ललितपुरको तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गरिने



१० असार २०७७, ललितपुर

दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ मा वाग्मती प्रवेश गर्ने नाका तीनपाने भञ्ज्याङमा तरकारी सङ्कलन केन्द्र निर्माण गर्ने भएको छ । गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत गर्दै उक्त कुराको जानकारी गराए । गाउँपालिकाले अस्पताल निर्माण, वैदेशिक रोजगारीबाट फर्केर आउने युवाले व्यवसाय गर्न चाहेमा ब्याजमा अनुदानलगायतका कार्यक्रमलाई प्राथमिकता दिएको जनाइएको छ ।

गाउँसभामा उपाध्यक्ष रञ्जना घिमिरेले रु ४२ करोड ५६ लाखको बजेट प्रस्तुत गर्नुभयो । कार्यक्रममा गाउँपालिकाले वित्तीय समानीकरणतर्फ सङ्घीय सरकारबाट रु सात करोड ३३ लाख र प्रदेश सरकारबाट ५८ लाख ९४ हजार, सशर्त अनुदानतर्फ सङ्घीय सरकारबाट रु १९ करोड ५२ लाख, प्रदेश सरकारबाट रु दुई करोड ३२ लाख ७५ हजार बजेट विनियोजन गरेको जानकारी दिए ।

यसैगरी सङ्घीय सरकारको राजश्व बाडफाँटबाट रु पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाडफाँडबाट रु एक करोड ५८ लाख ३४ हजार, गाउँपालिकाको आन्तरिक आयबाट रु पाँच करोड ६३ लाख र रजिष्टे«शन दस्तुरबाट रु ५० लाख आम्दानी हुने गाउँपालिकाको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्