पर्यटक आकर्षणको केन्द्र बन्दै बाबाताल



पछिल्लो केही समययता सिरहाको कर्जन्हा नगरपालिका–१ बन्दीपुर स्थित बाबाताल आन्तरिक तथा बाह्य पर्यटकको मुख्य आकर्षणको केन्द्र बन्दै गएको छ ।

पूर्वपश्चिम राजमार्गस्थित बन्दीपुर बजारबाट करिब दुई किलोमिटर उत्तर चुरे क्षेत्रमै टाँसिएर निर्माण गरिएको बाबाताल र वरिपरिको हरियाली वातावरणले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाएको हो ।

बाबाताल वरिपरिको वन, वनभोज स्थल, शिव मन्दिर र निर्माण गरिएको आकर्षक पार्कका कारण पर्यटकको आकर्षण बढ्दै गएकामा थप आकर्षण बनाउन दृश्यावलोकन स्तम्भ (भ्यूटावर)समेत निर्माण गरिएको छ ।

नेपाल सरकारको पर्यटन बोर्डले निर्माण गरेको भ्यू टावरबाट पर्यटकले बाबातालको मनोरम दृश्यावलोकन गरेर बेग्लै सौन्दर्यको अनुभूति गरिरहेको बाबाताल घुम्न आएका पर्यटकले बताएका छन् । बाबाताल र त्यस वरिपरिको मनमोहक दृश्यावलोकनका लागि अहिले दैनिक एक सयदेखि एक सय ५० सम्म आन्तरिक पर्यटक आउने गरेको बाबाताल चुरे संरक्षण संवर्द्धन समितिका अध्यक्ष अञ्जनीकुमार दाहालले बताए ।

“अरु दिनभन्दा सार्वजनिक बिदाका दिन र शनिबारका दिन अलि बढी नै पर्यटक बाबातालमा घुम्न आउने गर्छन्”, अध्यक्ष दाहालले भने, “विस्तारै तालमा घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, त्यही हिसाबले हामीले पनि पर्यटकलाई रमणीय र आकर्षित बनाउने गरी भौतिक पूर्वाधारका काम गरिरहेका छौँ ।”

उनका अनुसार चुरे क्षेत्र नजिकै रहेको उक्त तालमा घुम्न गर्मी यामभन्दा जाडोको मौसम अर्थात् कात्तिकदेखि माघसम्म बढी पर्यटक आउने गर्दछन् । बाबातालप्रति पर्यटकको थप आकर्षण बढाउन ताल क्षेत्रभित्रै फूलको बगैँचा, बालबालिकाका लागि बाल पार्क निर्माण गर्नुका साथै पर्यटकका लागि तालमा बोटिङ गर्ने व्यवस्थासमेत मिलाइएको छ ।

बर्सेनि खेतीयोग्य जग्गालाई बगरमा परिणत गर्ने चुरेको फेदबाट बग्दै आएको खहरे खोलालाई घेरबार गरी आर्थिक वर्ष २०६०/६१ मा भू–संरक्षण कार्यालय सिरहाबाट निर्माण गरिएको बाबाताल क्षेत्रमा आर्थिक वर्ष २०७१/७२ मा राष्ट्रपति चुरे संरक्षण कार्यक्रमअन्तर्गत उदयपुरको बेलसोथ स्थित नेपाली सेनाको राष्ट्र विकास गणले वनभोज स्थल, शिव मन्दिर, बालपार्क बनाएर व्यवस्थित बनाएको थियो ।

अहिले पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको बाबाताल क्षेत्र अवलोकनका लागि सर्वसाधारणदेखि देशका विभिन्न जिल्लाबाट स्कुल तथा कलेजका विद्यार्थीसमेत आउने गरेको सचिव काफ्लेको भनाइ छ । अरु बेलाभन्दा पनि नयाँ वर्ष तथा चाडपर्वका बेला तालमा पर्यटकको बढी घुइँचो लाग्ने गरेको छ ।

अहिले ताल क्षेत्रभित्र नेपाली, मैथिली तथा भोजपुर चलचित्रको छायाङ्कनसमेत हुन थालेको छ । दैनिकजसो कलाकार आउने र सुटिङ गर्ने गरेका छन् । ताल घुम्न आउने पर्यटकका लागि बाबाताल संरक्षण समितिले प्रवेश शुल्क रु १०, तालमा बोटिङ गर्ने पर्यटकका लागि रु ५० र भ्यू टावरबाट अवलोकन गर्न रु २० को टिकटको व्यवस्था मिलाइएको छ ।

आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको बाबातालमा भ्यूटावर निर्माण भएपछि अब बाह्य पर्यटकसमेत आकर्षित हुने समितिका अध्यक्ष दाहालले बताए । करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको बाबाताल घुम्न आउने पर्यटकको सुविधालाई दृष्टिगत गरी ताल क्षेत्रभित्रै धर्मशालासमेत निर्माण गरिएको छ । यसबाहेक ताल क्षेत्रभित्र स्थानीयले घरबारसमेत सञ्चालन गर्ने तयारी रहेकाले सोबारे पर्यटन मन्त्रालयसँग छलफल भइरहेको अध्यक्ष दाहालको भनाइ छ ।

तालमा आन्तरिकका साथै बाह्य पर्यटकसमेत भित्र्याउन राजमार्गबाट तालसम्मको ग्राभेल बाटोलाई कालोपत्र गर्ने र निकट भविष्यमै ताल क्षेत्रमा केबुलकारसमेत सञ्चालन गर्ने ताल संरक्षण समितिको योजना रहेको अध्यक्ष दाहालको कथन छ ।

सरकारी निकाय तथा स्थानीयवासीको समेत गतिलो साथ पाएको बाबाताल क्षेत्र जिल्लाकै प्रमुख पर्यटकीय क्षेत्रका रूपमा देखिन थालेको छ । पर्यटकीय क्षेत्रकै रूपमा व्यवस्थित भएको छोटो अवधिमै ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक भित्र्याउन सफल बाबाताल मुलुककै प्रसिद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीयसमेत जोडतोडका साथ जुटेको स्थानीय बुद्धिजीवी राजकुमार लामाले बताए ।

जिल्लाका अन्य कतिपय पर्यटकीय क्षेत्र ओझेलमा पर्दै गएको बेला पर्यटकको आकर्षणको केन्द्र बनेको बाबातालको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन प्रचार–प्रसार गर्नुपर्ने लामाको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्