मेरो छोराले के सिकोस ?



अमेरिकी भूतपूर्व राष्ट्रपति अब्राहम लिङ्कनले आफ्नो छोरा पढ्ने स्कूलमा लेख्नुभएको चिठी जस्ताको तस्तै यहाँ साभार गरिएको छ । तर इन्टरनेटमा हेर्ने क्रममा फरक फरक पाइएको हुनाले यसलाई समिश्रित गरेर यहाँ उतार्ने कोशिस गरेको छु । अहिलेको समय सन्दर्भमा, एउटा शिक्षक तथा शिक्षण संस्थाहरुमा आबद्धता भएको नाताले, देश, जनता, विद्यार्थी, राजनेताहरु, मन्त्रीहरु, प्रधानमन्त्रीहरु, सम्म लाई पनि यो पत्र स्मरण गराउन उपयुक्त ठानेर, यही पत्रलाई आधार बनाई तलका केही हरफहरु, यहाँ उतारेको छु जसलाई आज पनि मैले उत्तिकै सान्दर्भिक देखे ।

मेरो छोरा आजबाट स्कूल जाँदैछ। केही समय उसका लागि सबै वस्तुहरु नौला अनि अचम्मका लाग्नेछन्। मेरो आशा छ, तपाईंहरुले उसँग नरम व्यवहार गर्नुहुनेछ । अहिलेसम्म त ऊ, घरको राजा नै थियो । उसका घाउचोट निको पार्नकै लागि हरबखत म उसको नजिकै हुन्थें ।  उसका अबोध भावनालाई सुम्सुम्याउन, म सधै तम्तयार हुन्थें । आजदेखी, उसले नयाँ कामहरु सुरु गर्नुपर्नेछ । घेरामा बाँधिएको बच्चा अब निस्किएर ठूलो साहसिक यात्राको सुरुवात गर्नेछ । हुनसक्छ, यात्राको क्रममा संघर्ष, दु:ख व्यहोर्दा, निराश पनि होला । संसारमा जिउनका लागि विश्वास, प्रेम र साहस आवश्यक हुन्छ । उसको यो सानो हातलाई थामिदिएर जान्नुपर्ने र गर्नुपर्ने व्यवहार सिकाइदिनुहोस्। स्नेह, मायालु र कोमल भावनाले सिकाउनुभयो भने उसले अवश्य सिक्नेछ । बालकले बुझ्नैपर्ने हुन्छ, सबै मान्छेहरु असल र न्यायी हुँदैनन् । तैपनि धूर्तभन्दा असल र शत्रुको अनुपातमा, मित्र भेट्न सम्भव छ भनिदिनुहोस् । सुरुमै सिकोस्, धाकधम्कीमै जिउन खोज्नेहरुलाई तह लगाउन, सबैभन्दा सजिलो छ ।

बालकलाई पुस्तकका चित्र, अक्षरका मर्म चिनाइदिनुहोस् । रमाइलो र अचम्मले उसमा उत्साह थपिनेछ । आकाशमा उड्दै गरेका चरा-भमरा, हरिया डाँडा-पाखा ढाकेर फुलेका फूलको सौन्दर्य देखाइदिनुहोस् । अरुलाई पछ्याएर हिंड्नुभन्दा पनि आफ्नै विचारमा दृढतापूर्वक अडिन सिकाइदिनुहोस् । भीडका पछि भीड लाग्नु अचम्म होइन, मेरो छोराले त्यसो नगरोस् । उसलाई विवेकको त्यो आत्मशक्ति जगाइदिनुहोस् । अरुका कुरा ध्यानपूर्वक सुन्ने, सत्यमा परख गर्ने र लिने ऊ बन्नसकोस् । आत्माको आवाजलाई, सुन र चांदीका पैसाहरुमा तौलिन हुँदैन भन्ने बुझोस् ।

आत्माले ठीक ठानेको छ भने, त्यसमा ऊ अडिग रहोस् । एक्लो भैरहंदा पनि त्यसका लागि उसले संघर्ष गरोस् । यी मूल्य र मान्यताहरुले, उसको जीवनमा, उल्लेख्य भूमिका निर्वाह गरुन् । स्नेह र प्रेमले दिइयो भने, कठोर विषयवस्तु पनि सरल भएर घुस्छन्। एउटा काँचो बालकलाई योग्य मानव बन्न प्रेरित गर्ने काम सजिलो हुँदैन । महानहरुले नै त असम्भवलाई सम्भव पारिदिन्छन् । त्यहि सम्भवका लागि तपाईंहरुसँग मैले निवेदन गरेको छु । मैले मेरो प्यारो छोरो, यहाँहरुसामु सुम्पिएको छु ।

बजारमा आएका पोस्टरको चिठीहरु मा यस्तो लेखिएको छ !
मेरो छोराले सबै मानिस किसिमका हुँदैनन् भन्नेकुरा सिकोस । समाजमा दुष्ट मानिस पनि छन्, सज्जन मानिस पनि छन्, राजनीतिज्ञ पनि छन्, भने निष्ठावान नेता पनि छन् । त्यस्तै शत्रु पनि छन् मित्र पनि छन् । यो कुरा बुझाउन त समय लाग्ला नै । तैपनि परिश्रम गरी कमाएको एक डलर, सित्तैमा पाएको पाँच डलरभन्दा बढी मूल्यवान हुन्छ भन्ने कुरा बताई दिनुहोस् । उसले बिजय पराजय भनेको के हो? राम्ररी बुझोस् । भएको हाँसोको भित्री त्यसैले इर्स्याले युक्त भएको मर्म बुझोस्, यो आकाश मुनि रहेका चराहरु घमाइलो दिनमा भुन- भुनाइरहेको र पाहाडी काखमा फुलेका फुलहरूको शाश्वत रहस्य बुझ्न केही समय दिनुहोस् ।

मेरो छोरो जतातिर हुल छ, त्यतैतिर लाग्ने प्रवृत्तिको नहोस्, सुनेका कुरालाई राम्रै छुट्याउन सक्नेहोस् । दुख र कष्टमय अवस्थामा पनि प्रफुल्ल रहनसक्ने होस् । उसलाई कहिलेकाहीँ आँखाबाट आँशु झार्न लाजमर्दो कुरा होइन भनि दिनुहोस् । उ आफ्नो बाहुबल बुद्धि र सामर्थ्यमा विश्वास गरोस् । यदि उद्देश्य उपयुक्त र सही छ भने, जस्तोसुकै विरोध भएपछि तापनि दृढतापूर्वक लागिपरोस । उभित्र सत्य र न्याय प्राप्तिका लागि सङ्घर्ष गर्न साहस र दृढ शक्तिको विकास गर्दिनुहोस् ।ऊसँग नम्र व्यवहार त नगर्नुहोस् तर उसले टाउको मा टेकनि गरी चाहिँ होइन । सम्झनुहोस् आगाको लप्का बाटै फलाम खारिन्छ । उसभित्र साहस र सधैं केही गरौं भन्ने भावना भै रहोस् । मेरो छोरो स्वयं निर्भीक साहसी र उत्साहीत बन्न प्रेरित भै रहोस् । अनि मात्र उ मानवता प्रति नरम र आस्थावान हुनसक्छ ।

धन्यवाद !
तपाईंको अब्राहम लिंकन

अब्राहम लिंकन सन् १८०९ मा जन्मिए सन् १८३४ मा legislator चुनिए । सन् १८६० मा अमेरिकाको राष्ट्रपति निर्वाचित भए । यो समय अमेरिकी संघर्षको इतिहासमा, गरिब परिवारका अब्राहमले राज्य सत्ता सम्हाल्दा, शिक्षामा देखिएको विकृतिलाई बुझेर प्रधानाध्यापकको चिठ्ठी मार्फत सबैलाई सचेत गराएको हो भन्ने मेरो बुझाई छ । तर यहाँ भने सामुदायिक विद्यालयमा शिक्षण गर्ने शिक्षकको नाताले शिक्षामन्त्रीलाई पत्र लेख्दैछु ।

मेरो छोराले के सिकोस ?
………अब्राहम लिंकन जस्तो शक्तिशाली व्यक्तिले, त्यो बेलामा त्यस्तो किन सोचे? ती मुद्दाहरू र आज हाम्रो सोचाइमा कुन अगाडि छ? कि हामीलाई अहिले पनि विषयवस्तु पाच्य छैनन् ? अब्राहमले आफ्नो छोराको प्रधानाध्यापकलाई लेखेको भए पनि सिंगो परिवेश र देशको शिक्षा परिवेशलाई लेखेका हुन् । प्रधानाध्यापक मार्फत उनले अमेरिकामा शिक्षा सुधार चाहेका हुन् । जुन कुरा आज विश्वभरि सही सावित भएको छ । जे होस् म यी हरफहरु लाई मनन गर्ने लेखकको रूपमा यहाँ उभिएको छु ।

जे होस् यहाँ मैले यो चाहिँ बुझेको छु कि, सबै मेरा मनका भावनाहरु यसमा प्रकट हुन, मैले जाने जति, सोचे जति सबै विचार या खुलस्त राख्न सम्भव पनि छैन । मैले मेरा सीमाहरु, ऐन नियमका दायराहरु, भित्र रहेर सम्भव विचारहरुलाई शिक्षा क्षेत्रमा एउटा इट्टा थप्ने प्रयत्न गर्न सम्भव होला भन्ने आशा गरेको छु । म बबुरो जागिरे, जागिरको सुरक्षामा अडिएर लेख्नुपर्ने मेरा बाध्यताहरु छँदैछ ।

म शिक्षक र अभिभावक दुवै हु । दुवै भूमिका म राम्रोसँग जान्दछु । एउटा सरकारी विद्यालयमा जागिर खाने शिक्षकको नाताले आफ्नो छोराछोरी कहाँ पढाउनुपर्छ? सरकारी विद्यालयमा वढाउन हुन्छ कि हुँदैन ? यसरी पढाउँदा बालबच्चाको भविष्य बर्बाद हुन्छ कि उज्ज्वल हुन्छ? यो जान्नु हरेक अभिभावकको कर्तव्य हो । यद्यपि मैले सामुदायिक विद्यालयबाट नै मेरो छोरी र छोराहरु एस.एल.सी., ११/१२  परीक्षा उत्तीर्ण गराए, विशिष्ट श्रेणीमा विज्ञान संकायमा । नेपालको असल नारा मात्र बनिरहेको परिवेशमा मैले यो कुरा जोड्न पुगेको छु । देशभरिका छोराछोरीका तर्फबाट र अभिभावक तर्फबाट म स्मरण गराउन चाहन्छु कि म एउटा छोराको चिन्ता लिने अबुझ अभिभावक हुन सक्दिन । तसर्थ सबैका तर्फबाट शिक्षामन्त्री जिउलाई एउटा चिठी लेख्दै छु ।

माननीय मन्त्रीज्यू,
 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौँ ।

मैले मेरो सामुदायिक शिक्षक/शिक्षाको परिचय दिइसकेपछि, म जानकारी लिन र दिन चाहान्छु की,  देशभरिका जनताहरु, शिक्षाविद्हरु र विद्यार्थीहरुलाई मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुका छोराछोरी कहाँ-कहाँ पढ्छन् र किन त्यहाँ पढ्छन् ? एवं प्रकारले सरकारी तह तप्कामा रहेका सचिवदेखि स्थानीय तह सम्मका कर्मचारीका छोराछोरीहरु, निर्वाचित नेतृत्व गणहरुका छोराछोरीहरु सरकारी विद्यालयमा पढ्छन् कि निजी विद्यालयमा? हामीकहाँ नियम के छ ? जहाँ पढाएपनि हुन्छ की? नियम कसले र कसका लागि बनाउँछ ? यी नियमहरू सामुदायिक विद्यालयलाई माथि उकास्ने किसिमले निर्माण गरियो/बनाइयो की निजी विद्यालयलाई ? तपाई हाम्रो बालबच्चालाई निजी विद्यालयमा पढाउँदा राम्रो हुन्छ? की सरकारी विद्यालयमा ? मलाई सल्लाह प्रदान गरिदिनु हुन हार्दिक अनुरोध छ, अनि त्यसको कारण पनि दिनुहोला, माननीय मन्त्रीज्यू ।

तपाईं संविधानलाई आत्मसात गर्दै हुनुहुन्छ कि उल्लंघन?, तपाईलाई समाजवादी शिक्षा नीति मन पर्छ? अनि तपाईको समाजवाद उन्मुख शिक्षा नीतिलाई अवलम्बन गर्दै गर्दैहुनुहुन्छ कि, तपाईलाई थाहा पत्तो छैन के हो के हो समाजवादी शिक्षा नीति ? समाजवादी शिक्षण नीति/विधि भनेको एउटा, कि तपाईको मनमा/व्यवहारमा अर्कै-अर्कै गर्दै हुनुहुन्छ ? तपाईंको राजनैतिक धरातल कुन विद्यालयमा पढाउने विद्यार्थीलाई उकास्ने उद्देश्यले गर्नुभएको हो ? तपाईं स्वयं कुन स्तरको विद्यालयमा पढेर, यो स्तरको राजनीतिको गर्दैहुनुहुन्छ? नैतिक धरातल घुमाइ सक्नु भएको छ कि पूर्णरुपमा नैतिक धरातल भित्र बसेर तपाईं धेरै कार्यक्रम अगाडि बढाउँदै हुनुहुन्छ ? कि तपाईं ले साँच्चै गर्न खोज्दा खोज्दै गर्ने नसक्नुभएको हो त ? तपाईंले भन्नुभएजस्तै निजी विद्यालयहरुले सामुदायिक तथा सरकारी विद्यालयहरूमा, उनीहरूको स्तरलाई उकास्न भरमग्दुर प्रयत्न गर्नेछन् हो ? म एउटा सामुदायिक विद्यालयको शिक्षक नाताले तपाईंको कार्यक्रमलाई मरिमेटेर सहयोग गरौं, कि पुनर्विचार गरौ ? कि फेरि सडक तिरै नाला नाराजुलुस गर्न जाउँ ? तपाईंले भनेजस्तै गरेमा समाजवादी शिक्षा नीति अगाडि बढ्छ हो ? समाजवादी शिक्षा नीतिको पहिलो खुड्किलो यहीबाट सुरु हुन्छ हो ? अब गरीब दुःखीका छोराछोरीहरुले अनिवार्य र निःशुल्क शिक्षा प्राप्त गर्छन् होईन त ? तपाईलाई काठमाडौ महानगरपालिका साक्षरता घोषणा भयो कि भएन भन्ने थाहा छ आजको मितिसम्म…………?

यदि तपाईं यी प्रश्नहरूको सबिस्तार गर्न सक्नुहुन्न भने, तपाईंसँग नैतिक धरातल बलियो छ र ? अधिकांश शिक्षकहरू Masters, Mphil र PhD गरेका छन् र प्राथमिक तहमा अध्यापन गर्छन् । ती विद्वान् शिक्षकहरुलाई जताभावी अर्ती बुद्धि दिने तपाईंसँग नैतिक धरातल बलियो छ जस्तो लागेन । अनि शिक्षकले राजनीति गर्न हुँदैन भन्ने, निजी क्षेत्रका सञ्चालकहरू त सभासद् भएत? अघिल्लो दिन पढाउँदा-पढाउँदै भोलिपल्ट सभासद भए त ? पहाडी मूलका संचालकहरू, तराई मूलका सभासद भए त ? तपाईंलाई याद छ, यसैगरी सरकारी स्कूलमा पढाउनेहरु सभासद भएको त्यही प्रकृतिले?

सामुदायिक विद्यालयलाई कुनै वास्ता व्यस्था गर्दै नगर्ने, जागिर खुवाउनु भनेको लगानि गर्नु हो ? यो बाहेक अरु लगानी गरेको छ ? भौतिक पूर्वाधार छ ? उचित तालिम लगायतको व्यवस्था छ ? थाहा छ त्यस्को बारेमा चिन्तनमनन भएको छ ? राष्ट्र लागिपरेको छ ? एउटा शिक्षक अनि 5 कक्षासम्म संचालन भएका स्कूल हरु यो देशमा कतिवटा छन, data छ मन्त्रीज्यूसँग ? र स्वयं तत्त्- तत्त् विभागका मन्त्री र मन्त्रालयहरूलाई  तत्त्-तत्त् विषय सम्बन्धित ज्ञान हासिल छकिछैन ? छैनभन्ने आफू नपढेर, पढेकालाई हप्काउने ? अल्प विद्या भैङ्कर भएन र ? कति खर्च लाग्छ, कति समय लाग्छ र कति मेहेनेत गरेर त्यो प्रमाणपत्र आर्जन गरेका छन् ? के यो हो राजनीतिक नियुक्ति दिएजस्तो गरी प्रमाणपत्र हासिल गरेको हो ?

शिक्षकहरुका उर्वरा समय र जवानी राष्ट्र खाँतिर दिइसकेपछि, राष्ट्रको नीतिका कारण काम गर्न नसक्ने वातावरण बनाई दिएपछि, उत्साह र उमंग हरु सबै नष्ट गरिदिएर शिथिल बनाइदिएपछि, कसरी बढ्छ सामुदायिक विद्यालयमा शिक्षा नीति र व्यवहारमा समाजवादी शैक्षिक गतिविधी ? यो अवस्थामा भोको पेट का गरीब दुखीका छोराछोरीहरुलाई पडाएर कसरी बढ्छ सामुदायिक विद्यालयको शिक्षा ? यदि तपाई यस्तो भन्नु हुन्छ र अर्को थोक गर्नुहुन्छ भने कुनैपनि शिक्षक र शिक्षा विद लाई सिकाउने तपाईंसँग त्यो नैतिक हैसियत छ ? किन माध्यमिक विद्यालयहरुमा प्राथमिक तहका प्रधानाध्यापकहरु छन् ? स्वयं काठमाडौ महानगरभित्र यसको data कति छ ? कुनै दुरदराजको data खोजिरहेको छैन मैले ? योग्यता मर्यादा भएका हरु किन त्यहाँ दमीत भएरबसेका छन् ? कुनै ठोस नीति ल्याउन सकिएन किन ? यी माथिका प्रश्नहरुले सामुदायिक विद्यालयमा सुधार ल्याउँछ कि विखण्डन् ? कृपया स-बिस्तार उत्तर र सल्लाह दिनुहोला, मेरो गुनासो प्रधानमन्त्री ज्यू लाई पनि सुनाइदिनु होला !

(यो पत्र मिति २०७३/१०/१९ गते विश्व उद्यान पत्रिकामा छापिएको हो)

प्रतिक्रिया दिनुहोस्