सात वर्ष बित्दा पनि हिमा नदीमा बनेन पुल, पाँच सय रोपनी खेत बाँझै



२३ असार २०७७, काठमाडौं

निर्माण शुरु गरेको सात वर्ष बितिसक्दा पनि सिञ्जा गाउँपालिका–२ रनुखानस्थित हिमा नदीमा पुल बन्न सकेको छैन । अहिलेसम्म एउटा पिलर मात्रै ठडिएको छ । त्यो पनि अधुरै छ । यो पुल निर्माणका लागि विसं २०६९ मै रु चार करोड २५ लाखमा ठेक्का सम्झौता भएको थियो । विसं २०७० देखि निर्माण थालिएकामा एउटा पिलर ठडिएपछि निर्माण रोकिएको स्थानीय हंस सार्कीले बताए ।

स्थानीय बासिन्दाले पुल निर्माणका लागि पटक–पटक माग पनि गरेका छन् । जनप्रतिनिधिको टोली भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा समेत पुगेको थियो । तैपनि पुल निर्माणका लागि ताकेता नभएको स्थानीय बासिन्दाले गुनासो गरे । पुल निर्माणका लागि ल्याइएका २०० बोरा सिमेन्ट प्रयोग नभएरै खेर गएको छ । छड, गिट्टी, बालुवा पनि अलपत्र छन् ।

पुल नबनेकै कारण पाँच सय रोपनी खेत बाँझै
हिमा नदीमा पुल बनाउन शुरु गर्दा सिँचाइ कुलो भत्किएको थियो । पुल नबनेपछि सिँचाइ कुलो पनि बनाउन सकिएको छैन । कुलो नबन्दा सिञ्जा–२ रनुखानागाउँको ५०० रोपनी खेत बाँझै रहेको स्थानीय बासिन्दाले गुनासो गरेका छन् । स्थानीय महेश्वर तिरुवाका अनुसार पुल बन्ने भएपछि सिँचाइ कुलो भत्काउन दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्