मस्तिष्कघात भई उपचाररत प्रमुख जिसीको शल्यक्रिया हुँदै



उच्च रक्तचापका कारण मस्तिष्काघात भई बिरामी भएका पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको काठमाडौँस्थित न्यूरो अस्पतालमा यतिखेर शल्यक्रिया भइरहेको छ ।  मस्तिष्काघात भई उपचारका लागि शुक्रबार काठमाडौँ लगिएका ६० वर्षीय जिसीलाई दाहिने आँखा र अनुहारको अगाडिको भागमा समस्या देखिएका कारण शल्यक्रिया गर्न लागिएको पोखरा– १३ का वडाध्यक्ष दर्शन लामाले जानकारी दिए ।

उनका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्यसमेत रहनुभएका जिसीको अस्पतालका न्यूरो सर्जन डा. सुरज थुलुङ र डा.शेखर श्रेष्ठसहितको टोलीद्वारा शल्यक्रिया भइरहेको छ । शुक्रबार बिहान करीब ४ः ०० बजेको समयमा शरीरमा असहज महसुस भएपछि तत्काल पोखराको महेन्द्रस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको र त्यहाँ प्रारम्भिक उपचार गरी मणिपाल शिक्षण अस्पताल पुर्याइएको थियो ।

मणिपाल शिक्षण अस्पतालमा उपचारमा संलग्न चिकित्सकका अनुसार उच्च रक्तचापले मस्तिष्काघात भई त्यसको असरले उहाँको शरीरको देब्रेतिर समस्या देखिएको थियो । उच्च रक्तचापका कारण मस्तिष्काघात भई बिरामी हुनुभएका प्रमुख जिसीलाई थप उपचारका लागि शुक्रबार हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो । 

महानगरपालिकाका प्रवक्ता धनबहादुर नेपाली, नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीलगायतका विभिन्न सङ्घसंस्थाले विज्ञप्तिमार्फत महानगर प्रमुख जिसीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्