बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा ११ जना र उपप्रमुखमा ५ जनाको दाबी



काठमाडौं । बैशाख ३० गते सम्पन्न हुन गईरहेको स्थानीय तहको निर्वाचनको लागि देशकै दोश्रो ठूलो जनसंख्या भएको बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा ११ जना र उपप्रमुखमा ५ जनाले दाबी गरेका छन्।

प्रमुखको दावी गर्नेमा वर्तमान नगरप्रमुख उद्दवप्रसाद खरेल र उपप्रमुख रमादेवी राईदेखि बागमती प्रदेश संगठन कमिटीका मिठाराम अधिकारी, संगम गहतराज छन्। त्यतिमात्र होईन प्रमुख मै दावी गर्नेहरुमा जिल्ला कमिटीका सदस्यहरु जयराम थापा, विदुरविक्रम खड्का, मधु अधिकारी, लक्ष्मी संग्रौला, रहेका छन्।

नगरप्रमुखको रेशमा नेकपा एमाले बूढानीलकण्ठ नगर कमिटीका अध्यक्ष प्रदीप डंगोल, नगर सचिव श्रीकृष्ण श्रेष्ठ र बूढानीलकण्ठ १० का पार्टी अध्यक्ष जगतप्रसाद निरौला समेत रहेका छन्।

बूढानीलकण्ठवासीले वर्तमान प्रमुख र उपप्रमुखको योगदान एक कार्यकाल अनुभव गरी सकेका हुनाले नगरप्रमुखमा नयाँ अनुहारले प्रवेश पाउनु राजनीतिक गतिशीलता र वर्तमान समयको आवश्यकता समेत देखिन्छ। त्यसो हुन सकेमा कपन जस्तो अत्यधिक मतदाता रहेको क्षेत्रबाट अघिल्लो पटकको स्थानीय तह निर्वाचनमा समेत नगरप्रमुखको रेशमा रहेका मिठाराम अधिकारी उपयुक्त पात्र हुन्।

विगतमा कपन गाउँ विकास समितिको अध्यक्ष भएका अधिकारी सरल, सहज छन् भने जनतावीच उनको गहिरो सम्बन्ध छ। सामाजिक क्षेत्रमा समेत निरन्तर लागेका अधिकारी पार्टी कार्यकर्ता बीच समेत लोकप्रिय नेता हुन्। पार्टी जिम्मेवारीमा बागमती प्रदेश कमिटी सदस्य समेत रहेका अधिकारी वर्तमान नगर प्रमुख खरेलका उपयुक्त विकल्प हुन्। 

प्रतिष्पर्धामा रहेका अन्य उम्मेद्वारहरु वर्तमान नगरप्रमुखका विकल्प कै रुपमा देखिन्छन्। तर वर्तमान परिस्थिति र राजनीतिक पहुँच हेर्दा खरेल नै दोहोरिने सम्भावना सबैभन्दा प्रवल देखिन्छ। आर्थिक  र चारित्रिक रुपमा खोट देखाउने ठाउँ नभएपनि खरेलले उपप्रधान तथा रक्षा मन्त्री रहँदा ईश्वर पोखरेल र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा पारिएका योजनाहरुको सफल कार्यान्वनमा कुनै तदारुकता देखाएनन्।

करोडमा होईन, अरबमा परेका योजनाहरु लथालिङ्ग पार्ने, नगर कार्यपालिकाका निर्णयहरु कार्यान्यन नगर्ने, दिगो विकासका योजनाहरु भन्दापनि खुद्रे योजना वितरणमा ध्यान दिने उनका विकासको क्षेत्रमा देखिएका कमजोरीहरु हुन्। आफूलाई ब्रम्हज्ञानीको रुपमा स्वघोषणा गरेर अरुका सल्लाह र सुझावलाई वास्तै नगर्ने उनका चिन्तनगत कमजोरी हुन्।

सामुहिकतामा विश्वास गर्ने कम्युनिष्ट पार्टी पद्दतिको ठाडो उलंघन गर्दै आफू भन्दा अरुलाई विश्वासै नगर्ने, आफू भन्दा अरुको कुनै किसिमको क्षमता नै नभएको देख्ने उनको कार्यशैली हो। पार्टीबाट निर्वाचित जनप्रतिनिधि हुन् वा पार्टी कमिटीका सदस्यहरु नै किन नहुन् सबैलाई वेवास्ता गर्ने तर बूढानीलकण्ठ मै जन्मिएका विपक्षी पार्टी, समर्थक वा कार्यकर्ताहरुलाई चेप्ने र जिम्मेवारी दिने प्रवृति सामुहिकतामा विश्वास गर्ने कम्युनिष्ट आचारण विपरितको देखिन्छ। उनको यहि आचारण र स्वज्ञानी धारणाले नगरपालिका भरिबाट अनुभवी र योगदान पुर्याएका व्यक्तित्वहरु समेटेर गठन गरिएको सल्लाहकारहरुको समूह काम गर्ने वातावरण नपाएर निष्क्रिय जस्तै भयो।  

खरेलको यहि प्रवृतिको कारण प्रमुख सल्लाहकारको रुपमा रहेका तत्कालिन नेकपा बागमती प्रदेश सचिवालय सदस्य सुन्दर पुर्कुटीले बाटैमा यात्रा छोड्न बाध्य भए। करिब ४ वर्ष आफ्नै सहयोगी रुपमा जिम्मेवारी पाएका सुमित खरेल जस्ता नयाँ पुस्ताको प्रतिनिधित्व गर्ने पात्रले नगरप्रमुख मै स्वतन्त्र उम्मेद्वारी घोषणा गरे।

उपप्रमुखको दावी गर्ने विन्दा गौतम नेकपा एमालेकी राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् भने उनको साथमा दावी गरेका सुनिता गुरुङ, भगवती निरौला र लक्ष्मी न्यौपाने रहेका छन्।  उपप्रमुखमा दाबी गर्नेहरुमा विन्दा गौतम अघिल्लो निर्वाचन मै उपप्रमुखकी शसक्त दावेदार हुन् भने नगर कमिटी उप-सचिव सुनिता गुरुङ क्षेत्रगत र जनजाति समुदायकी प्रतिनिधि पात्र समेत हुन्। 

वडा सदस्य र नगरपालिकाको न्यायीक समितिमा बसेर काम गरिसकेकी भगवती निरौलाले उपप्रमुख कै लागि वडा सदस्यमा उठ्ने ईच्छा गरिनन्। भूगोलका हिसाबले कपन क्षेत्रबाट नगर प्रमुखको उम्मेद्वारी पाएमा नेवार समुदायबाट मंजु श्रेष्ठ र अन्य समुदायबाट लक्ष्मी न्यौपाने उपयुक्त पात्र हुनसक्छ।

प्रतिक्रिया दिनुहोस्