सिरहा र सप्तरीमा सिञ्चित क्षेत्र बढ्दै



सिँचाइकै अभावमा गतवर्ष राम्ररी धानखेती गर्न नसकेर निराश बनेका सिरहाका किसान यसवर्ष खुशी छन् । आफ्ना अधिकांश जग्गामा रोपाइँ सम्पन्न भएपछि उनीहरु रमाएका हुन् । धनगढीमाई नगरपालिका– १२ का किसान सुबोध महतोले भने,“ सिँचाइको माध्यमबाट भएपनि समयमै रोपाइँ सम्पन्न भयो ।” तर यसवर्ष वैकल्पिक सिँचाइका लागि भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले ‘डिप ट्यूबेल’ जडान गरेपछि खेती गर्न सहज भएको उनको भनाइ छ ।

अघिल्लो सिँचाइको अभावमा करिब एक बिघामा मात्र धान खेती गर्न सकेको उनले यसवर्ष भने दुई बिघा क्षेत्रफलमा धानबाली लगाएको जानकारी दिए । यस्तै सिरहाकै नरहा गाउँपालिका– ५ बलुवाका किसानकारी यादवलाई पनि यसवर्ष धानबाली लगाउन समस्या भएन् । उनले पनि साउनको पहिलो साता नै धान रोपाइँ गरेर थमान मेटाइरहेको बताए ।

‘‘अघिल्लो वर्ष जस्तो यसवर्ष खेती गर्न पानीको कुनै समस्या भएन्” उनले भने, ‘‘यसवर्ष डिप ट्युवेलबाट पानी आएपछि समयमै धान रोपाइँ गरे, खासै पानीको दुःख भएन् ।” महतो र यादव मात्र होइन्, विगतको वर्षमा खेतीका लागि आकाशे पानीको भरपर्दै आएका सिरहा र सप्तरीका किसानको सिँचाइको समस्या विस्तारै टर्दै गएको छ ।

अन्नबालीको भण्डार मानिएको सिरहा र सप्तरीमा बर्सेनि खडेरीको माग खेप्दै आएका किसानलाई राहत पुर्याउने उद्देश्यका साथ भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले डिप ट्युवेल, स्यालो ट्युवेल र पावर ड्रिल जडान गरेपछि आफूहरुको सिँचाइको समस्या टर्दै गएको किसानले बताएका छन् ।

भूमिगत जलस्रोत र सिँचाइ विकास डिभिजन कार्यालय लहानले आर्थिक वर्ष २०७८/७९ मा सिरहा र सप्तरीमा थप दुई हजार ८४० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा विस्तार भएको जनाएको छ । सिँचाइका लागि आर्थिक वर्ष २०७८/७९ मा सिरहा र सप्तरीमा ४५ थान डिप ट्युवेल र ३५ थान पावर ड्रिल जडान गरेपछि सिञ्चित क्षेत्र बढेको कार्यालय लहानका कार्यालय प्रमुख सुदर्शन अधिकारीले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७८/७९ मा जडान गरिएको डिप ट्युवेल र पावर ड्रिलबाट थप सिरहामा एक हजार आठ सय ४८ हेक्टर र सप्तरीमा नौ सय ९२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । एक थान डिप ट्यूवेलबाट ६० हेक्टर र पावर ड्रिलबाट चार हेक्टरमा सिँचाइ हुन्छ ।

आर्थिक वर्ष २०७८/७९ मा सिरहामा २९ थान र सप्तरीमा १६ थान गरी ४५ थान डिप ट्यूबेल जडान गरिएको सो कार्यालयका हाईड्रोजियोलिष्ट दीपीका साहले जानकारी दिए । सिँचाइ सुविधा पुर्याएर कृषिजन्य वस्तुको उत्पादनमा वृद्धि ल्याउने उद्देश्यले सो कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा सिरहामा २७ थान र सप्तरीमा आठ थान पावर ड्रिल समेत जडान गरिएको हाईड्रोजियोलिष्ट साहले बताए ।

यस्तै सो अवधिमा १४ वटा पम्पको मर्मत गरी पुनः सञ्चालनमा ल्याएको, १८ वटा वितरण प्रणाली तथा घर निर्माण गरिएको उनको भनाइ छ । सो आर्थिक वर्षमा सिरहा र सप्तरीका ११ थानमा विद्युतीकरण पम्प जडान गरिएको जनाएको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा सो कार्यालयले सिरहामा ४० थान र सप्तरीमा आठ थान पावर ड्रिल जडान गरेको थियो । उक्त आर्थिक वर्षमा सिरहामा छ थान र सप्तरीमा १५ थान गरी २१ थान स्यालो ट्युबवेल समेत जडान गरिएको थियो ।

किसान समूहमा आवद्ध भएका किसानको माग र सरकारले छनोट गरेको योजना अनुसार सिरहा र सप्तरीमा डिप ट्युबवेल, स्यालो ट्युबवेल र पालर ड्रिल जडान गर्दै आएको प्रमुख अधिकारीको भनाइ छ । यसरी बर्सेनि डिप ट्युवेल, स्यालो ट्युवेल तथा पावर ड्रिल जडान हुन थालेसँगै सिञ्चित क्षेत्र बढ्दै गएको स्थानीय किसानले बताएका छन् ।

‘‘पहिला सिञ्चित क्षेत्र कम रहेकाले वर्षाको भरमा मात्र किसानले खेती गर्दै आएको थियो”, धनगढीमाई नगरपालिकाका किसान श्याम महतोले भने, ‘तर डिप ट्यूवेल र स्यालो ट्यूवेल जडान गर्ने क्रम बढेसँगै विस्तार सिञ्चित क्षेत्र बढ्दै गएको छ ।” यसबाट खेती गर्न सहज भइरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्