बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा मिठाराम अधिकारी कि उद्धव खरेल : करिब आधा मतदाता रहेको कपन क्षेत्रलाई एमालेले उपेक्षा गर्ला र ?



देशकै दोश्रो ठूलो जनसंख्या रहेको बूढानीलकण्ठ नगरपालिकामा जम्मा ४८,४७५ मतदाता रहेका छन्। १३ ओटा वडामा विभाजित बूढानीलकण्ठ नगरपालिकाको गत स्थानीय निर्वाचनमा नेकपा एमालेले ११ ओटा वडा एमालेले जित्न सफल भएको थियो।

साविक कपन गाउँ विकास समितिबाट अहिले बूढानीलकण्ठ नगरपालिका बन्दा वडा नम्बर १०, ११ र १२ कपन क्षेत्रमा रहेका छन्। गत स्थानीय तहको निर्वाचनमा एमालेले एकल रुपमा तीन वटै वडा जितेको थियो। कुल मतदाता संख्याको हिसाबले हेर्दा कपन क्षेत्रमा मात्रै १८, २२६ मतदाता रहेका छन्।

को हुन् मिठाराम अधिकारी ?

कपन गाउँ विकास समिति हुँदा २०५४ सालमा जब मिठाराम अधिकारी अध्यक्ष बने त्यसपछि विकास र नेकपा एमालेको लागि कपन उर्भर भूमि बनेको एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा कपन एमालेका पुराना नेता राजन पोखरेलले धेरै सार्वजनिक कार्यक्रममा बताउने गरेका छन्।

मिठाराम अधिकारी कपन क्षेत्रमा मात्र होईन, साविक चुनिखेल र महाँकाल गाविस, अहिले बूढानीलकण्ठ वडा नम्बर ८,९ र १३ मा उत्तिकै लोकप्रिय छन्। राजनीति मात्रै होईन, विभिन्न सामाजिक काम, हरेक व्यक्तिका निजि समस्यामा समेत सहजीकरण गर्ने मिठाराम अधिकारीले टिकट पाउने हो भने कपन आसपासको क्षेत्रबाट ८० प्रतिशत भन्दा बढी मत ल्याउने दावी नेकपा एमाले बूढानीलकण्ठ-१० का अध्यक्ष जगतप्रसाद निरौला गर्छन।

गत स्थानीय तहको निर्वाचनमा समेत मिठाराम अधिकारी नेकपा एमालेबाट शसक्त उम्मेद्वार थिए। पार्टीको आन्तरिक खिचातानीले गर्दा स्थानीय तहको निर्वाचनमा टिकट नपाएका उनले पार्टी जिताउने अभियानमा दिलो ज्यान दिएर लागे। गत प्रदेश सभा निर्वाचनमा मिठाराम अधिकारीको नाम लगभग टुङ्गिएको थियो। फेरिपनि विभिन्न बहाना बनाएर उनलाई टिकट वितरणबाट बन्चित गरियो।

अधिकारीले टिकट पाएनन् तरपनि उनी नेकपा वा नेकपा एमालेका उम्मेदवार जिताउन निरन्तर लागि परे। तर टिकट पाएर निर्वाचित भएका कुसुम कार्कीले गगन थापासँग साँठगाँठ गरेर डा. राजन भट्टराईलाई हराएको आरोप लाग्यो तर पटक-पटक अपमानित हुँदा पनि अधिकारीले पार्टी हित विपरित कहिल्यै पार्टी उम्मेद्वारलाई कमजोर बनाउन लागेनन्।

विगत ५ वर्षदेखि पटक-पटक पार्टीबाट अपमानित भएर पनि अधिकारी कपन बहुमुखी क्याम्पसको भवन निर्माण समितिका संयोजक रहें , उनकै विशेष पहलमा डा. राजन भट्टराई मार्फत क्याम्पस निर्माणको लागि करोडौँको बजेट बिनियोजन गराएर कपन क्याम्पसलाई दीगोपना तिर लैजान अतुलनीय योगदान पुर्याए।

कपन ह्यान्डबल विकास समितिको अध्यक्ष समेत रहेका अधिकारीको लामो प्रयासपछि अहिले कपन ह्याण्डबलले निर्माणमा गति लिएको छ। सरल, सहज र आम कार्यकर्ता तथा जनताको अप्ठ्यारोमा समेत सहयोग गर्ने अधिकारीले यहि विचमा समेत कपन आसपासका क्षेत्रहरुमा रहेका सिमा विवाद, बाटो विवाद, अंश विवाद र पारिवारिक झगडामा समेत सहजीकरण गरी न्याय सम्पादन समेत गरिरहेका छन्।

साधा जीवनशैलीलाई आफ्नो आदर्श बनाएका अधिकारी धुम्रपान र जाँड रक्सी सेवन नगर्ने एमालेका थोरै नेता/कार्यकर्ताहरु मध्येका एक हुन्। सामुहिक निर्णयमा विश्वास गर्ने अधिकारी हरेक कुरालाई गम्भीरतापूर्वक लिन्छन्। सबैका कुरा सुन्छन् र उपयुक्त सुझावलाई अपनत्व लिएर कार्यान्वयन गर्न समेत अप्ठ्यारो मान्दैनन्। जनताका सानासाना समस्यामा पनि समाधानका बाहक बन्ने अधिकारी राजनीतिक निष्ठा र कम्युनिष्ट आदर्श अनुसार चल्ने थोरै नेतामा समेत गनिन्छन्।

बूढानीलकण्ठवासीले वर्तमान नगर प्रमुख उद्दव खरेल, उपप्रमुख रमादेवी राईको क्षमता, कार्यशैली र योगदान एक कार्यकाल अनुभव गरी सकेका छन्। सामान्य काममा निष्ठापूर्वक लाग्ने यी नेताहरुले नगरविकासको लागि नयाँ भिजन ल्याउन समेत सक्ने देखिदैंन भने अरुले दिएका उपयुक्त सुझावहरु समेत ग्रहण गर्ने छाँटकाँट देखिदैन। त्यसैले पनि बूढानीलकण्ठ नगरपालिकाको नगर प्रमुखमा नयाँ अनुहारले प्रवेश पाउनु राजनीतिक गतिशीलता र वर्तमान समयको आवश्यकता समेत देखिन्छ। त्यसैले कपन जस्तो अत्यधिक मतदाता रहेको क्षेत्रबाट, यस क्षेत्रको लोकप्रिय नेता र पटक-पटक आश्वासन पाएर टिकट नपाएका मिठाराम अधिकारी नै उपयुक्त पात्र हुन्।

सरल, सहज र सामान्य जीवन शैली अपनाउने मिठाराम अधिकारीको जनसम्बन्ध निकै गहिरो छ। नेकपा एमाले बागमती प्रदेश संगठन कमिटी सदस्य रहेका अधिकारी नै वर्तमान बूढानीलकण्ठ नगरपालिकामा नगरप्रमुखका उपयुक्त पात्र हुन्।

को हुन् उद्धव खरेल ?

उद्दव खरेल पूर्व शिक्षक, चपली गाउँ विकास समितिका अध्यक्ष हुँदै गत स्थानीय निर्वाचनबाट बूढानीलकण्ठ नगरपालिकाका नगरप्रमुख एमाले बागमती प्रदेश संगठन कमिटीका सदस्य समेत हुन्।

देखिनेगरी आर्थिक अनियमितता र चारित्रिक रुपमा प्रश्न उठाउनै नसकिने खरेल स्वघोषित ब्रम्हज्ञानी हुन्। बूढानीलकण्ठ नगरपालिकामा आफूलाई एकमात्र मसिया ठान्ने खरेल नेताको आर्शिवादबाट सत्तामा आईरहने भाग्यमानी पात्र समेत हुन्। उद्दव खरेलको पाँच वर्षलाई सन्तुलित समीक्षा गर्दा नयाँ काम गर्ने, क्रियटिभ काम गर्ने, शहरी सभ्यताको विकास गर्ने अगुवाको रुपमा भन्दा पनि बजेट दुरुपयोग नगर्ने, खासै आफन्त नचेप्ने, नबिगार्ने सरदर नेताको रुपमा मूल्याँकन गर्न सकिन्छ।

मध्यम वर्गीय परिवारमा जन्मिएर शिक्षकको रुपमा जागिरे बनेका उनी शिक्षकबाट राजीनामा दिएर गाउँ विकास समितिका अध्यक्ष बने। राजनीतिलाई सामान्य ढंगले निरन्तरता दिएका उनी वडाध्यक्षका उपयुक्त उम्मेद्वार भएपनि राजनीतिक पहुँचका आधारमा नगरप्रमुख बने।

राजनीतिमा आशीर्वाद पाएर जिम्मेवारी पाएका खरेलले आफ्नो नगरपालिका भित्र पूर्व उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा पारिएका योजनाहरुको कारण विकासको क्षेत्रमा धेरै गरेको जस भने पाउने भए।

खरेलको कमजोरी करोडमा होईन, अरबमा परेका योजनाहरु लथालिङ्ग छाड्ने, नगर कार्यपालिकाका निर्णयहरु कार्यान्वयन नगर्ने, दिगो विकासका योजनाहरु भन्दापनि खुद्रे योजना वितरणमा ध्यान दिने हुन्।

सामुहिकतामा विश्वास गर्ने कम्युनिष्ट पार्टी पद्धतिको ठाडो उलंघन गर्दै आफूलाई मात्र ठिक ठान्ने, अरुलाई विश्वासै नगर्ने, आफू भन्दा अरुको कुनै किसिमको क्षमता नै नभएको देख्ने उनको कार्यशैली हो।

पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् वा पार्टी कमिटीका सदस्यहरु नै किन नहुन् सबैलाई वेवास्ता गर्ने तर बूढानीलकण्ठ मै जन्मिएका विपक्षी पार्टी, समर्थक वा कार्यकर्ताहरुलाई चेप्ने र जिम्मेवारी दिने प्रवृति सामुहिकतामा विश्वास गर्ने कम्युनिष्ट आचारण विपरितको देखिन्छ। उनको यहि आचारण र स्वज्ञानी धारणाले नगरपालिका भरिबाट अनुभवी र योगदान पुर्याएका व्यक्तित्वहरु समेटेर गठन गरिएको सल्लाहकारहरुको समितिले कुनै काम गर्ने अवसर नै पाएन।

उनको सबैभन्दा ठूलो कमजोरी भनेको चाहिने-नचाहिने मान्छे भेट्ने र कार्यालय मै अप्रासंगिक कुरा गर्ने हो। हरेक भेटमा आफ्ना सहयोगीदेखि कार्यालयका कर्मचारी, पार्टी कार्यकर्तादेखि अघिल्लो भेटमा भएका व्यक्तिका कुराहरु समेत दोश्रो भेटमा भएका साथीहरुसँग कुरा काट्ने। अरुको योग्यता, क्षमता र योगदानलाई पुरै वेवास्ता गर्ने आफू नजान्ने र जान्न पनि नखोज्ने नै खरेल प्रवृति देखिन्छ। कार्यालय समयमा होस् वा अरु छलफल, अरुका कुरा सुन्ने नसक्ने। कार्यालयमा एउटा सामान्य काम लिएर गएको व्यक्ति होस् वा नगरपालिकाको विकासमा योगदान पुर्याउने व्यक्ति होस्। उहीँ ढंगको व्यवहार गर्ने।

खरेल कार्यालयमा रहँदा उनको अधिकाँश समय एउटा कार्यकर्ताको कुरा अर्कोलाई, एउटा कर्मचारीको कुरा अर्कोलाई काटेरै दैनिक विताउँछन्। योजना बनाउने विषयगत छलफल गर्ने, सल्लाहकार समिति वा समाजका अरु अगुवाहरुको धारणा सुन्ने खरेलको छलफल सूचीमा नपर्ने विषय हुन्। समग्रमा भन्दा ग्रामीण क्षेत्रको अशिक्षित समाजका महिलाहरुले पँधेरीमा गर्ने पात्र भन्दा खरेलको भिन्नता भनेको उनी प्रष्ट र कतिपय अस्वस्थामा अलि सभ्य भाषामा बोल्छन्।

खरेलको यहि प्रवृतिको कारण प्रमुख सल्लाहकारको रुपमा रहेका तत्कालिन नेकपा बागमती प्रदेश सचिवालय सदस्य सुन्दर पुर्कुटी कार्यालय जानै छोडेका थिए। दलित आयोगमा सदस्य भएपछि अहिले उनीहरुको खासै भेटघाटै हुँदैन। करिब ४ वर्ष आफ्नै सहयोगी रुपमा काम गरेका सुमित खरेलले कहिल्यैं जस पाएनन्। कार्यक्रम र योजनामा छुट्याउने समय अरुको कुरा काट्न बिताएको देखेर यस्तालाई नगरप्रमुख मान्नुभन्दा आफैँ नगरप्रमुख हुन्छु भनेर स्वतन्त्र उम्मेद्वारी दिएका छन्। आफन्त र पारिवारिक रुपमा सम्बन्ध भएका सुमित खरेल शहरमा हुर्किएका शिक्षित युवा मात्र होईनन् नयाँ पुस्ताको प्रतिनिधि पात्र समेत हुन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्