अहिले कै नगरप्रमुखहरुले टिकट पाए, काठमाडौं-४ सदाका लागि गुम्ने खतरा !



काठमाडौं महानगरपालिकाका वडा ७, ८, ९ र ३० गरी ४ वडा र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ गरी आठ वडा रहेको काठमाण्डौ-४ नेकपा एमालेका विदेश विभाग प्रमुख डा. राजन भट्टराई र काँग्रेसका महामन्त्री गगनकुमार थापाको चुनावी क्षेत्र हो।

२ पटक प्रत्यक्ष निर्वाचन जितेका गगन थापा हुन भने प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अर्वाैंको बजेट छुट्याएर विकासको लहर ल्याएका डा. राजन भट्टराई, भूगोलसँग जोडिएका नेकपा एमालेभित्रका सबैभन्दा सिनियर नेता भएकोले आगामी संघीय निर्वाचनमा अकस्मात केहि भएन भने दुवै नेता भिड्ने कुरा लगभग निश्चित जस्तै देखिन्छ।

विकासवादी छवि बनाएका डा. राजन भट्टराई आफ्ना कार्यकर्ता र जनतासँग आत्मीय शैली अपनाउन सक्दैनन् भने भाषणबाज गगन थापा विकास योजनामा कुनै काम नगरेपनि कार्यकर्ता र युवापुस्ताका आईकन जस्तै बनेका देखिन्छन्। त्यसैले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनोट र निर्वाचन नतिजाले पनि धेरै हदसम्म आगामी संघीय निर्वाचनको परिणामबारे पूर्वानुमान गर्न सकिन्छ।

स्थानीय निर्वाचनमा उम्मेद्वार छनोटले पार्ने असर
बूढानीलकण्ठ नगरपालिकाका ८ वडा मध्ये १०, ११ र १२ नम्बरमा उम्मेद्वार छनोट प्रक्रिया सर्वसम्मत रुपमा टुङ्गिएको छ। उम्मेद्वारको ५ वर्षे अनुभव र लोकप्रियता हेर्दा छनोट भएका उम्मेद्वारहरु अब्बल नै छानिएका छन्। त्यसैले नेकपा समाजवादी वा नेपाली काँग्रेसले दावी गरेजस्तो कपन क्षेत्र कमजोर क्षेत्र देखिदैन।

यद्धपी समाजवादी र कांग्रेसका स्थानीय नेताहरु बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ११ र १२ मा एमाले हराउने लगभग निश्चित जस्तै छ उस्तै परेमा वडा नम्बर १० मा पनि हराउन सकिन्छ भन्ने सार्वजनिक अभिव्यक्ति दिँदै हिडेका छन्। जनचाहना र जनप्रतिनिधिले गरेका कामहरु हेर्दा ३ वटै वडामा एमालेका उम्मेद्वारहरुले जित्ने लगभग निश्चित जस्तै देखिन्छ। अरु पार्टी भित्रको अन्तरविरोध मिल्यो भने बूढानीलकण्ठ-११ एमालेको लागि तुलनात्मक चुनौतिपूर्ण देखिन्छ।

वडा नम्बर १३ मा एमालेका युवा नेता टिकेश नारायण श्रेष्ठले टिकट पाउने लगभग निश्चित छ। एमाले भित्रका स्थानीय नेताहरुले अन्तरघात गरेनन् भने एमालेका उम्मेद्वार श्रेष्ठले विगतको भन्दा निकै राम्रो मतान्तरले जित्ने देखिन्छ।

वडा नम्बर २ मा एमालेले राजेन्द्र श्रेष्ठलाई टिकट दिने सम्भावना प्रवल छ। त्यसो भएमा विगतमा एमालेले जितेको वडा फेरि पनि एमालेले जित्ने देखिन्छ। यदि श्रेष्ठले टिकट पाएनन् भने पार्टी भित्रको आतरिक समीकरण बिग्रने देखिन्छ जसले गर्दा एमाले बूढानीलकण्ठ -२ को निर्वाचन जित्नु फलामको चिउरा सरह हुने देखिन्छ।

बूढानीलकण्ठ नगरपालिकाका वडा नम्बर ९ तुलनात्मक रुपमा नेकपा एमालेका लागि कमजोर मध्येको वडा हो। जननिर्वाचित वडाध्यक्षको अमेरिका पलायन र अन्य दुई सदस्यहरुले नेकपा एसलाई रोजेपछि ५ मध्ये एमालेतर्फ जम्मा २ जना जनप्रतिनिधिहरु बाँकी रहेका छन्। त्यसैले नेकपा एमालेको तर्फबाट महिला नेतृ सुमित्रा पाण्डे त्रिपाठीले टिकट पाउने लगभग सुनिश्चित जस्तै देखिन्छ।

त्रिपाठी भएका उम्मेद्वार मध्ये सबैभन्दा बढी मत ल्याउने पात्र हुन्। पाण्डेले टिकट पाए पनि पार्टी भित्रको आन्तरिक शक्ति सन्तुलन मिल्न सकेन भने वडा नम्बर ९ पनि जित्न लगभग असम्भव जस्तै देखिन्छ। वडा नम्बर ८ मा उम्मेद्वार छनोटले खासै फरक पार्ने देखिदैन यद्धपी पार्टीको आन्तरिक शक्ति सन्तुलनको व्यवस्थापनले भने चुनावी परिणामलाई फरक पार्ने निश्चित जस्तै छ।

बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारी कि उद्धव खरेल : करिब आधा मतदाता रहेको कपन क्षेत्रलाई एमालेले उपेक्षा गर्ला र ?

क्षेत्र नम्बर ४ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर १, ७, ८ र ३० नम्बर वडा मध्ये विगतको निर्वाचनमा नेकपा एमालेले २ वटा वडाहरु जितेको थियो। त्यसमा पनि सबैभन्दा बढी जनसंख्या भएको वडा नम्बर ७ संघीय निर्वाचनमा सबैभन्दा बढी प्रभाव पार्ने वडा हो।

गत स्थानीय निर्वाचनमा एमाले उम्मेद्वारहरुले का.म. पा. ७ का सबै सिटहरु सुविधाजनक बहुमत ल्याएर जितेको थियो। पार्टीको आन्तरिक किचलोले गर्दा जननिर्वाचित मध्ये ३ जनाले पार्टी छोडि नेकपा एसलाई रोजेका छन्। पार्टी बाटै निर्वाचित बहुसंख्यक जनप्रतिनिधिहरुले पार्टी छोड्दा र आशिष श्रेष्ठ जस्ता युवाहरु समेत अर्को पार्टीमा लाग्दा नेवार समुदायको बाहुल्यता रहेको यस वडामा नेकपा एमालेले जित्न निकै कठिन देखिन्छ।

नेकपा एमालेबाट निर्वाचित भएर पार्टीकै मूलधारमा रहेका जनप्रतिनिधि मध्ये कृष्ण भट्टराई र हालका वडा पार्टी अध्यक्ष दिपेन्द्र पुडासैनी नै वडाध्यक्ष पदका मुख्य दावेदार देखिन्छन्। गतिशीलता, फरक सोच, बौद्धिक व्यक्तित्व, पुराना बासिन्दा र जनतामा प्रभाव पार्न सक्ने क्षमताका कारण दुई मध्ये पुडासैनी नै अब्बल उम्मेद्वार हुन्।

पुडासैनीले नै टिकट पाउँदा पनि पार्टी भित्रका पुराना कार्यकर्तालाई सन्तुलनमा राख्नु, प्रत्यक्ष निर्वाचनको अनुभव नभएका उनलाई जटिल समयमा चुनावी परिणाम आफ्नो पक्षमा पार्नु चानचुने योजनाले भने काम गर्ने देखिंदैन।

नेकपा एमाले काठमाडौंका पूर्व अध्यक्ष समेत रहेका बागमती प्रदेश कमिटीका प्रभावशाली नेता निर्मल कुईकेल र एमाले काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउलाको बसोबास रहेको यस वडामा नेकपा एमालेले यसपटक चुनाव जित्ने सम्भावना प्रवल देखिन्छ।

नेतृत्व लिने, पार्टीमा लामो समय काम गर्ने नेताहरु कुईकेल र देउला भएको वडामा पटक-पटक पराजय भोग्दा उनीहरुको राजनीतिक छवीमा समेत असर पर्ने भएकोले का.म. पा. ८ लाई दुवै नेताले अवसरको रुपमा उपयोग गर्ने देखिन्छ। जसले गर्दा वडा नम्बर ८ एमालेले विगतको निर्वाचनमा हारेको वडा भएपनि यसपटक जित्ने सम्भावना रहेको एमालेका जिल्ला कमिटीका सदस्यले परिवर्तन खबरलाई बताए।

नगरप्रमुखको उम्मेदवारले निर्धारण गर्ने यसपटकको निर्वाचन

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रमुखमा एमालेका नेताहरु विद्यासुन्दर शाक्य र उद्धवप्रसाद खरेलले जिते। पछिल्लो समय शाक्य नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य भएका छन् भने खरेल पार्टीको बागमती प्रदेश संगठन कमिटीका सदस्य छन्। नगरप्रमुखको रुपमा दुबैको कार्यकाल नियमित ढंगले चल्यो।

दुवैजना नगरप्रमुखहरु आर्थिक विवादमा मुछिएका छैनन्। प्रादेशिक र संघीय बजेटले पूर्वाधार विकासमा मनग्गे विकास भएको भएपनि स्थानीय साधन श्रोत बढाउने र प्रभावकारी परिचालन गर्ने विषयमा दुवै नगरप्रमुख असफल जस्तै भए। न उनीहरुले करका दायरा बढाए, न प्रभावकारी रुपमा स्थानीय राजश्व संकलन गर्नेमा जोड दिए। सामुदायिक विद्यालय र स्वास्थ्य सेवा सुधारमा क्षेत्रमा गर्नुपर्ने कामबारे यिनीहरुले चासो नै दिएनन्। उधमशीलताप्रति दुवै नगरप्रमुखको उदाशिनता राजाधानीवासीको लागि सारै दिक्कलाग्दो देखिन्छ।

नराम्रो खासै गरेनन् वा भन्ने पनि केहि गरेनन् -समग्रमा भन्दा सरकारी सेवा सुविधा पचाए। आत्मरतिमा रमाए।

शाक्यले मिडिया प्रयोगलाई प्रतिबन्ध जस्तै गरे। फोन सम्पर्कमा आउन चाहेनन्। सक्ने र गर्नुपर्ने संचार माध्यामको प्रयोगमा शुरुवाती दिनहरु देखि नै टाढा भए। कार्यकर्ता र जनताको सम्पर्कमा जान अरुची देखाए। संघीय र प्रादेशिक निर्वाचनमा पार्टी उम्मेद्वारहरुलाई जिताउन खेल्नुपर्ने जत्ति भूमिका खेलेनन्।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेलले पनि प्रादेशिक र संघीय निर्वाचनमा पार्टी उम्मेद्वार जिताउन कुनै भूमिका निर्वाह गरेनन्। कांग्रेस सांसद गगन थापाले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ मा सुनियोजित ढंगले मच्चाएको बमकाण्डको सहयोगी जस्तै बने। एमाले श्रोतका अनुसार नगरप्रमुखलाई बमकाण्ड बारेमा अग्रिम जानकारी थियो तर उनले त्यसबारेमा सम्बन्धित निकायमा गर्नुपर्ने खबरदारी गरेनन्।

बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा ११ जना र उपप्रमुखमा ५ जनाको दाबी

एमाले श्रोतका अनुसार खरेलले संघीय निर्वाचन अघि सांसद गगन थापासँग वान टु वान भेट गरे। त्यसैको परिणाम स्वरुप नगरप्रमुखको स्थायी बसोबास भएको वडाबाटै नेकपा एमाले र माओवादी केन्द्र समेतका संयुक्त उम्मेद्वार डा. राजन भट्टराईले स्थानीय निर्वाचन खरेलले पाएको भन्दा झन्डै आधा मात्र मत पाए।

सबैतिर जित्ने उपयुक्त उम्मेदवार को हुन सक्छन त ?
राजनीति सम्भावनाको खेल हो। गत स्थानीय निर्वाचनमा मिलेका पार्टीहरु प्रादेशिक र संघीय निर्वाचनसम्म आईपुग्दा छुट्टिए। नेकपा एमाले र माओवादी केन्द्र जस्ता दुष्मनको व्यवहार गर्ने पार्टीहरु प्रादेशिक र संघीय निर्वाचनमा मिलेर उठे। उनीहरुको एकतालाई जनताले पत्याईदिए।

काठमाण्डौ महानगरपालिकाका वर्तमान प्रमुख विद्यासुन्दर शाक्यले जनअपेक्षा अनुसार काम गर्न सकेनन्। त्यसैले महानगरवासीले बैशाख ३० को निर्वाचनमा नेकपा एमालेको तर्फबाट केशव स्थापितलाई नगरप्रमुखको रुपमा खोजेको देखिन्छ। प्रभावशाली वाककला र भिजन भएको नेताको रुपमा चिनिएका स्थापितले २०५४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएर गरेका कामहरु अझैपनि उनको परिचय बनेर ठडिएका छन्।

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेल पनि २ पटक परिक्षण भै सकेका नेता हुन्। २०५४ सालको स्थानीय निर्वाचनमा चपली गाउँ विकास समितिका अध्यक्ष भएका उनको कार्यशैली र चिन्तनमा खासै फरक नभएको एमाले बूढानीलकण्ठ नगरकमिटीका सचिवालय सदस्यले बताएका छन्। गाउँ विकास समितिबाट शहर बनेको स्थानमा खरेलले आफूलाई एउटा गाउँको नेताको घेराभन्दा माथि उठ्न समेत सकेनन्।

त्यसैले वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा यो पटक साविक कपन गाउँ विकास समितिका अध्यक्ष मिठाराम अधिकारीलाई एमालेबाट नगरप्रमुखको रुपमा हेर्न चाहेका छन्। कपन क्षेत्रमा करिब आधाजति मतदाता रहनु र खरेलको हिपाईमा कपन पर्नुले पनि अधिकारी यो आगामी निर्वाचनमा नगरप्रमुखका शसक्त उम्मेद्द्वार हुन्।

स्थानीय निर्वाचनमा सँधै सबल रहेको नेकपा एमाले संघीय निर्वाचनमा पराजित हुनुको कारण निर्वाचित जनप्रतिनिधिहरुको कमजोरी नै हो। विगतमा काम गरेको अनुभव हेर्दा स्थापितले महानगर तर्फबाट डा. भट्टराईको माहोल बनाउन शसक्त भूमिका निर्वाह गर्नेछन् भने बूढानीलकण्ठ नगरपालिकाबाट अधिकारीले निर्णायक धक्का दिन सक्छन्। यदि वर्तमान नगरप्रमुखहरुनै दोहोरिने अवस्था भयो भने स्थानीय निर्वाचनमा कनिकुथी जितेपनि उनीहरुको विगतको भूमिकाले फेरिपनि एमालेलाई कहिल्यै उठ्न नसक्ने गरी हराउने छ। काठमाण्डौ-४ लामो समयको लागि कांग्रेसको पोल्टामा जाने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्