रोल्पामा गत हप्तादेखि टेलिकम सेवा अवरुद्ध



रोल्पाको पूर्वी भेगमा गत हप्तादेखि टेलिकम टावर नहुँदा सेवाग्राहीले सस्ती भोग्नुपरेको छ । सुनछहरी गाउँपालिकाको गुम्चालमा विद्युत्को ट्रान्समिटर जलेकाले गत हप्तादेखि टेलिकमको सेवा अवरुद्ध भएको हो । गाउँपालिकाका जेलबाङ, सेरम उवा, गामलगायत स्थानका बासिन्दा टेलिकमको सेवा लिनबाट बञ्चित भएका हुन् । टावर कहिले आउने कहिले जाने गर्छ स्थानीयवासी हिक्मत घर्तीले भने ।

पहिले सोलारमार्फत विद्युत् सञ्चालन हुने गरेकामा अहिले झन् विद्युत् भएर पनि नियमित सेवा सञ्चालनमा नभएको उनले बताए । सम्बन्धित निकायले चासो नै दिँदैन कहिलेसम्म यसरी बस्ने घर्तीले दुखेसो पोखे । टेलिकम टावर अवरुद्ध भएपछि धेरैपटक विद्युत् र टेलिकमका कार्यालयमा सम्पर्क गरी छिटो मर्मत गर्न पहल गरिएको सुनछहरी गाउँपालिकाका अध्यक्ष आशबहादुर पुनले बताए । ‘पटकपटक फोन गरेको छु, म आफैँ पनि कार्यालय पुगेर समस्या बताउँदासमेत तुलसीपुरले हेर्ने हो हामीले होइन भन्ने जवाफ पाइयो ।’ उनले भने ।

उता विद्युत् कार्यालय प्रमुखलाई छिटो ट्रान्समिटर मर्मत कार्य गर्नुपर्यो भनी फोन गर्दा उल्टै थर्काउने गरेको अध्यक्ष पुनले गुनासो गरे । ‘तार जलेको छ भन्ने बुझिएको छ’ नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख शम्भुप्रसाद मण्डलले भने। टेलिकमका कर्मचारी आएपछि आफूले प्राविधिक पठाउने उनको भनाइ थियो ।

‘टेलिकमको साइड हो भनेपछि त उसैले उपलब्ध गराउनुपर्यो नि’ उनले भने । टावरको जिम्मा तुल्सीपुरको कार्यालयले हेर्ने गरेको दूर सञ्चार कार्यालयका प्रमुख भीष्मध्वज उपाध्यायले बताए । यो मर्मतका लागि उक्त कार्यालयमा चार इञ्जिनीयरको टोली रहेको र उनीहरूले नै हेर्ने भएकाले तुलसीपुरबाट सामानसहित टोली चाँडै आउने समेत उनले बताए ।

समयमै मर्मत गर्न ढिलाइ गर्दा हप्तौं दिनसम्म टलिफोन सेवाबाट सेवाग्राही बञ्चित भएका छन् भने जिल्लाको पश्चिमोत्तर भेगको थवाङ, परिवर्तन, गङ्गादेव र माडी गाउँपालिकामा पनि यो समस्या देखिने गरेको छ । माडी गाउँपालिका–५ भाबाङ, वडा नं ३ स्थित तालाबाङ, परिवर्तन गाउँपालिकाको वडा नं २ स्थित राङसी र वडा नं ५को राङकोट थबाङ गाउँपालिका–२स्थित थवाङमा टावर बनाइए पनि भरपर्दो छैन ।

गङ्गादेव गाउँपालिकाको वडा नं ७स्थित राँकको रातामाटामा रहेको टावर पश्चिम नेपालको सबैभन्दा ठूलो क्षमताको टावर मानिन्छ । नेपाल टेलिकमको सो टावरसँग अन्य टावर जोडिएकाले त्यहाँ समस्या आउनेबित्तिकै अन्यत्रका टावरले काम गर्न छोड्छन् ।

रातामाटाको टावरमा समस्या देखापर्ने बित्तिकै पश्चिमोत्तर रोल्पाका अधिकांश टावरले काम नगर्ने समस्या रहेको परिवर्तन गाउँपालिका–२ वडाध्यक्ष हरिप्रसाद घर्तीले बताए । घण्टौँ डाँडाकाँडा पुगेर फोन गर्ने पुरानो समस्या दोहोरिने स्थानीय सूर्यप्रकाश बुढामगरको गुनासो थियो ।

मुख्य समस्या विद्युत् आपूर्तिमै रहेको नेपाल टेलिकमका स्थानीय कर्मचारीले बताए । विद्युत्को तार जलिरहने र टावर सौर्य ऊर्जाबाट सञ्चालन गरिए पनि वर्षात्, कुहिरो र बादल लागेका समयमा ब्याट्रीमा विद्युत् सञ्चित नहुँदा समस्या हुने गरेको बताइन्छ । विद्युत् व्यवस्थापनका लागि स्थानीय सरकारसँग पटकपटक आग्रह गर्दा पनि सुनुवाइ नभएको स्थानीयवासीको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्