पूर्वसांसद विदुर पौडेलको निधन



राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुर पौडेलको मष्तिष्काघातका कारण ७७ वर्षका उमेरमा आज बिहान निधन भएको छ ।

यही वैशाख ११ गते कोभिडको पहिलो खोप लगाएपछि उनलाई मष्तिष्काघात भई उपचारका लागि सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजको सघन उपचार कक्षमा भर्ना गरिएको भतिज रोहित पौडेलले राससलाई जानकारी दिए ।

शुक्रबार बेलुकी चिकित्सकले ठीक नहुने बताएपछि उनलाई पशुपति आर्यघाटमा लगिएको थियो ।

नेपाली कांग्रेसको पूर्वकेन्द्रीय सदस्य, अधिकारसम्पन्न वाग्मती ढल व्यवस्थापन आयोजनाका पूर्वअध्यक्ष, पशुपति क्षेत्र विकास कोषका पूर्वसञ्चालक सदस्य पौडेल पछिल्लो समय भतिजा परमेश्वरका साथमा गुह्येश्वरीस्थित आफ्नै निवासमा बस्दै आएका थिए ।

अविवाहित पौडेल छ दाजुभाइमध्ये जेठा हुनुहुन्थ्यो । स्व पौडेलको आजै पशुपति आर्यघाटमा वैदिक विधिअनुसार अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

सदाचारी एवं इमान्दार नेता पौडेलले लामो समय संस्कृत विश्वविद्यालयको वाल्मीकि विद्यापीठमा प्राध्यापन गरेका थिए। प्राध्यापनपछि उनी राष्ट्रियसभाका सदस्य बनेका हुन् । सांसद हुँदा सुविधाका लागि गाडीका रूपमा प्राडो एवं पजेरो भित्र्याउन दिने सरकारी निर्णयको उनले विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्