नेकपा एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेको रोचक जीवनकथा



नेकपा एमालेले चितवनमा सम्पन्न गरेको ऐतिहासिक दशौँ राष्ट्रिय महाधिवेशनपछि २०७८ मंसिर २५ र २६ गते भक्तपुरमा सम्पन्न पार्टीको दोश्रो पूर्ण केन्द्रीय कमिटी बैठकले पार्टीको विदेश विभागमा रहेर महत्वपूर्ण योगदान पुर्याएका नुवाकोट २ (क) बाट निर्वाचित प्रदेश सांसद केशवराज पाण्डेलाई बागमती प्रदेशको अध्यक्षमा जिम्मेवारी दियो।

अनेरास्ववियुबाट राजनीतिक जीवनमा प्रवेश गरेका विज्ञान र समाजशास्त्रका स्नातकोत्तर उपाधि प्राप्त पाण्डे कसरी राजनीतिमा प्रवेश गरे ? बागमती प्रदेश संगठन कमिटीको अध्यक्ष हुनुपूर्व उनले पार्टी तथा सामाजिक जीवनमा के-के योगदान पुर्याए।  नेकपा एमाले बागमती प्रदेश अध्यक्ष पाण्डेसँग गरिएको कुराकानीका आधारमा तयार पारिएको उनको जीवनकथा :

पारिवारिक पृष्ठभूमि :

बुवा पर्शुराम पाण्डे र आमा मगंला गौरी पाण्डेका पाँच छोरी र २ छोराहरु मध्ये परिवारको माइलो सन्तान र जेठो छोराको रुपमा वि.सं २०२२ साउन २१ गते नुवाकोटको बेलकोट गढी नगरपालिका वडा नं. १३ दाङमईमा केशबराज पाण्डेको जन्म भएको हो।

पंचायती व्यवस्थामा राजनीतिमा सक्रिय बुवाबाट परिवारका जेठा छोरा पाण्डेमा राजनीतिक चेतना शुरु भएको देखिन्छ । २०४६ सालमा विष्णुमाया कँडेलसँग प्रेम विवाह गरेका पाण्डेका १ छोरी १ छोरा छन्।  

अध्ययनः

गाउँकै श्री शक्ति मा.वि.बाट कक्षा ५ सम्मको अध्ययन पुरा गरेका पाण्डेले काठमाडौँको शान्ति शिक्षा मन्दिरमा कक्षा ६ देखि एस.एल.सी.सम्मको पढाई पुरा गरे । २०३६ सालमा प्रथम श्रेणीमा एस.एल.सी उत्तीर्ण गरेका पाण्डे राजनीति सहभागीता र आन्दोलनका कारण पढाईमा अनियमितता भएपछि २०३८ सालमा अमृत साइन्स क्याम्पसमा प्रवीणता प्रमाणपत्र तह (पीसीएल) मा भर्ना भए । २०४२ सालमा अमृत साइन्स क्याम्पसबाटै बिएसी उत्तीर्ण गरेका उनले राजनीतिक जिम्मेवारीको कारण २०५२ सालमा मात्र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट एमएससी उत्तीर्ण गरे। पार्टी काम र पढाईलाई सँगसँगै लगेका पाण्डेले २०७३ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत मदन भण्डारी क्याम्पसबाट समाजशास्त्रमा स्नातकोत्तरको दोश्रो डिग्री थपे ।

राजनीतिक जीवनः

२०३६ सालमा एसएलसी नदिदैँ काँग्रेस नेता अर्जुन नरसिंह केसीसँग बहुदलको पक्षमा प्रचार गरी हिडेका पाण्डेका बुवा तत्कालीन गाउँ पञ्चायतको वडाध्यक्षबाट राजीनामा दिएर बहुदलको पक्षमा होमिनुभयो । जसले गर्दा पाण्डेलाई घरपरिवारबाटै राजनीतिमा संलग्न हुन प्रोत्साहन मिल्यो । जनमत संग्रहपछि अमृत साइन्स क्याम्पसमा भर्ना भएका पाण्डे  सोहि वर्ष अनेरास्ववियु (पाँचौँ)को क्याम्पस प्रारम्भिक कमिटी कोषाध्यक्ष बने । पार्टीमा निरन्तर क्रियाशील पाण्डेले  २०४० सालमा तत्कालीन नेकपा (माले)को पश्चिम बागमती सम्पर्क कमिटी (रसुवा, नुवाकोट, धादिङ) सचिव बनेका पाण्डे, २०४२ सालमा अनेरास्ववियुको नुवाकोट जिल्ला अध्यक्ष समेत बने ।

नुवाकोट अनेरास्ववियुमा गरेको कामको प्रभावले २०४४ सालमा उनी अनेरास्ववियु बागमतीको अध्यक्ष चुनिए। २०४५ सालको स्ववियु निर्वाचनमा अमृत साईन्स क्याम्पसमा अनेरास्ववियु तर्फबाट उम्मेद्वार बनेका उनी सभापतिमा सानदार ढंगले जित्दै क्याम्पसमा पहिलोपटक अखिलको झण्डा गाड्न सफल भए।

पहिलोपटक अनेरास्ववियुले क्याम्पसमा जितेपछि क्याम्पसमा खेल मैदान निर्माण, अडिटोरियम हल निर्माण, ओभरहेड ब्रिज निर्माण, अमृत साइन्स क्याम्पसमै स्नातकोत्तर तहको सुरुवात, ५ प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था (दुर्गम क्षेत्र, दलित र महिला) सहित नगद पुरस्कार समेत दिने व्यवस्था गरेका लोकप्रिय नेता पाण्डेको स्ववियु कार्यकाल भने जन-आन्दोलनको कारण २ बर्षको हुनुपर्नेमा ४ वर्ष हुनपुग्यो।

क्याम्पसमा दुर्गम विधार्थीहरुलाई गरिने हेला, दलित र छात्राहरुलाई आर्थिक अभावले पारेको समस्या नजिकबाट बुझेका पाण्डेले  विज्ञान पढ्न दुर्गम क्षेत्र, महिला र दलितहरुलाई गरेको छात्रवृतिले अहिलेसम्म ठूलो अवसर र योगदान पुर्याएकोमा हर्ष व्यक्त गरे ।

विद्यार्थी राजनीति, पार्टी राजनीति र स्ववियु सभापतिको त्रिपक्षीय जिम्मेवारीमा रहँदा पटक पटक गरी २ वर्ष भन्दा बढी जेलजीवन बिताएका पाण्डेले २०४६ सालको जन-आन्दोलनको विरुद्धमा आउने प्रहरीलाई एसिड प्रहार गरी एसिड काण्ड मच्चाएका थिए । आन्दोलनमा सहभागी हुँदै गर्दा कोलाकोलाको बोत्तलमा केमिकल प्रयोग गरेर आन्दोलन दबाउन आउने प्रहरीलाई पेट्रोल बम हानेपछि तत्कालीन पञ्चायती प्रहरीले अमृत साईन्स क्याम्पसको स्ववियु कार्यालय तोडफोड मात्र गरेन धोस्त नै बनायो। क्याम्पसको होस्टल पुरै कब्जा गर्यो र सबै विद्यार्थीहरुले अनिवार्य रुपमा होस्टल छोड्नुपर्ने अवस्था सिर्जना भयो । आन्दोलनमा फरक र आक्रमक रणनीति बनाउने पाण्डेले अमृत साईन्स क्याम्पसदेखि त्रिचन्द्र क्याम्पससम्म १५० भन्दा बढी विद्यार्थीको सहभागीतामा लाठ्ठी जुलुश मार्फत मण्डले लखेट अभियानको सुरुवात समेत गरे । जसले गर्दा बहुदलको पक्षमा आन्दोलन गर्ने बुटवल, धरान र काठमाडौँका विभिन्न भागमा हुने मण्डेलेको बिगबिगी र दमनलाई कम गराउन महत्वपूर्ण भूमिका खेलेको थियो । सोहि लाठी जुलुसको नेतृत्व गरेपछि प्रहरीको नियन्त्रणमा परेका पाण्डेलाई काठमाडौँ, रसुवा र सिन्धुपाल्चोकका जेलमा चार महिनाभन्दा बढी राखी यातना समेत दिइयो ।

२०४० सालमा नेकपा मालेबाट पार्टी जीवनमा जोडिएका पाण्डे २०४८ सालमा स्ववियु सभापतिको जिम्मेवारीमा रहँदै २०४८ देखि २०५४ सम्म नेकपा एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य समेत बने । अनेरास्ववियुको विदेश विभाग प्रमुख बनेका नेता पाण्डे संगठनको प्रतिनिधित्व गर्दै दुई कार्यकाल (२०५४–२०६०) एसियाली विद्यार्थी संगठन (आशा) को सचिव भएर एसियाभरि विधार्थी हक, हित र अधिकारको क्षेत्रमा योगदान पुर्याए।

आशाको सचिव हुदैँ गर्दा संयुक्त राष्ट्र संघको युएन युथ फण्ड संयोजकको रुपमा २०५५–२०५८ सम्म जिम्मेवारी बहन गर्दै संयुक्त राष्ट्र संघमा युवा भूमिकालाई सशक्त बनाए । आशाको सचवै रहँदा २०५६ बाट २०५८ सम्म इन्टरनेशनल स्टेडेन्ट युनिएन (आइएसए) को उपाध्यक्षको रुपमा कुशलतापूर्वक जिम्मेवारी बहन गरेका पाण्डेले २०६० सालमा आशाबाट नेपाल फर्किएपछि पार्टीको नुवाकोट जिल्ला कमिटीमा रहेर काम गरे। नेकपा एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनदेखि प्रतिनिधि बनेका पाण्डेले २०६२ को आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीको विदेश विभाग प्रमुखमा केपी शर्मा ओली छानिनु भएपछि ५ बर्षभन्दा बढी नेकपा एमाले विदेश विभाग सचिवको रुपमा जिम्मेवारी बहन गरी जनआन्दोलनको पक्षमा अन्तराष्ट्रिय जनमत तयार गर्न उल्लेख्यीय भूमिका निर्वाह गरे ।

२०७० सालमा संविधान सभा सदस्यमा नुवाकोट २ बाट प्रत्यक्ष उम्मेदवार बनेका पाण्डेले कांग्रेस नेता अर्जुन नरसिहं केसीसँग पराजित हुनुपर्यो । २०७४ मा भएको प्रदेश सभा चुनावमा नुवाकोट २ (क) बाट निर्वाचित भएका पाण्डेले कांग्रेस नेता जनदिश सिंह केसीलाई पराजित गर्न सफल भए । २०७५ चैत्र अन्तिमदेखि नेकपा एमाले बागमती प्रदेश सभाको मुख्य सचेतक बनेका पाण्डे २०७७ माघ अन्तिमदेखि डोरमणि पौडेल मुख्यमन्त्री हुँदा आन्तरिक मामिला मन्त्री र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा भौतिक पूर्वाधार मन्त्रीको रुपमा कुशलता पूर्वक जिम्मेवारी बहन गरे । नेकपा एमालेको पाचौँ महाधिवेशनदेखि दशौँ महाधिवेसनसम्म लगातार महाधिवेशन प्रतिनिधि बनेका पाण्डेले पार्टीको नवौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित हुनुपरेपनि हार्नेमध्येको तेस्रो धेरै मत ल्याउन सफल भएका थिए ।

आशाको जिम्मेवारीमा रहँदा गरेका कामहरुः

पाण्डेले एशियाली विधार्थी संगठन (आशा) को जिम्मेवारी बहन गर्दा नेकपा एमालेको प्रवास कमिटी भारतमा मात्र थियो । पार्टी कामको लागि अरु कुनै पनि देशमा आधिकारीक कमिटी थिएन। आशाको सचिव हुदैँ गर्दा पाण्डेले पूर्वी तथा दक्षिण पूर्वी एसियामा पार्टी कमिटी गठन गरी सचिवको रुपमा जिम्मेवारी बहन गरे । २०५४ सालको पार्टी विभाजनमा नेकपा एमालेको अन्तराष्ट्रिय सम्बन्ध बनाउने कुरामा महत्वपूर्ण भूमिका निर्वाह गरे । हङकङमै रहँदा २०५४ सालमा फार इष्ट ओभरसिज नेप्लिज असोसियसन (फ्वीयोना) गठन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेले गठन गरेको फ्वीयोना सम्भवत: प्रवासी नेपालीहरुको पक्षमा वकालत गर्ने पहिलो प्रवासी नेपाली संगठन हो।

आशामा हुँदा गरेका अति स्मरणीय भेटघाटः

एशियाली विधार्थी संगठन (आशा) अन्तराष्ट्रिय रुपमा न्याय, समानता र स्वतन्त्रताको लागि काम गर्ने अन्तराष्ट्रिय विद्यार्थी संगठन भएकोले त्यसको प्रमुख (सचिव) को जिम्मेवारीमा रहँदा पाण्डेले इराकमा गरेको एकपक्षीय अमेरिकी युद्धको विरुद्धमा विभिन्न अभियान सञ्चालन गरिरहेका थिए । संयुक्त राष्ट्र संघ युथ फण्डको संयोजक हुँदा राष्ट्र संघको महासचिव तथा विभिन्न निकाय प्रमुखसँग गरेका भेटघाट र छलफललाई अति स्मरणीय भेटघाट नठान्ने पाण्डे इराकका राष्ट्रपति सद्दाम हुसेनसँग भेटेर वान टु वान गरेको लामो छलफल, तत्कालीन प्यालेसटाइनको राष्ट्रपति यासेरा अराफातसँग गरेको वान टु वान छलफल र  क्युवाको हवानामा भएको इन्टरनेशनल युथ एण्ड स्टुडेन्ट फेस्टिभलको तयारी र कार्यक्रमबारे फिडेल क्यास्टोसँग भएको वान टु वान छलफल र कार्यक्रम जानकारी उनको प्रवासी राजनीतिका बिर्सनै नसक्ने स्मृति मान्दा रहेछन् ।

आशामा हुँदा भोगेका तीता अनुभव :

अमेरिकी युद्दको कारण इराकका पाँचतारे होटेल समेत पुरै खाली हुने रहेछन। एक हप्ताको बसाईमा कुन बेला, कहाँ र कसरी अमेरिकाले बम हान्छ भन्ने कुरा कसैलाई थाहा थिएन । आंतकै आंतकमा एक हप्ता बिताउनु पनि निकै सकसपूर्ण हुने रहेछ। अन्तराष्ट्रिय प्रतिनिधिको रुपमा ईराकमा रहँदा उनको लागि सरकारले एकजना महिला इन्टरप्रेटरको व्यवस्था गरेको रहेछ। विश्वका विभिन्न अन्तराष्ट्रिय फोरमहरुमा काम गरेका पाण्डेले उनै महिला इन्टरप्रेटर (दोभासे) सँग हात मिलाउन हात दिए तर ती दोभासे महिला एकदमै रिसाइन् । उनी त्यस दिन लामो समयसम्म नै मुड अफ भइन् । आफ्नो नियत गलत नभएपनि स्थानीय संस्कृति बारेमा जानकारी नराख्दा र स्थानीय संस्कृतिको सम्मान गर्न नसकेकोमा मलाई भने साह्रै हिनताबोध भयो। फर्कने बेलाएयरपोर्टमा त्यी महिलाले हात मिलाउन उनको हात दिइन् तर मैले उनलाई नमस्कार गरे । स्थानीय संस्कृति नबुझेकोमा मलाई आत्माग्लानी थियो भने अन्तराष्ट्रिय पाहुनालाई अर्मयादीत व्यवहार गरेकोमा उनले पनि गल्ती महशुस गरेकी रहिछिन्।

आशा प्रतिनिधिको रुपमा एक मुश्लिम देशको कार्यक्रममा म सहभागी थिएँ। सोही कार्यक्रममा भारतीय महिला पनि सहभागी रहिछिन् । विदेशमा रहँदा नेपाली नभएपछि नजिक मानिने भारतीय नै हुन् । उनी कार्यक्रममा एउटै रो को कुर्सीमा मेरो नजिकै बसेकी थिइन् । राष्ट्रपति आउने कार्यक्रम रहेछ, आयोजकले मलाई छुट्टै बस्न ईशारा गर्दै अर्को रो देखाइदिए । म उठेर सोही रो मा गई बसेँ। अन्जानबस् भारतीय महिला पनि मेरो छेउकै कुर्सीमा आइन् । आयोजकले फेरि मलाई अर्को रो मा बस्न संकेत गरे, म अर्को रो मा गए । भारतीय महिला फेरि मेरो छेउमै आइन् । त्यसपछि आयोजकले रिसाउँदै महिला छुट्टै र पुरुष छुट्टै बस्न निर्देशन दिए । यो घटना पनि स्मरणमा ताजै छ।

कार्यक्रमको सन्दर्भमा अमेरिकाको राजधानी वासिङटन डिसीमा धेरै देशका साथीहरु सहित मा पनि सहभागी थिएँ। कार्यक्रम सकिएपछि साँझमा बार जाने कुरा भयो । मलाई त्यहाँको नियमबारे जानकारी नभएकोले पासपोर्ट बोकेको थिइन । हाम्रो टिममा अमेरिकन साथीहरु पनि थिए । गेटमा गार्डले १८ बर्ष उमेर पुरा गरेको प्रमाण खोजे । मेरो उमेर करिब ३५ बर्ष हाराहारी थियो । आफू १८ बर्ष नाघेको दशकौँ भएको भनी जिकिर गरे तर गार्डले हामीलाई प्रमाण चाहिन्छ भन्दै भित्र छिर्नै दिएनन् । सँगै गएका अमेरिकी साथीहरुले ,” सरी वी क्यान नट डु एनिथिङ प्लिज” भन्दै भित्र छिरे । यो घटना पनि मेरो स्मृतिमा घुमी रहन्छ।

अमेरिका र भारतमा रहेको रक्सी सम्बन्धि फरक संस्कृति मलाई साह्रै गज्जब लाग्छ । अमेरिकामा वाइन किन्न जाँदा १८ बर्ष उमेर पुरा गरेको प्रमाण खोज्छ र  उनीहरु किनेको वाईन झोलामा राखेर राम्ररी प्याक गरेर ग्राहकलाई दिन्छन् । भारतमा वाइन किन्दा उमेरको परिचय देखाउनु पर्दैन तर उनीहरु वाइन नछोपी र झोलामा समेत नराखी हातैमा दिन्छन् ।

बागमती पार्टीको मुख्य कार्यभार :

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा ऐतिहासिक जनसहभागितामा सम्पन्न भयो । चितवनले देशभरि एमालेजनमा सकारात्मक उर्जा भर्यो। राम्रो शन्देश दियो। २०७८ माघ ८ गते हामी काठमाडौँमा बागमती प्रदेशको अधिवेसन आयोजना गर्दैछौँ । यस अधिवेशनले बागमती प्रदेशमा अर्को सन्देश दिनुपर्ने छ ।

पुष २३ गते बागमती प्रदेश भित्रका १३ वटै जिल्लाको अधिवेशन एकैपटक गर्नु पर्नेछ । जसको लागि पुष ८ गते प्रदेश कमिटीको बैठक बसी प्रदेश अधिवेशन तयारी र जिल्ला अधिवेशन सम्बन्धि महत्वपूर्ण निर्णय गर्नुपर्नेछ ।

यहि पार्टीको प्रदेश सम्मेलन आयोजक कमिटीले प्रदेश भरिका सबै जिल्लाहरुमा नयाँ नेतृत्वको छनोट गर्नुपर्ने छ। आगामी पार्टी नेतृत्वले तीनै तहको निर्वाचनमा सानदार विजय हाँसिल गर्नुपर्ने भएकोले सक्षम, इमान्दार, योग्य र जिम्मेवारी बहन गर्न सक्ने कमरेडहरुलाई जिम्मेवारी दिँदै पार्टी संगठनलाई चुस्त र व्यवस्थित बनाउनु पर्नेछ। प्रदेश अधिवेशन सकिएपछि पार्टी चुनावी तयारीमा जानुपर्छ। त्यसैले आगामी सबै निर्वाचनमा पार्टीलाई दिग्विजय प्राप्त गर्ने हैसियत बनाउनु नै अहिलेको मुख्य कार्यभार हो।  

प्रतिक्रिया दिनुहोस्