राष्ट्रपतिबाट रानीपोखरी उद्घाटनः उपत्यकाको विकासमा कोशेढुङ्गा सावित हुने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनःनिर्मित रानीपोखरीको आज उद्घाटन गरेकी छिन्। गोर्खा भूकम्पबाट क्षतिग्रस्त ३५२ वर्ष पुरानो न्हुँपोखरी राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट तयार गरिएको हो । भूकम्प गएको वर्ष विसं २०७२ माघ २ गते राष्ट्रपति भण्डारीले रानीपोखरीबाटै नेपालका सबै क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि शिलान्यास गरेकी थिइन् ।

सो अवसरमा राष्ट्रपति भण्डारीले प्राकृतिक एवं सांस्कृतिक सम्पदाले समृद्ध प्राचीन सभ्यताको उद्गमस्थलका रूपमा रहेको काठमाडौँ उपत्यकाको संरक्षण र विकासका निम्ति यो कार्य एउटा महत्वपूर्ण कोशेढुङ्गा सावित हुनेछ विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले ‘भूकम्पबाट घरबारविहीन सबैलाई घरबासको व्यवस्थासहित पुनःस्थापना गर्नेछौँ, भूकम्पबाट क्षतविक्षत भएका हाम्रा सांस्कृतिक सम्पदालाई अझ बलियो र मौलिक स्वरूपमै पुनःर्निर्माण गर्नेछौँ’ भन्ने अठोट र प्रण पूरा हुन लागेकामा खुशी व्यक्त गर्दै बाँकी संरचना चाँडै बन्ने अपेक्षा व्यक्त गरिन् ।

कान्तिपुरका तत्कालीन राजा प्रताप मल्लले निर्माण गरेको रानीपोखरीको आफ्नै ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय महत्व छ । आफ्ना दिदीबहिनी नहुने दाजुभाइले भाइटीका लगाउने महत्वपूर्ण तीर्थस्थलका रूपमा यहाँ रहेको बालगोपालेश्वर मन्दिर विगतको गुम्बज शैलीबाट प्रताप मल्लकालीन ग्रन्थकूट शैलीमा पुनःनिर्माण भएको छ ।

उनले प्राधिकरणले परम्परागत प्रविधि, शैली र निर्माण सामग्री प्रयोग गरी पुनर्निर्माण गरेको रानीपोखरी र मन्दिरले हाम्रा पुरातात्विक सम्पदाको संरक्षण र पुनर्निर्माणका क्षेत्रमा एउटा उदाहरण प्रस्तुत गरेको उल्लेख गर्दै प्राधिकरणले रानीपोखरी क्षेत्रलाई हालको रत्नपार्क, खुलामञ्च, टुँडीखेल, भृकुटीमण्डप र दशरथ रंगशाला समेतलाई जोडी बृहत्तर गुरुयोजना तयार पारेको जानकारी पाउँदा खुशी लागेको बताइन् । उनले सबै सरोकार पक्षसँग समन्वय गरी उक्त गुरुयोजनालाई कार्यान्वयनमा लैजानका निम्ति शुभकामना दिइन् ।

“पुनर्निर्माण हुँदै गरेको धरहरा र यस गुरुयोजनाको कार्यान्वयनले काठमाडौँवासीलाई विशाल खुलाक्षेत्र उपलब्ध गराउनेछ । यसबाट सांस्कृतिक चाडपर्व मनाउन, खेल मैदानका रुपमा प्रयोग गर्न तथा स्वदेशी एवं विदेशी पर्यटकहरूका आकर्षणको केन्द्र बनाउन मद्दत पुग्ने मैले विश्वास लिएको छु ”, राष्ट्रपतिले भनिन् ।

रानीपोखरीसँगै अवस्थित ऐतिहासिक दरबार हाइस्कूलको पुनःनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम हुनु सराहनीय भएको बताउँदै विद्यालयले योग्य नागरिक तयार गरी मुलुकको विकास र प्रगतिमा महत्वपूर्ण योगदान पु¥याएको र विनाशकारी भूकम्पबाट क्षतिग्रस्त यस भवनलाई पुरानै शैलीमा भूकम्प प्रतिरोधी प्रविधिमा आधारित भई पुनर्निर्माण गर्न सहयोग पुर्याउने मित्र राष्ट्र चीन सरकार र चिनियाँ जनताप्रति आभार व्यक्त गरिन् । सो विद्यालय शैक्षिक गुणस्तरको मानक हुने विश्वास उनले व्यक्त गरिन् ।

पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको उद्घाटन भएकामा खुशी व्यक्त गर्दै उनले भूकम्पपछिको पुनःनिर्माणमा नेपाल सरकारले लिएको नीति, योजना र कार्यान्वयन ढाँचा भावी पुस्ता र बाह्य जगत्का निम्ति प्रेरक बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया दिनुहोस्