निर्मल देउला काठमाडौंको बागडोर सम्हाल्ने तयारीमा



काठमाडौं । जेष्ठ २६ देखि २८ गतेसम्म हुने नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको सातौ अधिवेसनमा अध्यक्षमा उम्मेद्वारी दिदै निर्मल देउलाले अब काठमाडौंको बागडोर सम्हाल्ने तयारी थालेका छन् ।

जिल्ला अधिवेसनका लागि प्रतिनिधि छनौटको काम सम्पन्न गरेको जिल्ला कमिटीले जेष्ठ १८ गते यस कार्यकालको अन्तिम पूर्ण बैठक समेत राखेको छ। जेष्ठ १५ गते भएको जिल्ला अधिवेसनका लागि भएको प्रतिनिधि छनौटमा कतिपय वडामा सर्वसम्मत प्रतिनिधि चयन भएका छन भने कतिपय वडामा निर्वाचन भएको छ।

यसै क्रममा काठमाण्डौ महानगरपालिका वडा नं ८ मा प्रतिनिधि छनौटका क्रममा भएको निर्वाचनमा नेकपा एमाले काठमाण्डौका पुर्व अध्यक्ष निर्मल कुइकेललाई महानगर कमिटीका निवर्तमान अध्यक्ष निर्मल देउलाले पराजित गरेका छन। सो निर्वाचनमा देउलाले ५१ मत प्राप्त गरेका थिए भने कुइकेलले २५ मत प्राप्त गरेका थिए। कुइकेल जिल्ला अध्यक्ष रहदा देउला जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव रहेका थिए।

लामो समयदेखि काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा कार्यालय सचिव रहेका देउलाले प्रतिनिधि छनौट भए संगै जिल्ला कमिटीको अध्यक्षमा उम्मेद्वारी दिने बताएका छन।

नेकपा एमाले काठमाण्डौ महानगर कमिटीका निवर्तमान अध्यक्ष समेत रहेका देउलाले जिल्ला कमिटीको अध्यक्ष पदमा उम्मेद्वारी दिने तयारी गरेको बताउदै यसका लागि प्रारम्भिक रुपमा परामर्श र छलफल अगाडी बढाएको कपन अनलाइनलाई जानकारी दिएका छन।

देउलाले जिल्ला अध्यक्ष पदमा उम्मेद्वारी दिने घोषणा गरेसंगै काठमाण्डौ जिल्ला कमिटीको अधिवेसनका वारेमा चर्चा र बहस तीव्र बनेको छ। देशको राजधानी काठमाण्डौमा हुने जिल्ला अधिवेसनलाई निकै महत्वपूर्ण रुपमा लिइएको छ।

हालसम्म नेकपा एमाले काठमाण्डौको नेतृत्व कृष्णगोपाल श्रेष्ठ, सानु श्रेष्ठ , रामेश्वर फुँयाल, निर्मल कुइकेल, गोविन्द कृष्ण अधिकारी, कृष्ण राई ,दिपक निरौला लगायतले गरेका छन।

प्रतिक्रिया दिनुहोस्