ट्रकको ढालामा झुन्डिएर मृत्यु



ट्रकको ढालामा झुन्डिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको खालामा पासो लगाएर झुन्डिएर भण्डारीको मृत्यु भएको हो ।

पोखरीमा डुबेर मृत्यु

माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो ।

पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको हो । पाण्डेको मृत्यु के कारणबाट भएको हो भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर ल्याइएको छ ।

कोरोनाका कारण नौ जनाको मृत्यु

कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा नौ जनाको मृत्यु भएको छ । यहाँका भरतपुर अस्पताल, चितवन मेडिकल कलेज, पुष्पाञ्जलि अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो ।

भरतपुर अस्पतालमा दुई, क्यान्सर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र पुष्पाञ्जलि अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।

सिद्धिविनायकको अक्सिजन क्षमता बढाइयो

कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल ९पुरानो मेडिकल कलेज० को व्यवस्थापनमा सञ्चालित सिद्विविनायक अक्सिजन ग्यास उद्योगको क्षमता वृद्धि गरिएको छ । गैँडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता वृद्धि गरिएपछि अब दैनिक १६० सिलिन्डर अक्सिजन थप उत्पादन हुने भएको हो ।

अस्पतालका आवासीय निर्देशक डा।मनोहर प्रधानका अनुसार बुधबारबाट नयाँ उपकरण सञ्चालनमा आएको छ । उत्पादन शुक्रबारबाट शुरु हुनेछ । यसअघि उक्त उद्योगबाट दैनिक ४०० सिलिन्डर अक्सिजन उत्पादन हुँदै आएको थियो । नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिन्डर उत्पादन हुने छ । सो अस्पतालले दैनिक ३०० सिलिन्डर खपत गर्दछ । बाँकी अन्य अस्पतालका लागि प्रयोग गर्न सकिने छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमराज लामिछानेले उद्योगलाई क्षमता वृद्धि गर्न सहजीकरण गरेसँगै नयाँ मेसिन जडान गरी उत्पादन बढाउन सकिएको बताए । यसले जिल्लामा कोभिड सङ्क्रमितको उपचारमा थप सहजता हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्