भूमाफियाले हत्याएको गुठीको जग्गा २३ बर्षपछि फिर्ता



भूमाफियाको चलखेलका कारण नक्कली मोही खडा गरी व्यक्तिको स्वामित्वमा गइसकेको झापाको विर्तामोडस्थित दुर्गा गुठीको करोडौँ मूल्यको दुई बिघा आठ कठ्ठा १८ धुर जग्गा २३ बर्षपछि गुठीकै नाममा फिर्ता भएको छ ।

विर्तामोड नगरपालिका ३ मा अनारमनी दुर्गा मन्दिरको नाममा राजगुठीमा दर्ता रहेको १३ बिघामध्ये तीन बिघा तीन कठ्ठा १८ धुर जग्गा २०५४ मंसिर ११ गते टीकादेवी विमली, सूर्यकुमार विमली र रमेश महर्जनको नाममा किर्ते मोही हक कायम भएको थियो । राजगुठीमा दर्ता रहेको सो जग्गामा मोही कायम गरिएको तिनै जना व्यक्ति वास्तविक मोही थिएनन् । राजगुठीका मोहीले शतप्रतिशत जग्गा पाउने कानूनी व्यवस्था भएको हुदाँ जग्गा हत्याउन षड्यन्त्रपूर्वक किर्ते मोही खडा गरिएको थियो ।

लामो समयको विवाद र मुद्धामामिला भएपश्चात स्व टीकादेवी विमलीको छोरा केशवप्रसाद विमलीले सोमबा झापाको भूमिसुधार तथा मालपोत कार्यालयमा उपस्थित भई गुठीको जग्गा फिर्ता गरिदिए । नेपाल सरकारको सहसचिव समेत रहेका विमलीले हक छाड सनाखत प्रावधानअन्तर्गत सो जग्गा गुठीलाई नै फिर्ता गरिदिएको मालपोत कार्यालय भद्रपुरका प्रमुख योगन्द्र दुलालले बताए ।

उनका अनुसार मालपोत कार्यालयले हक छाड सनाखत को जानकारी गुठी संस्थानमा पठाइदिने र जग्गाको स्वामित्व पूर्णरुपमा गुठीको नाममा फिर्ता हुनेछ । फिर्ता भएको जग्गा विर्तामोड नगरपालिका ३ को कित्ता नं.१२० को एक बिघा दुई कठ्ठा १० धुर, कित्ता नं. ८२२ को छ कठ्ठा, कित्ता नं. ८२५ को १३ कठ्ठा र कित्ता नं. ८१५ को सात कठ्ठा आठ धुर रहेको छ ।

सार्वजनिक सम्पत्ति हडपेको आरोप लागेकामध्ये केशवप्रसाद विमलीले मात्र जग्गा फिर्ता गरेका छन् । सूर्यकुमार विमली र रमेश महर्जनले जग्गा फिर्ता गरेका छैनन् । अनारमनी दुर्गा मन्दिरको गुठीको जग्गा फिर्ता गराउन स्थानीयवासीले संघर्ष समिति गठन गरेर अदालतमा मुद्धासमेत हालेका थिए । सर्वोच्च अदालतले २०६६ फागुन ९ गते किर्ते मोहीकै नाममा मोही हक कायम गरिदिएको थियो ।

विर्तामोडका पत्रकार गणेश पोखरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएलगत्तै नेपाल सरकारका सहसचिव समेत रहेका विमलीले जग्गा फिर्ता गरिदिए ।

स्व.डोमालाल राजवंशीले दुर्गा मन्दिरलाई १३ बिघा जग्गा दान दिएपछि त्यहि जग्गा गुठीको स्वामित्वमा बर्षौदेखि रहँदै आएको थियो । हाल सो जग्गामा स्थानीयवासीले डोमालाल रगंशाला निर्माण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्