीय सीमावर्ती मगरथाना गाउँअवस्थित मङ्गलनाथ शिवलिङ्ग जलेश्वरनाथकै झैँ स्थापित परम्पराका हुनुपर्ने मगरथानाका बासिन्दा अशेश्वरप्रसाद यादव बताउँछन् ।

“जलेश्वरनाथ र मङ्गलनाथ समान प्रकृतिका शिवलिङ्ग छन्, दुवै जलमा विराजमान !” यादव भन्छन्, “यो समानताले दुवै शिवलिङ्ग एकै कालमा स्थापित हुन् भन्ने अड्कल गर्न सकिन्छ ।” जलेश्वरधाम क्षेत्र जनकपुरधामसँग निकट रहेका हुँदा खोजीनीतिमा परेका र मङ्गलनाथ दूरदराजमा हुँदा खोज, अन्वेषण र अध्ययनको कम चासोमा परेका यादवको भनाइ छ ।

मङ्गलनाथ शिवलिङ्ग कहिल्यै नसुक्ने पानीमा ढाकिएको पाँच फिट मोटाइ र दुई फिट उचाइको देखिन्छ । मङ्गलनाथ शिवलिङ्ग परिसरमा केही लेखिएको जस्तो देखिने शिला छन् । यिनको पुरातात्विक अध्ययन हुनसके यसबारे थप तथ्य आउनसक्ने मगरथानाकै बासिन्दा शिक्षण पेसाका धर्वेन्द्रकुमार यादव बताउँछन् । यसबारे स्थानीय, प्रदेश र सङ्घीय सरकारले चासो नदिएका मगरथानावासीको गुनासो छ ।

जलाशयमा भेटिएपछि तपस्वीजनले पूजाआराधना गर्दै आएका शिवलिङ्ग परिसरमा पछि मन्दिर निर्माण भएको स्थानीय पाका व्यक्ति बताउँछन् । मन्दिर परिसरमै हाल गणेश र पार्वतीको मन्दिर स्थानीय भक्तले निर्माण गरेका छन् । मन्दिर पसिरमै विशाल पिपलको रुख र पुरानो इनार देखिन्छ । यसैगरी मन्दिरदेखि पूर्व शिवसागर तलाउ छ । यस तलाउमा स्नान गरी यहीँकै जल महादेव मङ्गलनाथलाई चढाइए भक्ति सफल हुने मन्दिरका पुजारी राजदेव गिरी बताउँछन् ।

यहाँ प्रत्येक वर्षको महाशिवरात्रि र साउन महिनाका सोमबारका दिन धार्मिक मेला लाग्दै आएको छ । यस ठाउँको थप अध्ययन र पुरातात्विक अन्वेषणका लागि प्रदेश र सङ्घीय सरकारसँग अनुरोध गरिएको सोनमा गाउँपालिकाका अध्यक्ष विशेश्वर यादवको भनाइ छ ।

डोलेश्वरबाट आशापुरीसम्म दर्शनार्थीको घुइँचो

भक्तपुर । महाशिवरात्रि पर्वको अवसरमा आज भक्तपुरका प्रसिद्ध शिवालय केदारनाथको शिर डोलेश्वर, आशापुरीबाट साँगाको अग्लो कैलाशनाथ महादेवसम्ममा दर्शनार्थीको भीड लागेको छ ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर महादेव मन्दिरमा आज शिवरात्रिका दिन मन्दिरको चारैवटा ढोका खुला गरिएको छ । डोलेश्वर महादेव मन्दिरमा आज दर्शनार्थीको बिहान ४ बजेदेखि नै भीड लागेको र दर्शनार्थीले चारैवटा ढोकाबाट प्रवेश गरेर मन्दिरभित्र प्रवेश गरेर आफैँले पूजा गर्ने व्यवस्था गरिएको मन्दिर विकास तथा संरक्षण समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिए ।

मध्यराति मन्दिरमा विशेष पूजा सम्पन्न गरेपछि बिहान ४ बजेदेखि दर्शनार्थीको आगमन भएको जानकारी दिँदै उनले बिहानैदेखि लामबद्ध भक्तजनका लागि सहज पूजा एवं दर्शन गर्ने व्यवस्था गरिएको बताए । अरु दिन  मन्दिरभित्र प्रवेश गर्न नपाइने भएपनि आजको दिन भने दर्शनार्थीले मन्दिर भित्र प्रवेश गरेर डोलेश्वरमा आफैँले पूजा एवं दर्शन गर्ने व्यवस्था मिलाइएको बताउँदै उनले राति ७ बजेसम्म मन्दिरमा ५० हजारभन्दा बढी दर्शनार्थीको आगमन हुने अपेक्षा गरिएको उनले जानकारी दिए। 

आज रातभर जाग्राम बस्ने र धुनी जगाउने व्यवस्था गरिएको छ । नागा बाबासहित ३०० भन्दा बढी साधुसन्तलाई खाने, बस्ने, धुनी जगाउने व्यवस्था गरिएको जानकारी दिँदै मन्दिरमा लाइन बसेको आधाघण्टा भित्र दर्शन गरिसक्ने गरी व्यवस्था मिलाइएको बताए । मन्दिरमा आउने भक्तजनलाई निःशुल्क भोजन तथा प्रसादीको व्यवस्था गरिएको छ । दर्शनार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै भक्तपुर अस्पताल र सूर्यविनायक नगर अस्पतालले बिहानैदेखि स्वास्थ्य शिविरको व्यवस्था गरेको छ । 

यता सिपाडोलकै प्रसिद्ध आशापुरी महादेव मन्दिरमा पनि दर्शनार्थीको भीड लागेको छ । मनले चिताएको आशा पूरा गर्ने जनविश्वास रहेको आशापुरी महादेवमा मन्दिरमा दर्शनार्थीको भीड लागेको हो । त्यस्तै सूर्यविनायक–१ सिरुटारस्थित गुप्तेश्वर महादेव, सोमलिङ्गेश्वर महादेव, चरखण्डीश्वर महादेव, वडा नं. ५ स्थित अनन्तलिङ्गेश्वर महादेव, सुवर्णेश्वर महादेव, वडा नं. १० चित्तपोल साँगास्थित अग्लो महादेवको रुपमा परिचित कैलाशनाथ महादेव, चित्तपोलकै लटरम्बेश्वर महादेव, भक्तपुरको दत्तात्रय मन्दिर, यातु महादेव मन्दिरमा पनि विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । दर्शनार्थीलाई सहज दर्शन गर्ने व्यवस्था गरिएको जनाइएको छ ।

पर्वतको गुप्तेश्वर र अलपेश्वर गुफामा भक्तनको घुइँचो 

पर्वत । हिन्दूहरूको महान् पर्व महाशिवरात्रिको अवसरमा पर्वतका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । प्रसिद्ध पर्यटकीय तथा धार्मिकस्थल गुप्तेश्वर गुफा र अलपेश्वर गुफालगायत जिल्लाका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको हो ।

सदरमुकाम कुश्माबजारसँगै रहेको गुप्तेश्वर गुफाको दर्शन र गुफाभित्र रहेको शिवलिङ्गको पूजा गर्न बिहानैदेखि भक्तजनको भीड लागेको हो । गुफामा दर्शन र पूजा गर्नका लागि पर्वतका गाउँगाउँबाट सर्वसाधरण आएका छन् भने छिमेकी जिल्ला बागलुङ, कास्की र म्याग्दीबाट समेत ठूलो सङ्ख्यामा भक्तजन आएका छन् । गुफामा दर्शन गर्ने र भजनमा नाचगान गर्ने पनि प्रशस्त छन् ।

गुप्तेश्वर गुफामा पार्वतीले महादेवलाई पतिको रूपमा पाऊँ भनी व्रत बसेको र भगवान् शिव गुप्त रहेको धार्मिक विश्वास रहिआएको छ ।  पार्वती पर्वतकै पाङ्गमा जन्मेकी र गुफामा व्रत बस्ने तथा कालीगण्डकीमा स्नान गर्ने गरेको भनाइ पाइन्छ । एक किलोमिटर लामो गुफामा देवीदेवताका दर्जनौँ आकृति छन् । 

यसैगरी कुस्मा नजिकै वडा नं ९ कटुवाचौपारीमा रहेको अलपेश्वर गुफामा पनि दर्शनार्थीको भीड लागेको छ । शिवरात्रिको अवसरमा यहाँ विशेष मेलाको आयोजना गरिएको छ । पर्वत, कास्की र स्याङ्जाको सिमानामा पर्ने पञ्चासे, डहरे, दक्षिण पर्वतको सेतीवेणीमा रहेको विश्वकै ठूलो शालिग्राम शिला, महाशिलामा रहेको एसियाकै ठूलो दाबी गरिएको महाशिला क्षेत्र, ठूलीपोखरीमा रहेको बाटुलेचौरलगायतका शिवालय मन्दिरमा भक्तजनको बिहानैदेखि मेला लागेको छ । पछिल्लो समय भेटिएको पाङ्गको पार्वती गुफा, देउपुरको शिवालय गुफा र चुवाको लालेश्वर गुफामा पनि मेला लागेको स्थानीयले जानकारी दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्